Comments Add Comment

बनिनसक्दै भत्किन्छन् पुल, सच्चिंदैनन् त्रुटि

२९ चैत, काठमाडौं । चैत २३ गते राति तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुल भत्कियो । २२० मिटर लामो ढलान भइसकेको पुलको ८० मिटर भाग भत्कियो । पुलका विज्ञहरु यो घटनालाई निर्माण लागत घटाउने चक्करको परिणाम भन्छन् ।

पूर्वसिनियिर डिभिजनल इन्जिनियर प्रकाश उपाध्याय देवघाटको घटनालाई निर्माणाधीन पुल भत्किने पुरानै सिलसिलाको निरन्तरता भन्छन् । ‘यस्ता घटना विगतमा पनि थुप्रै भएका हुन्’ उनी भन्छन्, ‘त्यसबाट पाठ सिकेर काम गर्ने परिपाटी अझै बस्न सकेन ।’

गत वर्षको चैतमा लकडाउन भएपछि पुलहरु निर्माणका काम खासै भएनन् । असोजपछि साइटमा काम शुरु भएसँगै निर्माणाधीन पुलहरु भत्किने घटना दोहोरिन थालेको छ ।

इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभीले चितवन र तनहुँको सीमा त्रिशूलीमा बनाइरहेको पुल ढलान गरेको २१ दिनमा भत्कियो । ढलान गर्न राखिएको स्काफोल्डिङ निकाल्न ७ दिन बाँकी रहँदा पुल भत्किएको हो ।

१६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको यो पुलको डिजाइन पुनरावलोकन गरेर लागत २१ करोड ६८ लाख पुर्‍याइएको थियो । ६ वर्षअघि शिलान्यास गरिएको पुल २०७४ कात्तिक २० भित्र बनाइसक्नुपर्ने थियो ।

सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक शिवप्रसाद नेपाल सो पुल निर्माणका क्रममा त्रुटि भएको प्रारम्भिक अनुमान गरिएको बताउँछन् । ‘सोही दिन आएको भूकम्पलाई कारणका रुपमा देखाइएको छ, तर त्यही कारणले घटना भएजस्तो देखिन्न’ उनले भने, ‘हामी छानबिन गर्दैछौं ।’

नेपालमा ‘प्रि-स्ट्रेस’ प्रविधिको पुल बनाउन थालेको एक दशक बितिसक्दा पनि पटक–पटक भत्किने समस्या देखिएको उनले बताए ।

एकै प्रकृतिका पटके घटना

गुल्मीको मुसिकोट नगरपालिकाको ढिडीस्थित बडीगाढ खोलामा बनिरहेको पुल २०७७ वैशाख १ गते बग्यो । वाईपी जनबुद्ध निर्माण सेवा, काठमाडौंले ठेक्का पाएको पुल २०७६ वैशाख ४ गते ढलान गर्दागर्दै भाँचिएको थियो । ५ करोड १७ लाख लागतको ५८ मिटर लामो पक्की पुल ढलान गर्ने क्रममा एक वर्षमा दुई पटक बडीगाढले बगायो ।

२०७६ असोज अघिका ६ महिनामा ६ वटा पक्की पुल बन्दाबन्दै भत्किएका थिए । सम्बन्धित निकायहरुले निर्माण विधि र गुणस्तरबारे चासो नदिंदा यस्ता घटना दोहोरिंदै आएको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

रौतहटको गौर नगरपालिका–४ गढवामा निर्माण सकिनै लागेको पुल २०७६ भदौमा बीच भागमै भाँचिएको थियो । कन्काई इन्टरनेसनल बिल्डर्सले ६ करोड रुपैयाँको ठेक्कामा बनाइरहेको ४० मिटर लामो यो पुल २०७६ भदौमा सकिनुपर्ने थियो ।

प्रिस्ट्रेस प्रविधिको यो पुल विज्ञ नराखी बनाइँदै थियो । यो प्रविधिमा पुललाई अड्याउन बीच भागलाई तन्काएर माथि उठाउनुपर्छ । तार लगाएर तन्काउने क्रममै पुल भाँचिएको थियो ।

हुलाकी राजमार्गअन्तर्गत सप्तरी खण्डको पुल पनि बन्दाबन्दै २०७६ साउन अन्तिम साता भत्कियो । बोदे बरसाइन नगरपालिका–५ जाँजरस्थित खडक नदीमा वागमती निर्माण सेवाले बनाइरहेको पुल ढलानकै क्रममा बाढीले भत्काएको थियो ।

