Comments Add Comment

के हो आदिवासी जनजाति सौन्दर्यशास्त्र ?

पहिचान सबैलाई प्यारो हुन्छ । पीडकलाई पनि आफ्नो पहिचान प्यारो छ । पीडितलाई पहिचान अझ प्यारो हुन्छ । सुखका भन्दा दुःखका दिन बढी स्मरणीय भएझैं । सुखान्तभन्दा दुःखान्त कथानकमा बढी ‘कथार्सिस’ रहेझैं ।

उत्पीडित समुदायलाई पहिचान बढी प्यारो हुन्छ । पीडाबीच बाँचेको प्यारो पहिचान सुन्दर हुन्छ । उत्पीडनको पराकाष्ठा पचाएर पनि अस्तित्वमा रहेका आदिवासी जनजातिको जीवन पद्दति प्राकृतिक छ । उनीहरुको संस्कृति प्रकृति जत्तिकै सुन्दर छन् ।

उदाहरणहरु एक होइन अनेक छन् । यद्यपि, नेपालमा पहिचान सौन्दर्यलाई अदृश्यकरण गर्न निश्चित समूह अझै सक्रिय छन् । उनीहरु आदिवासी जनजाति पहिचानको सौन्दर्यलाई ‘कुरुपीकरण’ गर्न सफल छन् । यसका पछाडि आधारभूत तीन कारण छन् ।

पहिलो कुरा’ ‘पहिचान’ शब्द सुन्नेवित्तिकै पिनास हुने जमात छन् । बाहुनवादलाई शिरमा र राष्ट्रवादलाई काँधमा बोकेका उनीहरु वर्चश्वशील छन् । मिडिया, वौद्धिक समाज, प्राज्ञिक, राजनीतिक, प्रशासनिक सबै तहतप्कामा उनीहरुको पहुँच छ ।

उनीहरु ‘पहिचान’लाई ‘अराजक’ आदिवासी जनजाति आन्दोलनको पर्यायवाची मान्छन् । यदि वैकल्पिक पहिचान सौन्दर्य स्थापित गराइयो भने बाहुनवादी वर्चश्व बच्नेवाला छैन । पहिचान जस्तो सुन्दर शब्दलाई सहजै ‘कुरुप’ देखाइदिन्छन् ।

आदिवासी जनजाति पहिचान सौन्दर्य सानो ऐच्छिक विषय होइन । यो वृहत् विषय हो । यो लघुताभाषको विषय हुँदै होइन । यो मौलिक पहिचान सौन्दर्यलाई प्राज्ञिक ढंगले अन्तर्राष्ट्रियकरण गर्ने विषय हो । यो प्राज्ञिक संस्थाहरुको समेत ‘डिकलोनाइज’ गर्ने अभियान हो ।

पहिचान बिम्ब विखण्डनकारी अराष्ट्रिय तत्वको रुपमा उभ्याइदिन्छन् । मूलधारीय मिडिया, प्राज्ञिक तथा बौद्धिक बजार सबैतिर पहिचानको विम्व डरलाग्दो देखाइदिएपछि भीडले स्वीकार्छ ।

दोस्रो, पीडक वर्ग समूहले आफ्नो जातीय पहिचानलाई भने रणनैतिक ढङ्गले बढावा दिइरहेको देखिन्छ । उनीहरुमा दृष्टिदोष होइन, ‘रणनीतिक होस’ छ । आदिवासी जनजाति अभियन्ता रणनैतिक ढङ्गले आफ्नो सौन्दर्यलाई स्थापित गर्ने अभियानमा बारम्बार चुकेका छन् । आक्रोश रणनैतिक ढङ्गले प्रस्तुत गर्न नसक्दा आत्मघाती कदममा परिणत हुन सक्छ ।

तेस्रो, सबैभन्दा महत्वपूर्ण विषय भनेको आदिवासी जनजातिको पहिचान सौन्दर्यमाथि हमला भइरहँदा वौद्धिक हस्तक्षेपमा कमी ।

पहिचान आन्दोलनको औचित्य

वर्णाश्रम दमनकारी व्यवस्थाको पराकाष्टा बन्यो । बाहुनवाद हावी रहँदा आम समुदायलाई ‘कनिष्ठ’ रैतीमा रुपान्तर गर्न राज्यसत्ताको दुरुपयोग भयो । पहिल्यैदेखि आदिवासी जनजाति ‘जङ्गली’, ‘स्वाँठ’ कहल्याइए ।  मुलुकी ऐन (१९१०) जारी गर्दा आदिवासी जनजातिलाई ‘मासिने जात’का रुपमा ‘तल्लो’ दर्जाका नागरिक बनाइयो ।

पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गर्ने क्रममा ‘असली हिन्दुस्तान’ बनाउने नीति अपनाए । जनजातिका आधारभूत मुद्दालाई राज्यको बुनोटमा समेटेर होइन कि ‘हिन्दु अधिराज्य’मा उपयोग गरेर  आफ्नाबाहेक अन्यजनलाई किनारा लगाउने रणनीति थियो, असली हिन्दुस्तान नीति। हिन्दुहरुको जात विभाजनको प्रभाव सर्वप्रथम काठमाडौं उपत्यकामा परेको देखिन्छ ।

जयस्थिति मल्लले मैथिल र पर्वते बाहुनको मद्दत लिई नेवार समाजलाई ६४ जातमा विभाजन गरे । रामशाहले यसैको सिको गरे । कर्णाली र गण्डकी प्रदेशबाट पूर्वफैलिँदै किराँतीहरुसम्म वर्णव्यवस्था फैलियो ।

आदिवासी जनजातिका लागि यो सहनयोग्य थिएन। आदिवासी जनजातिका सुन्दर साँस्कृतिक पहिचानलाई कुरुप दर्ज गराउन कम्मर कसेर लागि परिरहेका जमात अहिले पनि हाम्रै वरिपरि छन् ।

कतै तिनैलाई हामीहरुले ‘मेन्टर’ मानेर पूजा गरिरहेका त छैनौं ? पराधीन सबाल्टर्न समुदाय प्रायः आत्मघात गरिरहेका हुन्छन् । आदिवासी जनजातिका स्थापित संघसंस्था, घटक, भातृसङ्गठन, सञ्जालको भूमिकामाथि पनि गम्भीर समीक्षाको खाँचो छ ।

पहिचान आन्दोलन जनजातिकै लागि सर्वस्वीकार्य छैन । पहिचान आन्दोलन ‘समस्यामूलक’ देखिन सक्छ । यद्यपि, गायत्री स्पिभाकले औल्याएझैं, पहिचान आन्दोलनलाई रणनीतिक अपरिहार्यताका रुपमा उभ्याउनुको विकल्प छैन । पहिचान आन्दोलन त्याग्दा जनजाति सौन्दर्यमै असर पर्न सक्छ ।

अन्ततः पहिचानकै कारण उनीहरु बहिस्कृत भएका छन् । पहिचान सौन्दर्य नै आफ्नो अधिकार स्थापित गर्ने उचित र उपयुक्त अस्त्र हो । आजको ‘उत्तरआधुनिक’ वैज्ञानिक युगमा पनि जातीय कुरा गर्ने हो ? भनेर उल्लीविल्ली लगाउलान् । यद्यपि जातीय पहिचानकै कुरा गर्ने हो ।

स्पिभाकले भनेझैं, उत्पीडित जनजातिको सामूहिक अधिकार स्थापित गर्ने ‘रणनीतिक अपरिहार्यता’को अस्त्र पहिचानको आन्दोलन नै हो । सबाल्टर्न वर्गसमुदाय  दह्रो गरी उभिने अपरिहार्य आधार यही हो ।

पहिचान सौन्दर्यको जतिसक्दो साहित्यिक, सांस्कृतिक र कलात्मक प्रस्फुटन नै आदिवासी स्थापित बन्ने आधार हुन् । पहिचान आदिवासी जनजातिको साझा भूमि, भाषा, संस्कृति र साझा मनोविज्ञानसँग जोडिएको हुन्छ । पहिचान चाहे शास्वत होस् या निर्मित, यो सामाजिक यथार्थ हो ।

आदिवासी जनजातिका पहिचान सामूहिकतामा आधारित छ । यसर्थ आदिवासी जनजातिको पहिचान सौन्दर्य सम्मुन्नत छ । प्रकृतिसँग लयवद्ध छ । समय सान्दर्भिक छ । यसर्थ आदिवासी पहिचान सौन्दर्य पुनःस्थापित बन्दै छ ।

पहिचान आन्दोलनको औचित्य थियो, अझै छ र रहिरहने छ । विविधतापूर्ण राज्यको एकलकाँटे चरित्र  तोड्ने अस्त्र पहिचान आन्दोलन नै हो । यसर्थ आदिवासी जनजाति सङ्गठित अनि आन्दोलित छन् ।

यो आन्दोलन राज्यसत्ताले सुनियोजित किसिमले सञ्चालन गरेको विभेदपूर्ण उत्पीडनको गर्भबाट जन्मिएको हो । आन्दोलन ऐतिहासिकतासँग जोडिएर उठेको छ । यो मनुस्मृतिको जगमा उभिएको मुलुकी ऐन (१९१०) विरुद्धको आन्दोलन हो ।

अवधुत सिंह मल्लले भन्दा अघिदेखि भएका विद्रोह अनि लिम्बुवान विद्रोह (१७७०), तामाङ विद्रोह (१७९०) जस्ता इतिहास हेर्दा पनि गोर्खा राज्य विस्तार (१७६८) को अन्त्यसँगै नेपाली आदिवासी जनजाति आन्दोलनको सुरुवात भएको देखिन्छ ।

कूल जनसंख्याको ३७ प्रतिशतभन्दा बढी  (हाल ३५.३ प्रतिशत) आदिवासी जनजाति उत्पीडनको उकुसमुकुसमा थिए। आदिवासी जनजाति जोड्ने साझा सङ्गठनको खाँचो बोधमा विभिन्न संघसंस्थाहरु अस्तित्वमा आए ।

आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन भए । राजनीतिक दलहरुले आदिवासी जनजातिहरुका भातृ सङ्गठनहरु निर्माण गरे । हाल ५६ आदिवासी जनजाति समुदायहरुले जातीय सङ्गठन र साङ्गठनिक सञ्जाल तथा कतिपयले अन्तर्राष्ट्रिय स्तरमै सङ्गठन बनाइसकेका छन् ।

नेपाली आदिवासी जनजाति सङ्गठित आन्दोलनले अनेक उथलपुथल खेपिसकेको छ । १० वर्षे सशस्त्र युद्ध, दोस्रो जनआन्दोलन, राजतन्त्रको अवशान, मधेश विद्रोह, उत्पीडित समुदायको पहिचानजनित अनेक आन्दोलन खेपिसकेको छ ।

नेपालको आदिवासी जनजातिको प्रमुख मुद्दा भनेको पहिचानको सम्मान नै हो । यससँग सामूहिक अधिकार, समानुपातिक प्रतिनिधित्व, बहुभाषिक नीति, स्वायत्तता, स्वशासन सहितको संघीयता कार्यान्वयन मुद्दा जोडिने नै भयो ।

पहिचानको आधारलाई संघीयताले समेटेन । पूर्ण समानुपातिक व्यवस्था पूर्णतः लागू भएको छैन । भएको समानुपातिक समावेशी प्रणालीलाई पनि भ्रष्ट्रीकरण गरिएको छ ।

दोस्रो संविधानसभाबाट जारी संविधान पनि विभेदकारी रहेको ठहर आदिवासी जनजाति आन्दोलनको हो ।  आदिवासी जनजातिको पहिचान आन्दोलन जारी छ, जारी रहनु पर्दछ भन्ने आम अभियन्ताको राय छ ।

आन्दोलनले स्थापित गरेका मूलभूत सवाल लामो सङ्घर्ष सम्पन्न गरिसक्दा पनि अधुरै किन रह्यो ? आन्दोलनमाथि लाञ्छना, पराधीनताको प्रश्न, सहवरणको आरोपबाट नेतृत्व किन मुक्त छैनन् ?  गम्भीर समीक्षा गर्नुपर्ने अवस्था छ ।

आदिवासी जनजातिसँग प्रत्यक्ष सरोकार राख्ने संघसंस्थाका सवल र सुधार्नुपर्ने पक्ष अवश्य छन् । यसका सहयात्री परम्परागत संस्था, सङ्गठन, मोर्चा, घटक, गैसस, प्राज्ञिक, वौद्धिक र पेशागत अभियन्ताले अवको स्पष्ट बाटो तय गर्नै पर्दछ ।  आदिवासी जनजाति लेखक महासंघको प्राथमिकतामा पर्नुपर्ने अबको गहन वौद्धिक कर्म भनेको पहिचान सौन्दर्यलाई प्राज्ञिक तहमा स्थापित गर्नु हो ।

आदिवासी जनजाति सौन्दर्यशास्त्र

विश्व जनसंख्याको ६ प्रतिशत आदिवासी जनजातिले विश्वको बाँकी बसेको ८० प्रतिशत पर्यावरण संरक्षणमा योगदान गर्दै आएको तथ्य बाहिरिएको छ । प्रकृतिसँग कसरी व्यवहार गर्ने र प्राकृतिक जीवन बाँच्ने भन्ने विषय ज्ञानको विज्ञ आदिवासी जनजाति नै हुन् ।

आदिवासी जनजाति पहिचान सौन्दर्य सानो ऐच्छिक विषय होइन । यो वृहत् विषय हो । यो लघुताभाषको विषय हुँदै होइन । यो मौलिक पहिचान सौन्दर्यलाई प्राज्ञिक ढंगले अन्तर्राष्ट्रियकरण गर्ने विषय हो । यो प्राज्ञिक संस्थाहरुको समेत ‘डिकलोनाइज’ गर्ने अभियान हो ।

विश्व जनसंख्यामा ६ प्रतिशत, नेपालको कूल जनसंख्याको भने ४० प्रतिशत आदिवासी जनजाति रहेको अभियन्ताहरुको दावी छ । यदि नेपाली विद्यालय/विश्वविद्यालयमा आदिवासी जनजाति पहिचान सौन्दर्य अध्ययन एउटा मूल विषयको रुपमा स्थापित भए कसको के बिग्रन्छ ?

अबको आन्दोलन भनेको वैकल्पिक (समानान्तर) सौन्दर्यशास्त्र निर्माणमै केन्द्रित गरिनु पर्छ । आदिवासी जनजातिको दर्शनशास्त्र समानान्तर (होराइजेन्टल) सौन्दर्यमा आधारित छ ।

हामीले बहुभाषिक, बहुसांस्कृतिक, बहुआयामिक नेपालको विविध जीवन दर्शन विश्वलाई देखाइदिन्छौं । हाम्रो कला, साहित्य, संस्कृति, इतिहास, मानवशास्त्र, समाजशास्त्र, राजनीतिक आदि ज्ञानको धरातल आफ्नै आधारशिलाबाट फैलाउन सक्छौं ।

विश्वजगतसम्म हाम्रा मौलिक विषयवस्तु पुर्‍याउन सक्छौं । विश्व उपनिवेशवाद अध्ययन अध्यापन गराउँदा आफ्नै इतिहास र संस्कृतिसँग गाँसिएका आन्तरिक उपनिवेशवादसँगको अन्तरसम्बन्ध केलाउन सक्छौं ।

अहिलेको हाम्रा विद्यमान सामाजिक मुद्दाहरुलाई वौद्धिक बहससँग जोडेर हैकमका अनगिन्ती अवशेषहरु केलाउन सक्छौं । हाम्रो इतिहासलाई हाम्रो भूमि, सांस्कृतिक अधिकार, सामाजिक न्यायसँग जोड्ने क्रममा विश्व समुदायसम्म हामी जोडिन सक्छौं, सहजै ।

हाम्रा हजारौं वर्षदेखि अस्तित्वमा रहेका ज्ञानलाई गर्वका साथ विश्वकै सबैभन्दा प्राचीन विचार वा विश्वास पद्दतिका रुपमा विश्व समुदायसम्म फैलाउन सक्नेछौं । नेपालमा पश्चिमा अनगिन्ती वादहरुका चर्चा भइरहँदा नेपाली आदिवासी जनजातिका दर्शनशास्त्रबाट मौलिक विचार खोजी गर्न सकिएला ।

पश्चिमा औपनिवेशिक वैचारिकीको बोझबाट मुक्त हुन सकिएला । अन्ततः आदिवासी जनजातिसँग आफ्नै मौलिक इतिहास छन् । अन्य समुदायसँग सहभागी भएर चरणवद्ध सहवरण गरेको इतिहास पनि लामै छ ।

इतिहासको विभिन्न कालखण्डमा आदिवासी जनजातिले अन्वेषक, अनुसन्धानकर्ता, धर्मप्रचारक, आप्रवासी, औपनिवेशिक शासक आदिसँग उठबस, युद्ध, विद्रोह, सन्धी सम्झौता गरेका छन् । आफ्ना मौलिक पहिचान परिवर्तन गर्न बाध्य बनेका छन् ।

यसर्थ अबको आदिवासी जनजाति पहिचान सौन्दर्य अध्ययन विशेषतः बहुआयामिक तथा बहुसांस्कृतिक स्वरुपको हुनेछ ।

आदिवासी सौन्दर्यबोध पश्चिमा सौन्दर्यशास्त्र भन्दा भिन्न हुने नै भयो । पश्चिमा गोरा साम्राज्यले निर्माण गरेको संस्कृति र आदिवासीको संस्कृति अलग भएपछि उही दृष्टिकोणले आदिवासी सौन्दर्यवोध सम्भव हुन्न । पश्चिमा आधुनिक कला सौन्दर्यबाट सुसज्जित व्यक्तिले आदिवासी जनजातिका मौलिक सौन्दर्य कलाबोध गर्न सक्दैनन् ।

यो यति धेरै भिन्न हुन्छ कि तिनले आदिवासी जनजातिको सौन्दर्यबोधलाई स्वीकार्नै सक्दैन । पश्चिमा आधुनिक सौन्दर्यचेतबाट आदिवासी सौन्दर्यबोध गर्न खोज्नु नै गलत पहल भएकाले अध्ययनविधिमै ठूलो समस्या उत्पन्न हुन सक्छ ।

यसर्थ समकालीन आधुनिक अध्येता आदिवासी जनजातिको सौन्दर्यबोधमा चुक्ने गर्छन् । आधुनिक कलाका सिद्धान्तले आदिवासी जनजातिको सौन्दर्यचेतलाई नै नजरअन्दाज गर्दै आयो ।

यसले आदिवासी जनजातिका कलासौन्दर्यलाई कहिल्यै स्वीकार गरेन । आदिवासी जनजातिका कला सौन्दर्यलाई पुरातन, प्राचीन, अविकसित आदि शब्दमै सीमित तुल्याइदियो ।

समकालीन पश्चिमा विचारमा सामान्यत कला भन्नाले भौतिक, धार्मिक, राजनैतिक, कानूनी तथा अन्य सामाजिक सम्बन्धभन्दा परको निरपेक्ष आधुनिक चीज वा वस्तु हो । हर दैनिकीको सम्बन्ध भन्दा पर अलग्गै अस्तित्व बोकेको वस्तुका रुपमा पश्चिमी वैचारिकीले कला साहित्यलाई परिभाषित गर्दछ ।

कला निर्माणकर्ता वा स्रष्टालाई असाधारण व्यक्तिका रुपमा लिइन्छ । कसैको कलाकृतिलाई स्थायी कालजयी चीजका रुपमा उभ्याइन्छ । सामूहिक विश्वाससँग कलाकृतिलाई जोडिन्न । भलै अहिले यस मान्यतामाथि व्यापक प्रश्न उठाइए तापनि यस वैचारिकीको हैकम यथावतै छ ।

यी सब मान्यता आदिवासी जनजाति सौन्दर्यचेतसँग मेल खादैन । ती आदिवासी जनजाति पाहिचान सौन्दर्यबोध मैत्री चेतना होइनन् । ती त आदिवासी जनजाति सौन्दर्यचेतमारा मानक हुन् । आन्तरिक औपनिवेशिक मानकले साम्राज्यवादीकै सिको गरेको छ ।

आदिवासी जनजातिका लागि कलाकृति भनेको सामूहिक हितसँग जोडिएका हुन्छन् । आदिवासीका सौन्दर्यभित्र कलाका लागि अत्यावश्यक चेत, शैली, विषयवस्तु, सन्दर्भ, स्वरुप तथा निजत्व सबै वृहत्तम हितसँग जोडिएको हुन्छ ।

कलाकृति सधैं सामूहिकता मैत्री, सामुदायिक चेतनावृद्धिसँग केन्द्रित हुन्छ । यदि समाजसँग जोडिएको छैन भने त्यो कलाकृति आदिवासी जनजातिका लागि सुन्दर बन्न सक्दैन । पवित्र आध्यात्मिक चेत पनि हर दैनिकीसँग जोडिएको हुन्छ, आदिवासी जनजाति सौन्दर्यमा ।

कुनै पनि कलाकृति सुन्दर हुनका लागि सामाजिक सामूहिक उपादेयिता हुनु पर्‍यो तब न सुन्दर हुन्छ । स्रष्टा पनि सामुदायिक भावना र सामाजिक व्यवहारबाट विमुख बन्न सक्दैन ।

आधुनिक पश्चिमा मानकमा स्रष्टा व्यक्ति विशेष अर्थमानव हो । जति बढी बजारमुखी व्यक्तिवादी उति बढी उसको पहिचान स्थापित बन्छ, उपभोक्तावादी बजारमा ।

यस्ता पश्चिमा दृष्टिकोणबाट आदिवासी जनजाति पहिचान सौन्दर्य देखिँदैन । आदिवासी जनजाति उनीहरुका लागि कला सौन्दर्य विहीन प्राणीहरु हुन् । आदिवासी जनजातिका संस्कृतिभित्र अवस्थित कलासौन्दर्यलाई उनीहरु केवल क्षणिक मनोरञ्जनका जात्रामात्रा, परम्परा, संस्कारमै सीमित राखिदिन्छन् ।

या त तिनले आदिवासी जनजातिका कलासौन्दर्यलाई ‘कमजोर’, ‘आदिम’ वा ‘अविकसित’ मान्छन्, वा आधुनिक कलासौन्दर्यका रुपमा स्वीकार्दैनन् । यस्ता स्थापित कलासौन्दर्यको परिभाषा वा मानक नै परिवर्तन र परिस्कृत गर्न निरन्तर आन्दोलनको खाँचो सधैं रहन्छ । यस्ता मानक निर्माता (बहुराष्ट्रिय कम्पनी) लाई नै ‘डिकलोनाइज’ गर्नका लागि लरोतरो आन्दोलनले काम दिँदैन ।

नेपाली वौद्धिक तथा प्राज्ञिक क्षेत्रमा आदिवासी जनजाति साहित्य र सौन्दर्यशास्त्र निकै नवीन विषय हो । साङ्गठनिक अभियान, आन्दोलन, विभिन्न सभासमारोह आदि गतिविधिको बढोत्तरीसँगै आदिवासी जनजातिका मुद्दाले मिडियामा निश्चित स्थान पाएको छ ।

बजार केन्द्रित खुराकले केही हदसम्म भए पनि आदिवासी जनजातिको पहिचान सौन्दर्यलाई विश्वबजारसम्म फैलाउन भूमिका खेलेको छ । सिर्जनशील अराजकता जस्ता आन्दोलनले पहिचान सौन्दर्यलाई प्रश्चय दिएको छ । पछिल्लो समय पहिचान आन्दोलनको गति मन्द देखिए पनि आन्दोलन रोकिएको देखिन्न ।

उत्पीडित समुदायका युवा जमातको हस्तक्षेप बढ्दै गर्दा साहित्यमा आदिवासी जनजाति पहिचान सौन्दर्यले बढी स्थान ओगट्दै छ । एकल मानकसँग टकराउँदै सिनेमामा वैकल्पिक धार स्थापित हुँदै छ ।

नेपाली कलासाहित्यको सौन्दर्य फेरिँदै गरेको दृश्यले आदिवासी जनजाति अभियन्ता आशावादी देखिन्छन् । आदिवासी जनजाति लेखक महासंघ गठन तथा सञ्जाल निर्माण यसैको परिणाम हुनुपर्छ । यस महासंघले पहिचान सौन्दर्यवोध कसरी गर्छ, त्यसैले यस आन्दोलनको भविष्य निर्धारण गर्नेछ ।

विश्व आदिवासीको कला सौन्दर्यबोध र नेपाली आदिवासी पहिचान सौन्दर्यबीच निकटतम सम्बन्ध देखिन्छ । अन्ततः आदिवासी जनजाति दर्शनले पश्चिमा पुँजीवादी व्यक्तिवादी मान्यतालाई सहर्ष स्वीकार्दैन ।

आदिवासी जनजाति पहिचानका स्वरुप र सार सधैं समाजसँग जोडिएको हुन्छ । आदिवासी कला, साहित्य, संगीत तथा प्रस्तुति जन्य गतिविधि प्रत्यक्ष रुपमा समाज वा समुदाय केन्द्रित हुन्छ । आदिवासी जनजातिले कलासाहित्य प्रस्तुतिलाई पवित्र सामाजिक कर्मका रुपमा स्वीकार गर्छन् र आफ्ना हरेक कलात्मक प्रस्तुतिलाई अध्यात्म, आत्मा, आस्था, समुदायिक उपयोगितासँग जोड्दछन् ।

उनीहरुका लागि परम्परागत संस्कार–संस्कृतिसँग जोडिएका कलाप्रदर्शनी बिक्रीका लागि होइन, निश्चित पर्वसंस्कार सम्पन्न गर्ने प्रयोजनका लागि मात्रै हो । उक्त कलाकृति प्रस्तुति बिक्रीका लागि पनि प्रयोग गर्ने गरिन्छ । यद्यपि त्यस क्रममा भिन्नता पक्कै हुन्छ ।

उदाहरणका लागि एउटा झाँक्री वा जीवित देवताले प्रस्तुति दिँदा कुनै समुदाय वा त्यसको सदस्यको स्वास्थ्य लाभका लागि हुन्छ । पर्यटकका लागि प्रस्तुति दिँदा प्रयोजन र अभिप्राय पूरै अर्कै हुन्छ, भलै प्रस्तुति उस्तै देखिएला ।

पर्यटकका लागि प्रस्तुति दिने व्यक्ति दैवि शक्तिले सुसज्जित देव मानव नभई ‘कमिसन’ कलाकार मात्रै हुन् । जसको दैवी सत्व नै समाप्त हुन्छ । पहिले संस्कारका लागि मात्रै निश्चित अवधिका लागि कला प्रस्तुतिकरण हुन्थ्यो भने अब स्थायी रुपमा उक्त कला रहने भयो । आर्थिक वस्तुका रुपमा यो बिक्री हुने भयो ।

आदिवासी कलाको मेटामोर्फोसिस यसरी हुँदैछ । एउटा प्रस्तुति आर्थिक, धार्मिक तथा राजनीतिक शक्तिको रुपमा उभिएको हुन्छ । आदिवासी जनजातिका कतिपय सूक्ष्म महत्वका कलासौन्दर्यलाई कसरी बचाइ राख्ने भन्ने चुनौती उत्तिकै छ ।

अन्ततः यूरो–अमेरिकी मोडलको आधुनिक कलासौन्दर्यशास्त्र विश्वव्यापी मानकका रुपमा स्थापित भइसकेको छ । आदिवासी अमेरिकी कवि तथा मानवशास्त्री वेन्डी रोजले तर्क गरेझैं, ‘कला तथा साहित्यलाई हेर्ने विश्वव्यापी सिद्धान्त यूरो–अमेरिकी भूमिबाट आएको हो र यो ‘युरोसेन्ट्रिजम’को सबैभन्दा ठूलो बासस्थल विश्वविद्यालयहरु नै हुन् ।’  नेपाली विश्वविद्यालयहरु ‘युरोसेन्ट्रिजम’को नराम्ररी सिकार भइसकेका छन् ।

नेपाली विश्वविद्यालयमा नेपाली भूगोल भेट्न मुश्किल छ । रोजले औल्याएझैं माथिल्ला स्तरका भनिने विश्व सिद्धान्त (हाई थ्योरी) सर्वव्यापी मान्यताका रुपमा बौद्धिक जगतमा सवत्र स्थापित भइदिँदा आदिवासी जनजातिका सौन्दर्यशास्त्रलाई आदि इत्यादिमै सीमित गरिदन्छ ।

उनीहरुको महत्वपूर्ण सौन्दर्यले विश्वस्तरीयता प्राप्त गर्नै सक्दैन । नेपालका आदिवासी जनजाति पहिचान सौन्दर्यलाई बचाउने, सजाउने र विश्वव्यापी बनाउने पहिलो जिम्मेवारी ‘यूरोसेन्ट्रिक’ नेपाली विश्वविद्यालयहरुकै हो ।

प्रश्न उब्जन्छ, यो सौन्दर्यको स्वरुप हिजो कस्तो थियो, अहिले कस्तो छ ? हैकमहरुले थिचेर किचेर यी कुन अवस्थामा बचेका छन् ? यिनको विश्वजगतसम्म फैलने आधार के हुन् ?

यूरो–अमेरिकी मानकबाहिर मात्रै नभई आफ्नै देशभित्र बहिस्कृत भएर बाचेका यी कलासौन्दर्यलाई विश्वको ‘विशाल चित्र’भित्र कसरी कोर्ने ? यिनीभित्र बौद्धिक प्राज्ञिक स्तरीयता कसरी भर्ने ?

यसको स्वरुप, अध्ययनविधि, विषयवस्तु, सौद्धान्तिकरण, सम्बन्धन, गुणस्तरीयता कसरी वृद्धि गर्ने ? आफ्नै शासकले ‘तल्लो’, ‘पिछडिएका’, ‘असभ्य’, ‘पाखे’, ‘अपूर्ण’ लेवल लगाएको कलासौन्दर्य विश्वव्यापी ‘विशाल तस्वीर’माझ कस्तो देखिएला ? कतिपयका मनमा यस्ता प्रश्न पनि उब्जिन सक्ला ।

हाम्रा विश्वविद्यालयले उत्सवका साथ बोकेको पश्चिमी यूरो–अमेरिकी फर्मामा नेपाली आदिवासी जनजाति कलासौन्दर्य तदाकार नै हुन्न । जेन ब्लकरले भनेझैं हामी ‘इन्टिलेक्चुअल इम्पेरिअलिजम’कै पृष्ठपोषण गर्दैछौं । हामी बौद्धिक साम्राज्यभित्र कैद छौं ।

हामी हाम्रा कुरा अरुलाई उनीहरुकै चाहना अनुसार भन्न दिइरहेका छौं । असामान्य यूरो–अमेरिकी वैचारिकीलाई हामी अति सामान्य र अपरिहार्य विचारका रुपमा सहवरण गरिदिन्छौं ।

रोजले सही भनेका हुन्, उनीहरुले संस्थागत संरचनाबाटै विचारको असामान्य राजनीतिलाई सामान्य ढङ्गले विश्वभर बढोत्तरी गराउन सफल भएका छन् ।

यसर्थ, अबको आन्दोलन भनेको वैकल्पिक (समानान्तर) सौन्दर्यशास्त्र निर्माणमै केन्द्रित गरिनु पर्छ । आदिवासी जनजातिको दर्शनशास्त्र समानान्तर (होराइजेन्टल) सौन्दर्यमा आधारित छ ।

(त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत डा. श्रेष्ठले आदिवासी जनजाति साहित्यकार महासंघको भेलामा प्रस्तुत गरेको कार्यपत्रको संक्षेप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment