Comments Add Comment

सार्वजनिक सवारीको भाडा बढाउन अध्ययन सुरु

९ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा बढाउन अध्ययन थालेको छ । यातायात व्यवस्था विभागका प्राविधिक उपसचिवको संयोजकत्वमा समिति बनाएर समायोजनको लागि छलफल थालेको हो ।

यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थ र सवारीजन्य पार्टपुर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर भाडा बढाउन सरकारलाई वैशाख १५ गतेसम्मको अल्टिमेटम दिएका थिए ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार अध्ययन गर्न बनेको समितिले भाडा समाजोजनबारे अध्ययन र व्यवसायीसँग छलफल गरेर समायोजनको सिफारिस गर्नेछ ।

यातायात व्यवसायीहरुले वैज्ञानिक तवरले भाडा बढाउनुपर्ने माग गरेका छन् । सरकारले २०६५ फागुन २० गतेबाट वैज्ञानिक भाडादर समायोजन सम्बन्धी कार्यविधि जारी गरेको थियो ।

सरकारले लगातार पेट्रोलको मूल्य १३ पटक बढाएको छ भने डिजेलको मूल्य पनि ९ पटक बढेको छ । यस्तो मूल्य वृद्धिले यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने व्यवसायीहरुले बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर र चैत ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई ज्ञापनपत्र बुझाएर भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन् ।

२०६५ चैत २० गते सरकारले तय गरेको वैज्ञानिक भाडा प्रक्रियाअनुसार गाडी भाडामा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र बिमा, कर, बैंक ब्याज, पाटपूर्जा, टायर, लुबि्रकेन्टलगायतका अन्य सामग्रीमा भएको मूल्यवृद्धिलको ६५ प्रतिशत योगदान रहने आधार तयार गरेको थियो ।

तर सो आधार अनुसार बिमा, कर, बैंक, पार्टपुर्जाजस्ता सामग्रीको मूल्य वृद्धिको आधारमा २०६९ सालदेखि हालसम्म भाडा समायोजन नै नभएको महासंघको दाबी छ । सार्वजनिक सवारी चलाएर नाफा निकाल्न नसकिने अवस्था आएको भन्दै भाडा बढाउन विभागलाई भनिएको महासंघका महासचिव सरोज सिटौला बताउँछन् । ‘राष्ट्र बैंकको मूल्यवृद्धिको आँकडालाई हरेर यसपटक वैज्ञानिक समायोजन गर्दा ३०देखि ४० प्रतिशतसम्म भाडा बढ्नुपर्छ,’ उनी भन्छन् ।

यसअनुसार तेलको मूल्यलाई ३५ प्रतिशत अंक भार दिएर लुबि्रकेन्ट, टायर, मर्मत शुल्क लगायतलाई ६५ प्रतिशत अंकभार दिएर सवारीको भाडा समायोजन गर्न सकिने व्यवस्था गरेको थियो । तर, सरकारले त्यसपछि दुईपटक मूल्य समायोजन गर्न तेलको मूल्यलाई मात्रै आधार बनाएर भाडा बढाएको थियो ।

पछिल्ला वर्ष तेलको मूल्य घट्दा पनि आयल निगमले उच्च नाफा राख्दा सवारीको भाडा घट्न सकेको थिएन । तर, कोभिड- १९को महामारी साम्य हुँदै गाएपछि तेलको मूल्य बढिरहेको छ ।

‘महामारीको मारमा परेको व्यवसायलाई थप थिलोथिलो बनाउने गरी पटक-पटक भएको तेलको मूल्यवृद्धिको भार थेग्न सकिने अवस्था नै छैन,’ महासचिव सिटौला भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment