Comments Add Comment
मेयरहरुको ४ वर्षे समीक्षा :

‘संघ र प्रदेशले हात बाँधिदिए, सोचेजस्तो भएन’

१ वैशाख, पोखरा । कार्यकालको अन्तिम वर्ष प्रवेश गर्दै गरेका देशका विभिन्न स्थानीय तहका प्रमुखहरु २०७७ सालको अन्तिम दिन पोखरामा भेला भए । पोखरा मंगलबारदेखि सुरु राष्ट्रिय मेयर सम्मेलनमा भाग लिन आइपुगेका स्थानीय तहका प्रमुखहरुले आˆनो अनुभव बाँडे । कार्यकालमा व्यहोरेका अप्ठेरा र दुःखहरु पनि साटासाट गरे।

उनीहरुले कानुनी जटिलता, संघ र प्रदेशको विभेदकारी नीतिले धेरै अवरोध सिर्जना गरेको दुखेसो पोखे । सम्मेलनमा बोल्ने प्रमुखहरुको विश्लेषण थियो, ‘संघ र प्रदेशको बाधा व्यवधानका बीच जति गर्छौं भनेर आएका थियौं गर्न सकेनौं तर कम्तिमा बेठीक गरिएन ।’

सुदूरपश्चिमका मेयर हुन् या प्रदेश २ का मेयर, लुम्बिनी प्रदेशका हुन् या गण्डकी प्रदेशका पालिका प्रमुख । उनीहरुको एउटै भाव थियो, ‘तीन तहको सरकारबीच समन्वय नहुँदा बजेट खर्च समस्या देखियो । प्राप्त अधिकार प्रयोग गर्न पनि प्रदेश र संघलाई गुहार्नुपर्यो । चार वर्ष दुःखले गुजार्‍यौं।’

सम्मेलनको सुरुमै बोलेका पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले चार वर्षमा स्थानीय सरकारहरुले विकासका आधारशीलाहरु निर्माण गर्न सफल भएको दाबी गर्दै भने सरकारबीच समन्वय नहुँदा विकास नै अवरोध भएको बताए । ‘संघ र प्रदेशकै विकासको मोडेल के हो र कसरी हुन्छ भन्ने कुरामा अल्मलिएको देखिन्छ भने अनावश्यक स्थानीय तहको अधिकार क्षेत्रमा अंकुश लगाउने प्रवृत्तिले विकासलाई अवरोध गरेको छ,’ मेयर जिसीले भने, ‘अस्पष्ट नीति तथा स्थानीय सरकारहरुको अधिकार क्षेत्रमाथि अनावश्यक हस्तक्षेपका कारण शिक्षा, स्वास्थ्य, कृषि, जनप्रशासनलगायतमा स्थानीय तहहरुले जन अपेक्षा अनुसार सेवा प्रवाह गर्न सकेका छैनन् ।’

आजसम्म पनि बजेट विनियोजनको स्पष्ट मापदण्डको अभावमा संघीय र प्रदेश बजेट पहुँच र भनसुनको आधारमा विनियोजन हुने गरेको उनको भनाइ थियो । ‘संघीय र प्रदेश सरकारको बजेट विनियोजन गर्ने गलत प्रक्रियाका कारण अझै पनि असारे विकास नै गर्नु पर्ने अवस्था विद्यमान छ,’ मेयर जिसीले भने ।

सुदूरपश्चिमको गौरीगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवाले धेरै स्थानीय तहमा अझै पनि कर्मचारी पुग्न नसकेको बताए । ज्वरो आउँदा क्याप्सुल खाएर ठिक भएजस्तो जनताको उच्च आकांक्षा पूरा हुन्छ भन्ने सोचर स्थानीय तहमा गए पनि सोचेजस्तो काम गर्न नसकेको उनको भनाइ थियो । जनतासँग जोडिएको भनिएको स्थानीय तहलाई अधिकार र बजेटका हिसाबमा भने ८४ व्यञ्जन अगाडि राखेर हात बाँधिएको देउवाले बताए । ‘संघ र प्रदेशले साना योजना दिएर ठूला योजना आफैं राखे,’ देउवाले भने, ‘दुःखका साथ पनि धेरै राम्रा काम गर्‍यौं ।’