मनाङको म्यार्दी खोलाको बेलिब्रिज २०७६ असार पहिलो साता बाढीले बगायो । सडक निर्माण भएको १० वर्षपछि हिमाली जिल्ला मनाङ जोड्न बनाइएको बेलिब्रिज एक वर्ष पनि टिकेन । मनाङकै मर्स्याङ्दीमा निर्माणाधीन पुल पनि २०७६ असारमा नदीमा खस्यो । ढलान मात्रै बाँकी रहेको अवस्थामा ङिस्याङ गाउँपालिकाको हुम्डे र ङावल जोड्ने पुल भत्किएको थियो ।

एक महिनाअघि नै बांगो देखिएको पुल सच्याएर बनाउन कम्पनीलाई गाउँपालिकाले भने पनि अटेरी गर्दा बन्न लागिसकेको पुल भत्कियो । ग्याल्वा–क्याराभान कन्स्ट्रक्सन जेभीले बनिरहेको ५ करोड लागतको ३५ मिटर लम्बाइको यो पुल २०७५ मंसिर १५ गतेसम्म निर्माण सक्नुपर्ने थियो ।

२०७६ असारमा धनुषामा अर्को पुलले त्यही नियति खेप्यो । बटेश्वर गाउँपालिका–५ स्थित औरही नदीमा निर्माणाधीन पुल पनि बाढीले बगायो । सखुवा महेन्द्रनगर र शान्तिपुर जोड्ने पुल औराहीको पानीको बहाव थेग्न नसकेर भत्कियो ।

६ वर्षअघिबाट निर्माण शुरु भएको पुलमा ठेकेदार रोशन कन्स्ट्रक्सनले गुणस्तरहीन सामग्री प्रयोग गरेको आरोप लागेको थियो । असारको बाढीले त्यसलाई पुष्टि गर्दै पुलको केही भाग बगायो ।

२०७६ वैशाखमा मदन भण्डारी लोकमार्गको हेटौंडा–सिन्धुली–चतरा खण्डमा निर्माणाधीन पक्की पुलले पनि त्यस्तै नियति बेहोर्‍यो । लोकमार्गको पश्चिमखण्डतर्फ मरिण गाउँपालिका–२ ठूलो गर्दुवा खोलामा बनिरहेको पुल बाढीमा विलीन हुन पुग्यो ।

अनक कन्स्ट्रक्सनले बनाइरहेको ६० मिटर लामो पुल बीच भागमा भास्सियो । स्ल्याब ढलान सकेर तारको काम भइरहेका समयमा पुलमा गरिएको सरकारी लगानी र मिहिनेत स्वाहा भयो । ७० प्रतिशत काम सकिएपछि पुल भासिएर भाँचिंदा करिब १० करोड रुपैयाँ नोक्सानी भयो ।

माटोमाथि टेको

निर्माणाधीन र भर्खरै बनेका पुलहरु भाँचिने, बग्ने घटना वर्षेनि बढ्दै गएका छन् । सडक विभागका पूर्व सिनियर डिभिजन इन्जिनियर उपाध्याय पुलहरु भत्किनुमा एकैखालका कारण नहुने बताउँछन् । पछिल्ला दिनमा बालुवा र माटो थुपारेर त्यसमाथि टेको राख्दै पुलको स्पान ढलान गरिएका कारण बढी जोखिम हुन थालेको उनको अनुभव छ ।

‘जताततै पुल ढलान गर्दा ढलानको फर्माको लागि तलबाट माटो थुपारेर स्काफोल्डिङ गरिंदैछ’ उनी भन्छन्, ‘माटो र बालुवा जतिबेला पनि भासिन सक्छ, बाढी आएर जतिबेला पनि बनिरहेको पुल बगाउन सक्छ ।’

पुलमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तरमा पनि समस्या भएको हुनसक्ने उपाध्याय बताउँछन् । उनका अनुसार नेपालमा निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्ने भरपर्दो प्रयोगशाला नै छैनन् । ‘भएका परीक्षणले समग्र निर्माण सामग्रीको प्रतिनिधित्व गर्दैनन्’, उनी भन्छन् ।

पुल निर्माणमा ठेकेदार, इन्जिनियर, कामदार र आयोजना समेतले हेलचेक्र्याइँ गर्दा भत्किने घटना बढेको उपाध्याय बताउँछन् ।

को कति दोषी ?

पुल बनिरहेका समयमा पर्याप्त अनुगमन नगर्ने र भत्किएपछि सबै दोष ठेकेदारलाई लगाएर उम्कने प्रवृत्ति सरकारी निकायमा छ । सडक विभागको पुल महाशाखाका एकजना पूर्व उपमहानिर्देशक ठेकेदारले दक्ष जनशक्ति नलगाउँदा पनि यस्तो समस्या दोहोरिने गरेको बताउँछन् ।

‘पुलका लागि अपर्याप्त बजेट र कमजोर डिजाइनमै काम गराउन सरोकारवाला निकायहरु तम्सिंदा पनि दुर्घटना निम्तिन्छ’ उनी भन्छन्, ‘बजेट नै कम राखेर लागत तयार गरिएको टेन्डरमा ४० प्रतिशतसम्म घटेर ठेक्का लिने व्यवसायीको प्रवृत्ति अर्को समस्या हो ।’

निर्माण व्यवसायीहरु भने गलत डिजाइन र छिटो काम सक्न दिइने दबाबका कारण पुलहरु बन्दाबन्दै भाँचिने गरेको बताउँछन् । मूलतः डिजाइनमा हुने त्रुटिका कारण नै बन्दाबन्दै पुल भाँचिने नेपाल निर्माण व्यवसायी महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईं बताउँछन् ।

उनी भन्छन्, ‘काम हुँदाहुुँदै पनि छिटो सक्न अस्वाभाविक रुपमा दबाब दिंदा यस्तो दुर्घटना निम्तिन्छ ।’

नदीको बहाव प्रवृत्तिको अध्ययन नगरी हचुवाका भरमा पुल डिजाइन गर्ने गरिएको उनले बताए । नदी बगेको भूबनोट र नदीमा प्रवाह हुनसक्ने ‘करेन्ट’को सही मापन–मूल्यांकन नहुँदा पुलहरु बाढीको शिकार बन्ने गरेको बताउँदै चौलागाईं भन्छन्, ‘यसरी पुल बनाउने स्थान छनोटबाटै त्रुटि शुरु हुने गरेको छ ।’

नयाँ प्रविधि प्रयोग नगर्ने, गरे पनि विज्ञलाई संलग्न नगराउने प्रवृत्ति ठेकेदारहरुमा छ । माटो परीक्षण वैज्ञानिक तथ्यमा आधारित भएर नगरिंदा पनि पुलहरु भासिने गरेको विज्ञहरु बताउँछन् ।

सही डिजाइनका पुल निर्माणमा पनि ठेकेदारको लापरवाही भेटिन्छन् । निर्माणको क्रममा हुने ढिलाइ र कमजोर गुणस्तरका सामग्रीको प्रयोगले पनि पुलहरु भत्किने क्रम बढेर गएको छ ।

निर्माणको समयमा सुपरीवेक्षण नगर्ने र ठेकेदारसँग कमिसन लिएर कमजोर गुणस्तरको निर्माणलाई स्वीकृति दिने साइट इन्जिनियर, आयोजना प्रमुख पनि दोषी रहेको सडक विभागका ती पूर्वउपमहानिर्देशक बताउँछन् ।

सडक विभाग भन्छ..

सडक विभागका अधिकारीहरु नेपालमा नयाँ प्रविधिका पुलहरु बन्न थालेकाले आवश्यक ज्ञान र सावधानी नपुग्दा बीचैमा बग्ने, भाँचिने, भासिने घटना भएको बताउँछन् ।

‘पहिलेको आरसीसी पुलमा पिल्लरहरुबीचको दूरी २५ मिटर मात्रै हुन्थ्यो, अहिले प्रिस्ट्रेस प्रविधिमा ५५ मिटरसम्मको दूरी राखेर पुल बनाइन्छ’ सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपाल भन्छन्, ‘ठेकेदारले डिजाइन र प्रविधिअनुसार सावधानीपूर्ण र वैज्ञानिक तवरले काम नगर्दा भत्कने समस्या बढेको हो । कतिपय अवस्थामा अनुगमनको पाटो पनि कमजोर भएको हुनसक्छ ।’

विभागले तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूलीमा बनिरहेको पुल भाँचिएको घटनाबाट पाठ सिकेर काम गर्ने उनले बताए । उनले भने, ‘नयाँ प्रविधिको पुलको विषयमा विभागकै इन्जिनियर र निर्माण व्यवसायीहरुलाई तालिम पनि आवश्यक देखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment