१० वैशाख, काठमाडौं ।नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् । खेल शनिबार साँझ ५:३० बजे त्रिपुरेवरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।
विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं र अन्जन विष्टको कप्तानीमा रहेको ललितपुरबीच खेलसंगै नेपालमा फ्रेन्चाइज फुटबलको नयाँ सुरुवात हुनेछ । तर कोभिड-१९ को बढ्दो संक्रमणका कारण खेल क्लोज डोरमा खेलाइनेछ ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको एनएसएलमा सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सात वटै फ्रेन्चाइज टिमका कप्तान र प्रशिक्षकले पहिलो पटक हुन लागेको फ्रेन्चाइज लिगका लागि तयार रहेकेा बताएका छन् ।
काठमाडौं रेजर्सका कप्तान तथा गोलकिपर विकेशले एनएसएल एउटा अवसर भएको बताएका छन् । तयारीका लागि धेरै समय नपाएपनि टिम सेट राम्रो भएकाले जित्ने लक्ष्य रहेको उनले बताए ।
काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले कम समयका बावजुत पनि तयारीप्रति सन्तुष्टि जनाए । ‘जे जस्तो छ, त्यसैमा ध्यान दिएर अघि बढ्ने हो’ उनले भने, ‘आशा छ राम्रै हुन्छ ।’
साथै विदेशी खेलाडीमा पनि भर पर्नुपर्ने भएकाले पर्ख र हेरको अवस्था रहेको उनले बताए ।
ललितपुरका कप्तान अन्जन विष्टले भोलिको खेलका लागि तयार रहेको बताए भने प्रशिक्षक प्रदिप हुमागाईले लिग लागि तयारी ठिकै भएकाले बाँकी खेलेपछि थाहा हुने बताए ।
प्रतिक्रिया 4