लुम्बिनी प्रदेशका तर्फबाट तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले अहिलेसम्म जनप्रतिनिधिले बेठिक गरे भन्ने नपारेको दाबी गरे । तिलोत्तमा लगानी सम्मेलन गरेर धेरै लगानी भित्रिरहेको अनुभव सुनाउँदै घिमिरेले तिलोत्तमालाई प्लास्टिकमुक्त गराउनेसम्मका सकारात्मक काम गरेको बताए । स्थानीय तह, प्रदेश र संघ सरकारबीच समन्वय नहुँदा पनि स्थानीय तहले अस्तित्व स्थापित गरेको उनको भनाइ थियो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले केही राम्रा कामको अनुभव सुनाए । गाउँपालिकालाई कोदोमा आत्मनिर्भर बनाएको, खाना नफाल्ने अभियान चलाएको जस्ता सामाजिक अभियानसँगै पालिकाभित्र सबैलाई रोजगार बनाउने दिशामा लागेको बताए ।

२ नम्बर प्रदेश महोत्तरीको लोहारपट्टी गाउँपालिका अध्यक्ष शैलेन्द्रकुमार रेग्मीले प्रदेश र संघको समन्वयन नहुँदा धेरै बजेट फ्रिजसमेत भएको दुखेसो पोखे । ‘३ तहको समन्वय नहुँदा धेरै बजेट फ्रिज नै हुन्छ । त्यसमाथि अझै असार अन्तिममा बजेट पठाउँछ,’ रेग्मीले भने, ‘जोस जाँगरसहित आएका थियौं तर, आफैंसँग सन्तुष्ट छु, प्रदेश र संघसँग सन्तुष्ट छैन ।’ अधिकार र बजेटका निम्ति सधैं प्रदेश र संघलाई गुहार्नु परेको रेग्मीको भनाइ थियो ।

स्याङ्जा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले पालिकाले जनताको जीवनस्तरमा धेरै सुधार ल्याएको बताउँदै शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

नगरपालिका संघ गण्डकीका अध्यक्षसमेत रहेका गोरखा पालुङटार गाउँपालिका अध्यक्ष दीपकबाबु कँडेलले बढी प्रदेश र संघ सरकारप्रति नै आक्रोश पोखे । गाउँ-गाउँमा सिंहदरबार पुर्याउने भनेर गाउँमा सिंहमात्रै पुग्यो तर दरबार केन्द्रमै छुटेको भन्ने आवाज उठिरहँदा स्थानीय तहमाथि अंकुश लगाउने काम भएको कँडेलको भनाइ थियो । संघ र प्रदेशले योजना बनाउँदा स्थानीय तहको भावना बुझ्न नसकेको कँडेलले बताए । प्रदेश र संघ सांसदले खल्तीका पैसा बाँडेजसरी पैसा बाँड्ने तर स्थानीय सरकारसँग समन्वय नगरिएकोमा कँडेलको आपत्ति थियो ।

स्याङजा पुतलीबजार नगरपालिका प्रमुख सीमा क्षेत्री स्थानीय जनप्रतिनिधिलाई ५ वर्ष कुनै डर नरहेको तर काम कस्तो भएछ भन्ने डर चुनावकै रहेको बताइन् । अवसर र चुनौतिका बीचबाट कार्यकालको अन्तिम वर्षसम्म आइपुगेको उनको भनाइ थियो । स्थानीय तहका सबै जनप्रतिनिधि भ्रस्टचारी हुन् भनेर भन्ने गरिएको भन्दै क्षेत्रीले आक्रोश व्यक्त गरिन् ।

‘स्थानीय तहका सबै भ्रष्टचारी हुन् भनेर भन्ने यस्ता नेता पनि छन् यो देशमा,’ क्षेत्रीले भनिन्, ‘होलान् कोही त्यस्ता पनि तर सबैलाई भ्रष्टाचारी भन्न मिल्छ ?’ खरबारीमा १ सय भारी खर काट्ने र खरबारीमा आगो लगाउने एउटै हुन् भन्न नमिल्ने उनको भनाइ थियो । तेस्रो चौमासिकमा आएरमात्र बजेट पठाइदिँदा असारे विकासले नै प्रश्रय पाइरहेको पनि दुखेसो पोखिन् ।

स्थानीय तह र प्रदेशलाई संघले मगन्ते बनायो : मुख्यमन्त्री गुरुङ

स्थानीय तहको क्षमता विकास गर्नुपर्नेदेखि संघ सरकारको संघीयता विरोधी मानसिकतामाथि मेयर सम्मेलनको प्रमुख वक्ता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बढी केन्द्रित रहे । संघीयतापछि ३ सरकारको प्रमुख भएर इतिहास कायम भइसकेको बताउँदै मुख्यमन्त्री गुरुङले अब काम कस्तो गर्‍यौं भन्ने समीक्षा गर्ने बेला भइसकेको बताए।

संघ, प्रदेश र स्थानीय तहको निर्वाचन हुनुपर्नेमा सुरुमा ध्यान नपुर्‍याउँदा संघीयताको कार्यान्वयन पनि उल्टो बाटोबाट भएको मुख्यमन्त्री गुरुङले जिकीर थियो । प्रदेश र संघको निर्वाचन र सरकार गठन नै पछाडि भएकाले स्थानीय तहको सुरुको एक वर्ष त्यतिकै बितेको मुख्यमन्त्री गुरुङको भनाइ थियो । सुरुको एक वर्ष कठिन घडीमा बितेको भए पनि पछिल्लो तीन वर्षको समीक्षा गर्न र दस्तावेज बनाउन मुख्यमन्त्रीले आग्रह गरे ।

‘शासकीय क्षमता कति वृद्धि भयो ? भ्रष्टाचार नियन्त्रणमा हाम्रो भूमिका कस्तो रह्यो ? कति पारदर्शी हुन सक्यौं ?’ मुख्यमन्त्री गुरुङले भने,’ ‘यो कुराले व्यवस्था बलियो बनाउने हो ।’ आत्मसमीक्षा गर्दा अर्कालाई मात्र दोष लगाएर नहुने मुख्यमन्त्रीको भनाइ थियो ।

कुन सरकारले के गर्ने, यो व्यवस्था कस्तो बनाउने भन्नेबारे प्रधानमन्त्रीदेखि नेतासम्म अलमल र अस्पष्ट रहेको मुख्यमन्त्रीको भनाइ थियो । कुन र कस्तो योजना कुन सरकारले हेर्ने भन्ने अझै स्पष्ट हुन नसकेको मुख्यमन्त्रीले बताए । कर्मचारी, राजश्व बाँडफाँट, विभाग, न्यायालयसम्म अझै केन्दि्रकृत मानसिकताअनुसारै चलेको मुख्यमन्त्रीको भनाइ थियो ।

संघका सांसद र मन्त्रीले भन्नेबित्तिकै ५/७ करोड निकासा गरिदिने अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहलाई भने मगन्तेजस्तो बनाएको भन्दै मुख्यमन्त्रीले आक्रोश पोखे । ‘बजेट सबै माथि नै राखेर प्रदेश र स्थानीयलाई मगन्ते बनाउने पुरानै शैली केन्द्रको छ,’ मुख्यमन्त्रीले भने, ‘स्थानीय र प्रदेशलाई संघले परजीवी बनाएको छ ।’

‘राष्ट्रिय मेयर सम्मेलन तथा साइकल दौड प्रतियोगिता’ नाम दिएर भएको कार्यक्रममा देशभरबाट दुई सय स्थानीय तहका प्रमुख सहभागी हुने आयोजक पोखरा महानगरपालिकाको दाबी थियो । मेयर सम्मेलन भनिए पनि सबै पालिकालाई कार्यक्रममा निम्ता गरिएको थियो । प्रतिकूल मौसमको कारण देखाउँदै धेरै पालिका प्रमुख सहभागी भएनन् । बुधबार बिहान पालिका प्रमुखहरु साइकल दौडमा सहभागी भएका कार्यक्रम संयोजक पोखरा-१३ का वडाध्यक्ष दर्शन लामाले जानकारी दिए । मंगलबार साँझ सम्मेलनको शुभारम्भमा ५० स्थानीय तहका प्रमुख सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment