Comments Add Comment

साइबर अपराधीको निशानामा कलाकार 

साइबर सुरक्षाको सामान्य विषयमै ध्यान दिंदैनन् प्रयोगकर्ता

१३ चैत, काठमाडौं । रंग पत्रकार दयाराम पाण्डेलाई बुधबार दिउँसो फेसबुकमा गीतकार दीपकराज पाठकको नामबाट एउटा म्यासेज आयो, ‘हेल्लो, हेल्लो… ।’ दयारामले आफू व्यस्त रहेको जनाउँदै ‘केही काम भए फोन गर्न’ भन्दै मोबाइल नम्बर पठाइदिए ।

फेरि उनलाई अर्को म्यासेज आयो, जसमा भनिएको थियो, ‘सर, तपाईंको मोबाइलमा एउटा कोड आएको छ, त्यो मलाई पठाइदिनुहोस् न ।’ म्यासेजमा आएको ६ वटा नम्बरको कोड कपी गरेर उनले म्यासेन्जरमा पठाइदिए । लगत्तै आफ्नो फेसबुक ह्याक भएको दयारामले अनलाइनखबरलाई बताए ।

‘त्यसको केहीबेरपछि नै धेरै जनाबाट फोन आउन थालिहाल्यो’ उनले सुनाए, ‘कोहीलाई ५० हजार, कोहीलाई १ लाख मागिएको रहेछ, केहीलाई अपशब्द प्रयोग गर्दै गाली गरेको पनि भेटिएको छ ।’

****

कलाकारसँगै अन्य धेरै व्यक्ति पनि टार्गेट भएको देखिएकाले गिरोहकै संलग्नता हुनसक्नेतर्फ पनि अनुसन्धान गरिरहेका छौं : साइबर ब्यूरो

उनै दयाराम पाण्डेको फेसबुकबाट बिहीबार बिहान अभिनेता सरोज खनाललाई म्यासेज गयो, ‘मलाई नयाँ कामका लागि एउटा मिटिङ गर्नुपर्ने भयो, तपाईंको मोबाइलमा आएको कोड पठाइदिनुहोस् न ।’ सरोजले चिनजानकै व्यक्ति भएकाले मोबाइलमा आएको कोड सहजै कपी गरेर दयारामलाई पठाइदिए ।

एक घण्टापछि ‘दाइ, तपाईंलाई पैसा चाहिएको हो र !’ भन्दै फोन आउन थालेपछि चाहिं उनी झस्किए । ‘मलाई फोन गर्ने व्यक्तिसँग ९० हजार रुपैयाँ मागिएको रहेछ’ सरोजले अनलाइनखबरसँग भने, ‘मैले त मागेको छैन भनेपछि उनले पो भनिन्, तपाईंको फेसबुक ह्याक भएछ ।’

अन्य थुप्रै व्यक्तिहरुबाट पनि आफूलाई फोन आएको सरोजले बताए । उनले आफ्नो फेसबुक ह्याक गरी धेरै जनासँग पैसा मागिएको बताए । ‘विभिन्न समस्या देखाउँदै कोहीसँग ९० हजार, कोहीसँग १ लाख मागिएको रहेछ । चिनेकाले त फोन गरेर बुझ्नुभयो’ खनालले भने, ‘नचिनेका पनि कतिलाई म्यासेज गरेर पैसा मागिएको हुनसक्छ ।’

****

सरोजको फेसबुक ह्याक भएपछि उनको आईडीबाट बिहीबार दिउँसो अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई म्यासेज गयो, उस्तै शैलीमा ।

‘दीपा बहिनी, तिम्रोमा एउटा कोड आउँछ, त्यो मेरोमा पठाइदेउ न एउटा काम गर्नुपर्नेछ ।’

अभिनेता खनालले भनेपछि दीपाश्रीले सहजै कोड पठाइदिइन् । तर, एकैछिनमा फेसबुकबाट उनलाई नोटिफिकेसन आयो, ‘योर एकाउन्ट ह्याज विन लग्ड इन एट भरतपुर ।’ त्यसपछि झस्किएकी निरौलाले पुनः फेसबुक खोल्न खोज्दा एकाउन्ट आफ्नो पहुँचबाहिर पुगिसकेको थाहा पाइन् ।

ह्याक गर्ने व्यक्तिले आफ्नो एकाउन्टबाट भाञ्जा, बहिनीलगायतलाई म्यासेज गरेर पैसा पठाइदिन भनेको पाइएको दीपाश्रीले अनलाइनखबरलाई बताइन् ।

‘मेरो एकाउन्टबाट भाञ्जालाई भाइ बिरामी भयो भन्दै एक लाख रुपैयाँ पठाइदिन भनिएको रहेछ’ उनले भनिन्, ‘भाञ्जाले बैंकको नम्बर माग्दा भाइ पर्नेको भन्दै किशोर शाह नामको प्रभु बैंकको खाता नम्बर पठाएको पाइएको छ ।’

नेपाल प्रहरीको साइबर ब्यूरोमा गएर बुझ्दा शाहको पनि फेसबुक ह्याक भएको जानकारी पाएको दीपाश्रीले बताइन् । आफ्नो एकाउन्टमा ह्याकरले दुई वटा स्ट्याटससमेत राखिदिएको उनले बताइन् ।

****

दीपाश्री, सरोज र दयारामले फेसबुक ह्याक भएपछि साइबर ब्युरोमा उजुरी दिएका छन् ।

ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालका अनुसार पछिल्लो समय उस्तै उजुरी लिएर आउनेको संख्या बढेको छ । केहीदिन अघिमात्रै नेपाल प्रहरीकै अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्लको आईडी ह्याक गरेर विभिन्न व्यक्तिसँग रकम मागेको पाइएको थियो ।

सामाजिक सञ्जालमा भेटिएका जुनसुकै वेबसाइटको लिंक वा इमेल खोल्नु घातक हुनसक्छ : साइबर विज्ञ

‘कलाकारसँगै अन्य धेरै व्यक्ति पनि टार्गेट भएको देखिएकाले गिरोहकै संलग्नता हुनसक्नेतर्फ पनि अनुसन्धान गरिरहेका छौं’, अर्यालले अनलाइनखबरसँग भने, ‘केही घटनामा फेसबुकको सिंगापुरस्थित कार्यालयसँग समन्वय भइरहेको छ ।’

अपराध महाशाखा बानेश्वरका प्रमुख चन्द्रकुवेर खापुङ पनि फेसबुक ह्याक गरेर ठगीको घटना बढेको बताउँछन् । ‘फेसबुक ह्याक गरेर साथीभाइसँग १०/२० हजार रुपैयाँ माग्ने गरेको देखिएको छ’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) खापुङले भने, ‘केही व्यक्ति समातिएका छन्, अन्य केसमा पनि महाशाखा गम्भीर छ ।’

केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवर प्रविधिको विकाससँगै आपराधिक मानिसकता पनि बढेर गएको बताउँछन् । ‘प्रविधि अपराधीका लागि पनि सहज थलो बनेको छ’ एसएसपी कुँवरले भने, ‘अहिले परम्परागत अपराध कम हुँदै गएको छ भने प्रविधिलाई प्रयोग गरेर स्वार्थपूर्ति गर्नेहरु बढेका छन् ।’

आर्थिक आम्दानीको सहज बाटो भएकाले पनि यसमा अपराधीहरु लागेको पाइएको उनले बताए । विशेष गरी कम उमेर समूहका व्यक्ति यस्ता खाले अपराधमा संलग्न हुने गरेको देखिएको कुँवर बताउँछन् ।

‘कम उमेरका व्यक्तिमा स्वाभाविक रुपमा महत्वाकांक्षा बढी हुन्छ, आर्थिक आम्दानीको चाह हुन्छ, त्यसैले उनीहरुको संलग्नता बढी देखिएको हुनसक्छ’ उनले भने, ‘साइबर ब्युरोलगायतका निकायमार्फत नेपाल प्रहरीले यसमा गम्भीरताका साथ अनुसन्धान गरिरहेको छ ।’

****

अपराध महाशाखाको साइबर शाखाका प्रहरी निरीक्षक राजेश महर्जनका अनुसार पछिल्लो समय प्राप्त उजुरी हेर्दा प्रयोगकर्ताले अत्यन्त सामान्य विषयमा पनि ध्यान नपुर्‍याएको देखिन्छ । ‘सामान्य म्यासेज र कुराकानीकै भरमा ओटीपी (वान टाइम पासवर्ड) जस्तो कोड दिने गरेको देखिएको छ’ महर्जनले भने, ‘त्यसैको फाइदा उठाउँदै विभिन्न व्यक्तिले अपराध गरिरहेका छन् ।’

उनका अनुसार ओटीपी पाएपछि अपराधीले प्रयोगकर्ताको पासवर्ड नै फेरिदिने गरेको देखिएको छ । यसरी अर्काको आईडी लिइसकेपछि अभर परेको भन्दै रकम माग्ने गरेको देखिएको महर्जनले बताए ।

अझ यस्तो गतिविधिमा संलग्न व्यक्तिले ई–सेवा, फोनपे जस्ता माध्यममा पैसा पठाउन लगाएर अनलाइन गिफ्ट कार्ड (डलर कार्ड) किन्ने गरेका छन् । यसले वास्तविक अपराधीसम्म पुग्न प्रहरीलाई गाह्रो हुने गरेको छ ।

साइबर ब्युरोका एसएसपी अर्यालका अनुसार कमजोर पासवर्ड र ‘टु फ्याक्टर अथेन्टिकेसन’को प्रावधान प्रयोग नगर्दा पनि साइबर अपराधमा संलग्नलाई सहज भइरहेको छ । ‘यस्ता गतिविधि रोक्न प्रयोगकर्ता स्वयं पनि सचेत हुनुपर्छ’, अर्याल भन्छन् ।

साइबर विज्ञ हेमपाल श्रेष्ठ धेरै फलोअर भएका प्रयोगकर्ता सधैँ जोखिममा हुने बताउँछन् । ‘कलाकारको हकमा कुरा गर्दा उहाँहरुलाई रिसइबीभन्दा पनि पद वा स्थानको दुरुपयोग गरेर हानी पुर्‍याउने प्रयास भइरहेको हुन्छ’, उनले अनलाइनखबरसँग भने, ‘सानो मौका पाउनेवित्तिकै कमजोरीको फाइदा उठाएर अपराध हुनसक्छ ।’ त्यसैले साइबर सुरक्षाको विषयहरुमा सबैले ध्यान दिनुपर्ने उनी बताउँछन् ।

यो पनि पढ्नुहोस सीमा विवादपछि दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी

कसरी सुरक्षित रहने ?

हेमपाल श्रेष्ठ, आईटी विज्ञ

कुनै पनि व्यक्ति सामाजिक सञ्जालमा जति चर्चित छ, ऊ साइबर स्पेसमा त्यति नै जोखिममा हुन्छ । चर्चित व्यक्तिहरुको तुलनामा सामान्य व्यक्तिमाथि कम जोखिम देखिन्छ ।

साइबर अपराधमा एक व्यक्तिलाई टार्गेट गरेर थुप्रैलाई नोक्सानी पुर्‍याउने पनि सम्भावना हुन्छ । कलाकारको हकमा कुरा गर्दा व्यक्तिगत रिसइबीभन्दा पनि पद र स्थानको दुरुपयोग गर्न उहाँहरुलाई निशाना बनाएको पाइन्छ । यस्तो गतिविधिमा नेपाली वा विदेशी दुवै संलग्न देखिन्छन् ।

धेरै फलोअर्स भएको एकाउन्टमा प्रयोगकर्ताले गरेको सानो कमजोरीबाट फाइदा उठाएर अरुलाई नोक्सान गर्ने सम्भावना हुन्छ । यस किसिमका अपराध अहिले बढ्दो क्रममा छ । यसबाट पीडित व्यक्ति मात्र होइन, उहाँहरुको माध्यमबाट अरु व्यक्ति पनि ठगिएका छन् ।

यसबाट बच्नका लागि पहिलो कुरा पासवर्ड बलियो राख्नुपर्‍यो, ‘टु फ्याक्टर अथेन्टिकेसन’ जस्ता टुल प्रयोग गर्नुपर्‍यो । अर्को कुरा हार्डवेयर डिभाइसलाई सुरक्षित राख्ने त छँदैछ, जुनसुकै सफ्टवेयर वा एप्लिकेसन वा गेम पनि प्रयोग गर्नुभएन । जुनसुकै वेवसाइटको लिंक वा इमेल खोल्नु पनि घातक बन्नसक्छ ।

जसरी कोरोनाको महामारीमा हात धुन, मास्क लगाउन र सामाजिक दूरी कायम गर्न सिक्यौं, त्यस्तै अब आफ्ना साइबर एकाउन्टहरु सुरक्षित राख्न पनि नियमित सावधानी अपनाउनुपर्छ ।

वाईफाइ नेटवर्क र आईएसपी पनि क्रेडिबल राख्नुपर्छ । त्यसपछि सुरक्षित वेबसाइट र एप्लिकेसन मात्र भिजिट गर्नुपर्छ । जुनजुन वेवसाइटलाई रातो क्याटागोरीमा राखिएको छ, त्यसलाई एक्सेस गर्नु भएन । अहिले एसएमएसबाट पनि धेरै अपराध भइरहेको छ, ओटीपी कसैलाई दिनुभएन, यसबाट धेरै व्यक्तिगत सूचना चोरी भइरहेको अवस्था छ ।

(श्रेष्ठ कम्प्युटर एसोशिएसन अफ नेपाल–क्यानका सदस्य हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment