Comments Add Comment

फ्रान्स कसरी बन्यो संसारको ‘फेसन राजधानी’ ?

फ्रान्सको राजधानी पेरिसलाई फेसनको राजधानी भनिन्छ । यसको पछि केही कारणहरू छन् । १७ औं शताब्दीको मध्येदेखि नै अनेकथरी फेसनको विकास भएको पेरिस सहर १८ औं शताब्दीसम्म आइपुग्दा पश्चिमा विश्वको फेसनमा प्रभाव पार्ने हैसियतसम्म पुगिसकेको थियो। अहिले पनि विश्वमा चर्चित हुनको लागि फेसन डिजाइनरको पहिलो रोजाइमा फ्रान्स र त्यसमा पनि पेरिस सहर नै पर्ने गर्छ ।

लामो समयदेखि राज्यले समेत फेसनको विकासका लागि महत्व दिँदै आएको फ्रान्सले अहिले पनि विश्वको फेसन डिजाइनमा महत्वपूर्ण प्रभाव पार्ने गर्छ । धेरै पहिलेदेखि नै फ्रान्सको अर्थतन्त्रमा समेत यसले राम्रो हिस्सा ओगट्दै आएको छ । तर पछिल्लो समय फ्रान्सले विभिन्न मुलुकका संस्कृतिको केन्द्रको रूपमा आफ्नो अस्तित्व जोगाएकोले पनि यसलाई फेसनको राजधानीको रूपमा चिनाउने गरिन्छ । तर कसरी विकास हुँदै आयो त फ्रान्सको फेसन ?

फ्रान्सेली डिजाइनरहरूले लामो समयदेखि विश्वमा सबैभन्दा प्रख्यात र मनपर्ने फेसन ब्रान्डहरू सिर्जना गर्ने गर्दै आएका छन् । शैलीगत रूपले नवीन र प्राविधिक  एव‌ं फरकपनका कारण फ्रान्सेली कपडा उद्योगको उल्लेखनीय प्रतिष्ठा १७औं शताब्दीदेखि नै चर्चित र विस्तारित रहेको पाइन्छ ।

फ्रान्सेलीहरू आफ्नो सबैखाले मौलिक डिजाइन विकासको श्रेय १६४३ देखि शासनमा उदाएका राजा लुइस चौधौंलाई दिने गर्छन् । लुइस चौधौंको पालाका पहिरन एवं फेसनहरूको अवशेष भर्साइल दरबारका विभिन्न शैली एव‌ं भर्साइल दरबारबाट प्रभावित भएका विश्वका विभिन्न दरबारहरूमा समेत पाउन सकिन्छ । नेपालमा समेत बनेका कतिपय नवशास्त्रीय वास्तुकलामा बनेका भवनमा तत्‍कालीन समयको फेसनको प्रभाव पाउन सकिन्छ ।

राष्ट्रिय अर्थतन्त्रमा विलासिताका सामानहरूको महत्त्व बुझ्दै लुइसले कपडाको व्यापार लगायत थुप्रै कलात्मक उद्योगहरूलाई शाही दरबारको नियन्त्रणमा ल्याएका थिए । जसले विश्वव्यापी रूपमा फेसन स्टाइलको विस्तारमा सहयोग पुर्यायो । जसका कारण शताब्दीयौंसम्म पनि फ्रान्स उच्च गुणस्तरका कपडा र सामग्रीको लागि चर्चित रह्यो ।

१९ औं शताब्दीको समयदेखि ‘हौट कउचर’को नयाँ शिल्प विकास भयो । हौट काउचरले ग्राहकलाई फिटिङ हुने कपडालाई जनाउँछ । त्यतिबेलासम्म रेडिमेड फेसनको बढी प्रयोग भएको फ्रान्समा नै कउचरले फिटिङ फेसनको सुरुवात भएपछि मान्छेले ठाउँठाउँमा टेलर स्थापना गर्ने र नयाँ फेसनको प्रयोग गर्ने चलन चलाउन थाले ।

हौट कउचर सम्बन्धी उद्योग खोल्ने श्रेय भने चार्ल्स फ्रेडरिक वर्थलाई जान्छ । जसले पेरिसको रुउ डे ला पाइक्समा आफ्नो फेसन व्यवसाय खोलेका थिए । जसमा थुप्रै फेशन हाउसहरू समावेश थिए । जसमध्ये पोल पोइरेट र मेडेलिन विओनेट पनि समावेश छन् । यही उद्योगले चर्चा पाएसँगै छोटो समयमा नै पेरिस एउटा फेशन हबको रूपमा विकास भयो । जबकि फ्रान्सेली डिजाइनहरू विश्वभरि नै एकाएक विस्तार हुँदै गए ।

फ्रान्सको फेसन उद्योग दोस्रो विश्वयुद्धको समयमा निकै कमजोर हुन पुग्यो । त्यहाँको मौलिक फेसनलाई प्रोत्साहन गर्ने फेसन उद्योगहरू बन्द गराइयो र अमेरिकाले आफ्नो उपस्थितिको भरपुर प्रयोग गर्दै आमसञ्चारको प्रयोग गरेर अमेरिकी डिजाइनतिर फ्रान्सेलीहरूको ध्यान आकर्षित गर्यो ।

दोस्रो विश्वयुद्ध पछि बिस्तारै फ्रान्सेली फेसनले पुनर्जागरण गराउँदै थियो । त्यतिबेलासम्म फ्रान्समा इटाली र अमेरिकी फेसनको समेत अवतरण भइसकेको थियो । क्रिश्चियन डायरले दोस्रो विश्व युद्धपछिको फेशन ‘नयाँ लुक’को नामबाट आफ्नो प्रभुत्व जमाउन सुरु गरे ।

२० औं शताब्दीमै फ्रान्सेली फेसन डिजाइनरमा अधिकता देखियो। पेरिसमा हबर्ट डि गिवन्ची र पियरे बाल्मेन जस्ता चर्चित फेसन डिजाइनरहरूको उदय भयो ।  दुवैले फ्रान्सेली फेसन उद्योगलाई प्रतिष्ठित बनाए । तर त्यहाँ संयुक्त राज्य अमेरिका र इटाली दुवै देशका फेसनको प्रतिस्पर्धा सुरु भइसकेको थियो ।

तर सन् १९६० मा फ्रान्सेली फेसन उद्योगमा महत्वपूर्ण चुनौती खडा भयो । ‘युवा संस्कृति’ लन्डनमा द्रूत रूपमा विकास भइरहेको थियो । मेरी क्वान्ट एक बेलायती फेसन डिजाइनर थिइन् । जसले यौनिक स्वतन्त्रता  र आधुनिकताको नाममा छोटा स्कटको फेसन फ्रान्समा जारी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment