Comments Add Comment

ललितपुरको च्यासलमा बन्यो अक्सिजनसहितको आइसोलेसन सेन्टर

१९ वैशाख, ललितपुर । ललितपुरको च्यासलका स्थानीयले अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरेका छन् । स्थानीयवासीका लागि च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा पाँच बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरिएको हो ।

कोरोनाबाट संक्रमित हुने स्थानीय बासिन्दाका लागि आइसोलेसन सेन्टर तयार गरिएको च्यासल टोल सुधार समितिका अध्यक्ष श्याम व्यञ्जनकारले जानकारी दिए । ‘अस्पतालहरुमा बेड नपाइरहेको समाचार आइरहेको छ । त्यसैले सामान्य अक्सिजनले हुने अवस्थामा हामीले आफैं व्यवस्था गर्न सकिन्छ भनेर तयार गरेका हौं,’ उनले भने ।

अहिलेसम्म स्थानीय बासिन्दालाई कोरोना संक्रमण भएको खबर नपाएको उनले बताए । डा. विक्रम व्यञ्जनकार, डा. सुविन व्यञ्जनकार र डा. सुनिता व्यञ्जनकारको सुझाव अनुसार आइसोलेसन तयार पारिएको उनले बताए ।

आइसोलेसनमा बस्नेहरुलाई डा. समिरा व्यन्जनकारले जाँच गर्नेछिन् । डा. समिरा २०७४ सालमा भएको युएस बंगला विमान दुर्घटनामा बाँच्न सफल व्यक्ति हुन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment