Comments Add Comment

खोप लगाउने ठाउँमै कोरोना सर्ने जोखिम !

७ वैशाख, काठमाडौं । ‘स्वास्थ्यकर्मी पनि भएकाले कोरोनाका विषयमा निकै सचेत छु, तर अहिले आफैं यो भीडमा उभिन विवश छु’, कोरोना भाइरसविरुद्धको खोप लगाउन नयाँ वानेश्वरस्थित निजामती कर्मचारी अस्पताल पुगेकी डा. प्रियंका प्रधानले भनिन् ।

खोपको दोस्रो डोज लिन अस्पताल परिसर पुग्दा नै उनलाई भिडले झस्काएको थियो । तर, त्यही भिडमा लाइन नलागे खोप लगाउन नपाइने थियो । लाइनमा उभिएका बैंकका कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरुको दूरी दुई मिटर होइन, मुस्किलले एकफिट थियो । मास्क भने कसैले छुटाएका थिएनन् ।

लाइनमा आवश्यक दुरी कायम गर्ने/गराउनमा कसैले ध्यान दिएका थिएनन् । खोप लगाउने, खोप दिने र अस्पतालका कर्मचारी सबै आ–आफ्ना काममा व्यस्त थिए । मापदण्ड पालना भएको छैन भनेर फर्किने अवस्था पनि थिएन ।

दुई महिनाअघि सरकारले स्वास्थ्यकर्मी, सञ्चारकर्मी र बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई प्राथमिकताका आधारमा पहिलो डोज खोप दिएको थियो । उनीहरु दोस्रो डोज लिन मंगलबार निजामती कर्मचारी अस्पताललगायतका तोकिएका स्वास्थ्य संस्थामा पुगेका हुन् ।

लाइनमा उभिएका सञ्चारकर्मी मदनकुमार श्रेष्ठले यही ठाउँमा पहिलो खोप लगाउँदा यतिधेरै भीड नभएको सुनाए । ‘यहीँबाट कोरोना सर्ला जस्तो पो भयो’ उनले भने, ‘लाइनलाई व्यवस्थित बनाउने कुरामा कसैले ध्यान दिएको पाइएन ।’

खोप लगाइसकेपछि आधा घण्टा खोप केन्द्र नजिकै आराम गर्न स्वास्थ्यकर्मीले आग्रह गर्ने गर्छन् । यसका लागि टेण्ट टागेर ‘होल्डिङ सेन्टर’ बनाइएको छ । त्यहाँ पनि उस्तै भीड छ ।

‘सबकुरा ठीक छ, भीड व्यवस्थापन नगर्नु चाहिँ अस्पताल प्रशासनकै कमजोरी हो’ खोप लगाएर आराम गरिरहेका माधवप्रसाद नेपालले भने, ‘कोरोनाको त्रास झन् बढेको बेला यति सोचिदिएको भए राम्रो हुन्थ्यो ।’

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागिसकेको छ, त्यसैले धेरैलाई यसको त्रास छ । सरकारले कोरोना संक्रमणबाट जोगिन उच्च सतथर्कता अपनाउन भनेको छ । सहरी क्षेत्रमा विद्यालय, पार्टी प्यालेस, सिनेमा हल नखोल्न र सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै जम्मा नहुन सरकारको आदेश छ ।

कोरानाविरुद्वको खोप केन्द्र तोकिएको काठमाडौंका अन्य अस्पतालमा भने निजामती कर्मचारी अस्पतालको तुलनामा कम भीड देखिएको छ । टेकु अस्पतालमा व्यवस्थित लाइन थियो ।

तस्वीर तथा भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment