+
+

‘महामारीमा नखट्ने नर्सले किराना पसल थापे हुन्छ’

अहेमा थापा, स्टाफ नर्स अहेमा थापा, स्टाफ नर्स
२०७८ वैशाख २९ गते १९:०६

गत वर्ष पहिलोपटक विश्वव्यापी महामारीका रूपमा कोरोना संक्रमण फैलँदा यसबारे कुनै जानकारी नै थिएन । त्यसबेला कोरोना संक्रमण खासै कडा पनि थिएन । कुनै लक्षण नदेखिए पनि हामी डराएका थियौं । र पनि नर्सको जिम्मेवारी पूरा गर्न छोडेनौं ।

पहिलो लहर कम हुँदै गएपछि दोस्रो लहर आउँछ भन्ने विज्ञहरूले अनुमान गरेका थिए । हामीले त्यतातिर ध्यान दिएनौं । सरकार, राजनीति दल र समाजका जिम्मेवार मान्छेले नै लापरबाही गरे ।
हामीले एकखालले कोरोनालाई बिर्सिसकेका थियौं । भारतमा फैलिएको कोरोना नेपालमा पनि आउँछ भन्ने पक्का जस्तै थियो । तर पनि निषेधाज्ञा लगायत रोकथामका उपाय अपनाउन हामीले अलिकति ढिला गर्‍यौं कि भन्ने लाग्छ ।

त्यो ढिलासुस्ती सबै क्षेत्रबाट भयो । सरकारबाट मात्रै होइन, सर्वसाधारणले पनि बुझेनौं वा बुझ्ने प्रयत्न गरेनौं । भेला, समारोह, जुलूस, नारा, विवाह, पार्टी एकदम जरूरी ठान्यौं । सामाजिक दूरी बिर्सियौं, मास्क, स्यानिटाइजर लगाउन छोड्यौं । साबुनपानीले हात धुन भुल्यौं । त्यसैको दुष्परिणाम आज भोग्नु परिरहेको छ ।

समस्याको कुरा त के भने अहिलेको कोरोना संक्रमण पहिलो लहर जस्तो छैन । एक नर्स भएर नजिकबाट बिरामीको सेवा गर्दा पनि थाहा पाएको कुरा के हो भने दोस्रो लहरका रूपमा फैलिएको कोभिड संक्रमण निकै तीव्र र कडा लक्षण सहितको छ । संक्रमितको लक्षण परिवर्तन भएर आएको छ ।

तीव्र संक्रमणका कारण एकैपटक अस्पतालमा ७०/८० जनाको चापलाई सेवा दिनुपर्ने हुन्छ भने कडा लक्षण भएकाले अक्सिजनसहित उच्च केयरमा उपचार गर्नुपर्ने देखिएको छ । अहिले सबै बिरामी गम्भीर अवस्थामा अस्पतालमा आउँछन् । जसलाई कम्तीमा अक्सिजनको सपोर्ट नभए आईसीयूदेखि भेन्टिलेटरसम्मको जरुरत परिरहेको छ । उनीहरूको रेखदेख, उपचार सबै डाक्टरको निर्देशन र सल्लाहमा नर्सले गरिरहेका हुन्छन् । तर नारायणी अस्पतालमा नर्सको संख्या कम छ । दरबन्दी अनुसार नर्स छैनन् । ९ जना जति नर्स संक्रमित भइसकेका छन् ।
नारायणी अस्पतालको मात्रै कुरा गर्ने हो भने आईसीयू, एचडीयूमा २६ जना अति क्रिटिकल केसहरू सिप्याप, बाइप्याप, भेन्टिलेटरमा हुन्छन् । त्यो सबै बिरामीको सेवामा तीन जना नर्स खटिनुभएको छ । अर्कोतिर ४८ वटा बेड छन् । ४२÷४३ जना संक्रमितहरू त्यहाँ हुन्छन् । ती सबै अक्सिजनसँगै सिप्याप, बाईप्यापमा राख्नुपर्ने अवस्थाका हुन्छन् । उनीहरूको पनि अवस्था गम्भीर नै हुन्छ । उनीहरूलाई पनि तीन जना नर्सले केयर गर्नुपर्छ । पुरानो इमर्जेन्सीमा पनि कोभिड संक्रमितको उपचार चलिरहेको छ । तीव्र संक्रमणका कारण त्यहाँ ४० भन्दा बढी नै बिरामी उपचार गराइरहेका हुन्छन् ।

अक्सिजन नचाहिने प्रायः हुँदैनन् भन्दा हुन्छ । नर्सिङ स्टाफ नपुगेर हामीले उहाँहरूको सेवामा दुई जना अहेबलाई खटाएका छौं ।

सेवाकै लागि प्रण गरेर यो पेशा रोजेको हो । फ्लोरेन्स नाइटिङ्गेलबाट प्रभावित भएर नर्सिङ पेशा अपनाएको हो । मुटुमा हात राखेर भन्छु– महामारीमा खटिन पाउँदा निकै गौरवान्वित महसूस हुन्छ । महामारीमा काम गर्न पाउनु एउटा अवसर पनि हो । जुन पेशा रोजेकी थिएँ, महामारीमा केही त योगदान दिन सकिएको छ नि भन्ने लाग्छ ।

यति गाह्रो अवस्था छ कि अस्पतालमा कर्मचारी त धेरै देखिन्छ । कोभिडका बिरामीलाई सेवा दिने स्वास्थ्यकर्मी एकदमै कम छौं । तैपनि निरन्तर सेवा दिइरहेका छौं । बिरामीको रेसियोमा पहिला त नर्स थिएनन् यस्तो बेला त झन् त्यो कल्पना नगर्दा पनि हुने अवस्था छ ।

बिरामीका पनि आफ्नै पीडा छन् । उहाँहरूका पीडा मिडियाले लेख्नुपर्छ, तर हाम्रा पनि त पीडा छन् । समस्या छन् । आफ्नै गाह्रा–अप्ठेराहरू छन् नि ! ती पनि त लेखिदिनुपर्छ नि !

बिरामीलाई जति अक्सिजन चाहिन्छ त्यति दिनुपर्छ । यहाँ त कतिपय बिरामीका आफन्त नै जान्ने हुन्छन् । अक्सिजन ६ लिटर चाहिने ठाउँमा १० लिटर चलाइदिन्छन् । बढी अक्सिजन पठायो भने ब्रेनमा, आँखामा असर गर्छ । स्याचुरेसन ठीक छ भने अक्सिजन कम लिनुपर्छ । बेला बेलामा लिने र छोड्ने गर्नुपर्छ । त्यो कुरा सम्झायो भने बिरामीका आफन्त टेर्दैनन् ।

बिरामीका कुरुवालाई बिरामी भएठाउँमा जानबाट रोक्नुपर्ने हो । तर नर्सिङ स्टाफले उनीहरूलाई रोक्ने कि बिरामीको सेवा गर्ने, धेरै कुरामा हैरानी बेहोर्नुपरेको छ ।
म आफैं घाँटीको समस्या भएर गार्गल, वाफ लिन्छु । कहिलेकाहीं औषधि समेत लिनुपर्छ । बिरामीका आफन्तलाई सम्झाउन र नर्स साथीहरूलाई सल्लाह दिनका लागि बोल्दा बोल्दा घाँटी दुख्छ । बिहानदेखि बोल्न शुरू गर्‍यो, बेलुकासम्म बोलिरहनुपर्छ । काउन्सिलिङ गरेको गरेकै गर्नुपर्छ । बाहिरबाट पनि जनचेतना जगाउने कार्यक्रम कसैले गरिदिएको भए पनि सहज हुनेथियो ।

हामी हाम्रो बलबुताले भ्याएसम्म लागिरहेका छौं । हामीले परिवार नभनी बिरामीको सेवामा आफूलाई समर्पित गरेका छौं । अहिले परिवारभन्दा संक्रमितकै लागि सोचिरहेका छौं । बाँचेपछि घरपरिवारमा त गइहालौंला नि भन्ने लाग्छ ।

सरकारले बनाएको गाइडलाइन अनुसार ७ दिन आइसोलेसनमा १२ घण्टा काम गर्ने भन्ने छ तर हामी १८ घन्टासम्म पनि काम गरिरहेका हुन्छौं । ७ दिन क्वारेन्टिन बस्छौं । कसैलाई लक्षण देखियो वा कुनै गम्भीर अवस्था भयो भने पीसीआर परीक्षण गराउँछौं । संक्रमण पुष्टि भएपछि आइसोलेसन बस्ने वा अस्पतालमा भर्ना हुने हो । नेगेटिभ आउँदा परिवारमा जान पाइन्थ्यो । अहिले त त्यो अवस्था पनि छैन ।

पहिला क्वारेन्टिन बसेर नेगेटिभ आएपछि एक–दुई दिन भए पनि घर जाउँ भन्न सकिन्थ्यो । अहिले अस्पतालको नर्सिङ को–अर्डिनेटर भएर काम गरिरहेकी छु । ७ दिन काम गरेर घर जाउँ भन्न सक्ने अवस्था छैन । परिवारमा फर्किने अवस्था छैन । र पनि हामीले सेवाकै लागि प्रण गरेर यो पेशा रोजेका हौं । फ्लोरेन्स नाइटिङ्गेलबाट प्रभावित भएर नर्सिङ पेशा अपनाएको हो । मुटुमा हात राखेर भन्छु– महामारीमा खटिन पाउँदा निकै गौरवान्वित महसूस गरिरहेका हुन्छौं । महामारीमा काम गर्न पाउनु एउटा अवसर पनि हो । जुन पेशा रोजेकी थिएँ, महामारीमा केही त योगदान दिन सकिएको छ नि भन्ने लाग्छ । काम गर्न चुनौती र जोखिम छ । दुःख यस अर्थमा लाग्छ, यति गर्दागर्दै पनि मानिस मरिरहेका छन् । कतिपय मानिस गम्भीर बिरामी भएर ल्याउँदा बचाउन सकिंदैन । राज्यले बिरामीको उपचारका लागि गर्नुपर्ने व्यवस्था यथेष्ट हुनसकेको छैन ।

महामारीमा खट्न नचाहने नर्सले नर्सिङ पेशा छोड्दा हुन्छ । त्यस्ताले किन यस्तो पेशा रोज्ने ? डर लाग्छ भन्ने हो भने नर्सिङ पेशा छोडेर किराना पसल थापेर बस्दा भइगयो नि !

बिरामीका आफन्तहरू आक्रोशित भएर नर्सिङ कर्मचारी माथि हातपात समेत गर्छन् । त्यसलाई पनि हामीले परिवारमा दुःख परेको छ, आक्रोश पोख्ने मानिसको विभिन्न तरिका हुन्छ भनेर सहजै लिने गरेका छौं । हाम्रो यत्ति कामना हो, आक्रोशमा हामीमाथि क्षति नगरिदिनुस्, नर्सिङ स्टाफ धेरै कम छौं ।

नारायणी अस्पतालमा पहिल्यैदेखि नर्सहरू कम छन् । वीरगञ्ज महानगरपालिका, प्रदेश सरकारसँग माग गरे पनि पठाइएको छैन । नर्सिङ स्टाफ कम भएर काम गर्न निकै गाह्रो भइरहेको छ । बारा, रौतहटका बिरामी पनि उपचारका लागि यहाँ आउँछन् । ती जिल्लाका स्वास्थ्य चौकी, वर्थिङ सेन्टरहरूमा नर्स होलान्, उनीहरूलाई वीरगञ्जमा खटाउने व्यवस्था गर्नुपर्छ । रिफर जति हामीले हेर्नुपर्छ, गाउँपालिकाहरूमा एक दिन हाजिर गरेर बसिरहेकालाई सेवामा लगाउने जिम्मा स्थानीय सरकारको पनि हो ।

प्रदेश सरकारले ८ जना नर्स पठाएकोमा दुई जना मात्रै आएका छन् । अरू काम गर्दिनँ भनेर आएनन् । महामारीमा खट्न नचाहने नर्सले नर्सिङ पेशा छोड्दा हुन्छ । त्यस्ताले किन यस्तो पेशा रोज्ने ? डर लाग्छ भन्ने हो भने नर्सिङ पेशा छोडेर किराना पसल थापेर बस्दा भइगयो नि !
विभिन्न संघ–संस्था, नर्सिङ कलेजमा पनि नर्सहरू छन् । उनीहरूले आ–आफ्नो गाउँ–ठाउँमा मात्रै भए पनि खटिदिनुपर्छ । होम आइसोलेसनमा बसेकालाई स्वास्थ्य परामर्श दिंदा पनि महामारीमा साथ दिन सकिन्छ । कम्तीमा सिरियस भएर अस्पताल पुग्नेको संख्यामा त कमी हुन्छ ।

मास्क कसरी लगाउने भन्ने मात्रै सिकाइदिंदा पनि राहत हुन्छ । स्वास्थ्य सचेतना जगाउन सबै लागिदिनुपर्छ । कोरोना संक्रमणको चेन ब्रेक गर्न भूमिका खेल्न सकिन्छ । जो जहाँ जस्तो अवस्थामा छन्, सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । अनि पो हामी यो महामारीलाई जित्न सकौंला ।

(नारायणी अस्पतालको कोभिड वार्डकी नर्सिङ संयोजक थापासँग नर्सिङ दिवसको अवसरमा अनलाइनखबरकर्मी सुरेश बिडारीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?