Comments Add Comment

‘अस्पतालले मागेजति अक्सिजन जसरी पनि पुर्‍याउँछौं’

२८ वैशाख, काठमाडौं । पछिल्लो समय देशभरका अस्पतालमा अक्सिजनको अभाव छ । अक्सिजन अभावमा कतिपय अस्पतालहरूले कोभिडका बिरामी भर्ना गर्न नसक्ने भन्दै सार्वजनिक सूचना नै जारी गरेका छन् । कति अस्पतालले अक्सिजनको जोहो नहुँदा उपचाररत बिरामीलाई अन्यत्र पठाउँदा बाटैमा मृत्यु भएका समाचार सार्वजनिक भएका छन् ।

धेरै अस्पतालले अक्सिजन अभावमा उपचार सम्भव नभएको भन्दै हात उठाइरहेका छन् । केही दिनअघि मात्रै अक्सिजन अभावमा बिरामी अन्यत्रै सार्न अस्पतालले आग्रह गर्दा भक्तपुरमा कोभिड बिरामीको ज्यान गएको तथ्य हाम्रा सामु ताजै छ ।

अक्सिजन अभावका घटना बढी रहँदा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आइतबार ‘अक्सिजन कार्यदल’ नै गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठ संयोजक रहेको कार्यदलमा ६ सदस्य छन् । कार्यदललाई देशभरको अक्सिजन अभाव टार्ने जिम्मेवारी दिइएको छ ।

कार्यदलमा गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पतालका चिकित्सक सदस्य छन् । अहिलेको अक्सिजन अभावको जटिल समस्यालाई कार्यदलले कसरी सम्बोधन गर्छ ? कार्यदलका संयोजक एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठसँग अनलाइनखबरकर्मी नवीन ढुंगानाले गरेको कुराकानीको सम्पादित अंशः

अक्सिजन अभावको समस्या जटिल बनिरहेको बेला ‘अक्सिजन कार्यदल’ गठन गरिएछ । कार्यदलमा को–को हुनुहन्छ ?

देशभर चर्किंदै गएको अक्सिजन अभाव समाधान गर्न सीसीएमसीले आइतबार यो कार्यदल गठन गरेको हो । कार्यदलको संयोजकको जिम्मेवारी मलाई तोकिएको छ । स्वास्थ्य मन्त्रालय र सुरक्षा निकाय गरी अन्य पाँच निकायका साथीहरू सदस्य हुनुहुन्छ । कार्यदलमा सहसचिव नुरहरि खतिवडा, वरिष्ठ जनस्वस्थ्य प्रशासक सागर दाहाल, प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरङ्ग, सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक खड्का र प्राविधिक सहसेनानी डा. गालब अधिकारी सदस्य हुनुहन्छ । यो कार्यदललाई स्वस्थ्य मन्त्रालयका विशिष्ट श्रेणी अधिकृत र नेपाली सेनाको तर्फबाट एकजना उपरथीले सहजीकरण गर्ने जिम्मेवारी तोकिएको छ ।

कुन अस्पतालमा कति बिरामी छन् ? त्यो अस्पताललाई कति अक्सिजन चाहिन्छ ? र कुन उद्योगबाट त्यहाँ अक्सिजन उपलब्ध गराउने भन्ने कार्यविधिले स्पष्ट पारेको छ । हामी यसमा कत्ति पनि ढिलाइ नगरी वितरण प्रणाली प्रभावकारी बनाउन लाग्छौँ ।

 

कार्यदलको मुख्य म्याण्डेट के हो ?

अहिले कोरोना संक्रमित बिरामीका लागि निकै धेरै अक्सिजनको आवश्यकता परेको छ । तर अक्सिजन उत्पादन गर्ने उद्योगहरू भने सीमित छन् । यस्तो अवस्थामा बिरामीलाई अक्सिजन सहज उपलब्ध गराउन हामीलाई जिम्मेवारी तोकिएको छ ।

तपाईंहरूले स्वदेशी उद्योगको सिलिण्डर यताको उता गर्न सघाउने हैसियत मात्रै हो कि आवश्क परेको खण्डमा संसारका जुनसुकै स्थानबाट पनि अक्सिजन वा सिलिण्डर ल्याउनसक्ने अधिकारसहितको कार्यदल हो ?

अक्सिजन सिलिण्डर अभाव हटाउन परराष्ट्र मन्त्रालयले सहजीकरण गरिरहेको छ । मेरो जानकारीमा आएसम्म २७ गते जहाज गएर २८ गते सिलिण्डर ल्याउने विषयको अन्तिम टुंगो लागिसकेको छ । त्यसबाहेक कार्यदलले स्वदेशको औद्योगिक क्षेत्रमा रहेका अक्सिजन सिलिण्डर उपचार प्रयोजनका लागि प्रयोगमा ल्याउने कामलाई प्राथमिकतामा राखेको छ ।

देशमा उत्पादन हुने अक्सिजन, त्यसलाई चाहिले सिलिण्डर र त्यसको समुचित वितरण कार्यदलको प्राथमिकतामा छ । यहाँको उत्पादनले मात्रै नधान्ने अवस्था भयो भने संसारका जुनसुकै कुनाबाट भए पनि अक्सिजन आयात गरेर अवस्था सहज बनाउन कार्यदलले सरकारलाई सिफारिस गर्नसक्छ ।

काठमाडौंका अस्पतालमै अक्सिजन अभाव छ । नागरिकले ज्यान गुमाउनुपरिरहेको छ । केही दिनअघि मात्रै भक्तपुरमा दु:खद् घटना भयो । अस्पतालहरूले अक्सिजन अभावकै कारण बिरामी भर्ना गर्न नसक्ने सूचना सार्वजनिक गरेका छन् । यस्तो समस्या कार्यदलले कसरी समाधान गर्छ ?

यो समस्या समाधान गर्न हामीले कार्यविधि बनाएका छौं । अहिलेको उत्पादनभन्दा अधिक मागका कारण समस्या भएको हो । आफ्नै अक्सिजन प्लान्ट भएका र नभएका दुवैखाले अस्पतालहरू अहिले अक्सिजन अभावसँग जुधिरहेका छन् । त्यसको व्यवस्थापनका लागि हामी काम गर्छौं ।

त्यो भनेको कुन अस्पतालमा कति बिरामी छन् ? त्यो अस्पताललाई कति अक्सिजन चाहिन्छ ? र कुन उद्योगबाट त्यहाँ अक्सिजन उपलब्ध गराउने भन्ने कार्यविधिले स्पष्ट पारेको छ । हामी यसमा कत्ति पनि ढिलाइ नगरी वितरण प्रणाली प्रभावकारी बनाउन लाग्छौं ।

त्यसका लागि अस्पतालले ढिलाई नगरी माग फारम भरेर अक्सिजन माग गर्न सक्छन् र त्यो पुर्‍याउने जिम्मा हाम्रो हो । हामी जसरी पनि पुर्याउने छौं । अस्पतालले अक्सिजन नपाउने अवस्थालाई हामी अन्त्य गर्छौं । त्यो वितरण वैज्ञानिक होस् भनेरै हाम्रो कार्यदलमा स्वास्थ्य, सुरक्षा र आपूर्तिलगायतका सबै निकायका सदस्य हुनुहुन्छ ।

उपत्यकाका झण्डै आधा दर्जन अस्पतालले अक्सिजन अभावका कारण बिरामी भर्ना नगर्ने लिखित सूचना जारी गरेपछि यो कार्यदल बन्यो । अब ती अस्पतालका समस्या तत्काल समाधान हुन्छ त ?

हामी अक्सिजन उद्योगहरूसँग नियमित सम्पर्कमा छौं । चार–पाँच दिन अघिसम्म पनि हामीलाई अक्सिजन उत्पादन होइन, सिलिण्डर अभाव हो भन्ने उद्योगहरूको कुरा थियो । तर केही दिनयता अक्सिजनको माग निकै बढ्यो ।

अहिले उद्योगहरूको भनाइ २४ घण्टा चलाउँदा र भइराखेका सबै सिलिण्डर भर्दा पनि माग धान्न सकिएन भन्ने छ । यो जटिल अवस्था हो । अस्पतालहरूले थप अभाव झेल्न नपरोस् भनेर विदेशबाट सिलिण्डर ल्याउने प्रक्रिया सुरु भएको छ । अस्पताल बाहिर रहेका सबै सिलिण्डर जसरी पनि स्वास्थ्य प्रयोजनमा लगाउन दु्रत गतिमा काम गरेका छौं ।

उद्योग विभागले करिब तीन हजार त्यस्ता सिलिण्डर फिर्ता ल्याइसकेको छ । हामीले पनि सार्वजनिक आह्वान गरेका छौं । निजी क्षेत्रबाट सिलिण्डर फिर्ताको घोषणा हुन थालेको छ । हामी अझै पनि भन्छौं अस्पतालहरूको जटिल समस्या समाधानका हामी सबै मिलेर हातेमालो गर्नुपर्छ ।

अस्पताल बाहिर रहेका सबै अक्सिजन सिलिण्डर नजिकको अस्पताल वा प्रशासन बुझाइदिन सबैमा हामी अपिल गर्छौं । यो सबैको प्रयासले जित्ने अवस्था हो । हामी सबैको सामूहिक प्रयासले मात्रै अस्पतालहरूले अक्सिजन पाउनसक्ने अवस्था निर्माण हुन्छ । यो कुरा सबैले मनन् गरिदिन आग्रह गर्छु ।

यस्तो जटिल अवस्थामा अक्सिजन ढुवानी पहिलो प्राथमिकता हो । यो कुनै पनि कारणले अक्सिजन आपूर्ति रोकिनु, अवरोध हुनु वा ढिलाइ हुनुहुन्न भन्नेमा हामी सचेत छौं । सुरक्षाकर्मी लगाएर हुन्छ वा अन्य जेजे उपायहरू अपनाएर पनि अक्सिजनको ढुवानी वा आपूर्ति द्रूत गतिमै हुन्छ ।

 

अस्पतालमा अक्सिजन नपाएपछि बिरामीका आफन्तहरू बिलौना गर्दै अक्सिजन माग्न उद्योगहरूमा पुगेका दृश्य देख्नु भएको होला । यो संख्या हरेक दिन बढ्दो क्रममा रहेको उद्योगीहरूले बताएका छन् । यो अवस्थालाई कार्यदलले कसरी समाधान गर्छ ?

व्यक्तिगत रुपमा अक्सिजन सिलिण्डर उपलब्ध गराउने कार्य हाम्रो म्याण्डेटमा पर्दैन । त्यसलाई हामी निरुत्साहित गर्छौं । जसरी अस्पतालमा अक्सिजनको आवश्यकता पर्छ त्यो अवस्था घरमा बस्नेलाई हुँदैन । त्यसैले उद्योगहरूलाई पनि हाम्रो आग्रह छ कि, तपाईंहरूले जुन–जुन अस्पताललाई यसअघि अक्सिजन दिइरहनु भएको छ, त्यहाँ निरन्तर दिनुस् ।

थप आवश्यकता र मागको आधारमा के कसरी वितरण गर्ने भन्ने कार्यदलले तय गर्छ । अस्पतालमै अक्सिजन सिलिण्डर नहुने अवस्था र अस्पतालप्रति नै विश्वास घट्ने वातावरण सिर्जना हुन हामी दिँदैनौं । अस्पतालका चिकित्सकको सिफारिसमा मात्रै अक्सिजन आपूर्ति गर्न उद्योगहरूलाई आग्रह गरेका छौं ।

पहुँच हुनेले घरघरै अक्सिजन थुपारेको, बिरामी नभएको ठाउँमा पनि अक्सिजनसहितको आइसोलेसन बनाइएको, कतिले अक्सिजन बैंक बनाएको कुराहरू पनि समाचारमा आएका छन् ? यसलाई कार्यदलले कसरी हेरेको छ ?

अस्पताल र चिकित्सक नभएको ठाउँमा अक्सिजन राख्ने कार्यलाई हामी कडा निगरानीका साथ निरुत्साहित गर्छौं । अस्पताल वा चिकित्सकको उपस्थितिविना अक्सिजनको प्रयोग सही ठाउँमा भएको कुरामा हामी विश्वास गर्दैनौं । बढी जरुरी भएको ठाउँमा अक्सिजन नहुने र नचाहिने ठाउँमा अक्सिजन थुप्रिनु राम्रो न्यायसंगत र मानवीय होइन । हामी ती अक्सिजनहरू अस्पताललाई नै उपलब्ध गराउने काम गर्छौं ।

देशका केही ठाउँमा अक्सिजन प्रशस्त भएको, कुनै ठाउँमा अक्सिजन नभएर बिरामीको ज्यान जाने अवस्था सिर्जना हुँदा पनि सरकार भने विभिन्न प्रक्रियाको कुरा गर्छ । अहिले पनि सिफारिस, निदेवन आदिजस्ता झमेलाहरू यथावत नै छ । अक्सिजन आपूर्ति बिजुली गतिमा गर्नुपर्ने बेला प्रक्रियाको लम्बेतान किन ?

प्रक्रिया त चाहिन्छ । यो त अभिलेख र वितरण सहज गर्न पनि जरुरी छ । तर यो कागजी झन्झट अहिले छैन । सबै प्रक्रिया अनलाइनमा आधारित छन् । आफ्नो माग, खपत र आवश्यकताका सबै विवरण अनलाइनमार्फत नै भर्न सकिन्छ । यो सजिलो छ ।

अहिले अक्सिजन उद्योगहरूको अवस्थालाई कार्यदलले कसरी हेरिरहेको छ ?

अहिले काठमाडौं उपत्यकाका नौवटा उद्योगमा निकै चाप छ । उपत्यका बाहिर १७ वटा उद्योग छन् । पूर्वका उद्योगहरू अहिले पनि सहज रुपमा अक्सिजन उपलब्ध गराउनसक्ने अवस्थामा छन् । पश्चिम नेपालका उद्योगहरूमा पनि चाप छ तर अक्सिजन विरतण गर्न उनीहरू सक्षम छन् ।

सबै उद्योगहरू सतप्रतिशत क्षमतामा चल्न सरकारले सबैखाले सहयोग गरिरहेको छ । उद्योगलाई कुनै कठिनाइ हुन नदिन हामी प्रतिबद्ध छौं । उहाँहरूले माग गरे अनुसारको सहयोगमा हामीहरूले सहजीकरण गर्छौं ।

अक्सिजन उत्पादन जत्तिकै वितरणमा पनि समस्या देखिएको छ । कुनै दुर्गम वा सुगमको अस्पतालमा हुने अक्सिजनको अभाव चिर्न द्रूत ढुवानी वा आपूर्ति व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

यस्तो जटिल अवस्थामा अक्सिजन ढुवानी पहिलो प्राथमिकता हो । यो कुनै पनि कारणले अक्सिजन आपूर्ति रोकिनु, अवरोध हुनु वा ढिलाइ हुनुहुन्न भन्नेमा हामी सचेत छौं । सुरक्षाकर्मी लगाएर हुन्छ वा अन्य जे–जे उपायहरू अपनाएर पनि अक्सिजनको ढुवानी वा आपूर्ति द्रूत गतिमै हुन्छ । अक्सिजन रोकिएर मानिसको ज्यान जाने अवस्था आउन दिन्नौं । ढुवानीमा हवाई माध्यमको प्रयोग पनि आवश्यकता अनुसार गर्न सरकारलाई सिफारिस गर्छौं ।

अस्पताल र घरमा रहेका बिरामी वा उनीहरूका आफन्तले यो कार्यदलसँग राख्ने अपेक्षा कसरी पूर्ण हुन्छ ?

यो हाम्रो जिम्मेवारी हो तर यो काम हामी एक्लैले गर्न सम्भव छैन । म सबै क्षेत्र र तप्काका मानिसलाई आग्रह गर्दछु । जटिल अवस्थाका बिरामीको जीवन रक्षा गर्नु हाम्रो दायित्व हो । सबैले सक्ने सहयोग गरौं । अक्सिजन नपाएर बिरामीको ज्यान जाने अवस्था आउन नदिन हामी प्रतिबद्ध छौं ।

कुनै पनि जटिल अवस्थाका बिरामीका आफन्तले उहाँहरूलाई अक्सिजन सहयोग वा अस्पतालको आवश्यकता पर्‍यो भने हाम्रो हटलाइन ०१–४२८६६६० मा जुनसुकै बेला सम्पर्क गर्नसक्नु हुनेछ । अक्सिजन नपाएर नागरिकको ज्यान जाने अवस्था आउन दिन्नौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment