Comments Add Comment

बल्लतल्ल भेटियो भेन्टिलेटर, अस्पताल नपुग्दै बिरामीको मृत्यु

आफन्त भन्छन् : भेन्टिलेटर नपाएर कसैको ज्यान जाने स्थिति नआओस्

३० वैशाख, वीरगञ्ज । ‘२३ वर्षीय युवा कोभिड बिरामीलाई वीरगञ्जमा भेन्टिलेटर खोज्दै छौं, कसैसँग केही सहयोग हुन सक्छ भने कृपया जानकारी पाउँ ?

सामाजिक अभियन्ता एवं जनता समाजवादी पार्टीका युवा नेता ओमप्रकाश सर्राफले बुधबार पौने ११ बजे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखे ।

आठ घण्टापछि उनले ‘सरी भाइ’ भन्दै अर्को स्टाटस लेखे । जसमा राति २ बजेसम्म प्रयास गरेर नारायणी अस्पतालमा भेन्टिलेटरको व्यवस्था मिलाइएको थियो । तर नारायणी लैजान नपाइ उनको मृत्यु भएको उल्लेख थियो ।

भवानी हस्पिटल, वीरगञ्ज हेल्थ केयरलगायत अस्पतालमा बुझ्दा भेन्टिलेटर फेला पार्न नसकेपछि फेसबुकमा लेखेको सर्राफ बताउँछन् । ‘बिरामी तराई हस्पिटलमा रहेछन्, सिरियस अवस्था छ भेन्टिलेटर खोजिदिन पर्‍यो भनेर फोन आयो,’ उनले भने, ‘धेरै ठाउँमा फोन गरे फेला पार्न सकिएन, स्टाटस लेखेपछि नारायणी अस्पतालबाट व्यवस्था गर्छु भन्ने प्रतिबद्धता आयो ।’

२३ वर्षीय युवा स्वास्थ्यकर्मीलाई बचाउन नसक्दा आँखामा आँसु नथामिएको उनी बताउँछन् । ‘बिरामी र उनको परिवारसँग व्यक्तिगत रुपमा चिनजान थिएन, मानवीय भावनाले भावनाले सहयोग गरेको थिएँ,’ उनले भने, ‘तर बचाउन नसक्दा निकै दुःख लागेको छ । त्यो भाइको मृत्यु भएको होइन राज्यले हत्या गरेको हो ।’

रौतहटको वृन्दावन नगरपालिका–४ हर्दिया पल्टुवाका २३ वर्षीय रवि यादव हेल्थ असिस्टेन्ट थिए । दुई/तीन महिनादेखि वीरगञ्जको निजी अस्पतालमा उनले बिरामीको सेवा गरिरहेका थिए । जेठ ९ गतेका लागि विवाह तय भएपछि उनी घर गएका रहेछन् ।

घरमा गएपछि उनलाई ज्वरो आउन थाल्यो । गाउँकै मेडिकलबाट औषधि किनेर खाए । दुई दिनसम्म सञ्चो नभएपछि उनी वैशाख २१ गते तराई अस्पतालमा भर्ना भए । दुई दिनपछि गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आयो । स्वास्थ्य अवस्थामा सुधार आउनुको साटो झन् झन् बिग्रिरहेको थियो ।

चारदिनदेखि अस्पतालमा चिकित्सकले भेन्टिलेटरमा राख्नुपर्छ भनिरहेका थिए । तराई अस्पालमा भएको पाँच वटा भेन्टिलेटर खाली थिएन । अन्य अस्पतालमा पनि खाली नभएको नै जानकारी आउँथ्यो । बल्लतल्ल बुधबार राति भेन्टिलेटरको जोहो भयो । तर भेन्टिलेटरमा राख्न नपाउँदै दाइको तराई अस्पतालमै बिहीबार बिहान ४ बजे मृत्यु भएको भाइ ब्रज किशोर यादव बताउँछन् ।

‘एउटा भेन्टिलेटरका लागि चारदिनदेखि चिच्याएँ, कराएँ कतै पाइएन, बल्लबल्ल पाएका थियौं दाइलाई राख्नै भ्याइएन,’ उनले भने, ‘भेन्टिलेटरको व्यवस्था हुँदा दाइको अक्सिजन स्याचुरेसन लेभल ४५ मा झरिसकेको थियो । डाक्टरले अहिले लैजाँदा झनै जोखिम हुन्छ, बिहान अलि हल्का भयो भने पठाउँला भन्नुभयो, तर बिहानै दाइले हामीलाई छाडेर जानुभयो ।’

भेन्टिलेटरको जोहो भएको नारायणी अस्पतालमा यसअघि पनि गएर मृतकको बुवाले तीन घण्टासम्म बसेर हारगुहार गरेका रहेछन् । प्रयास गर्दागर्दा आजित भएपछि सहयोगका लागि हात फैलाएका थिए । तराई अस्पतालबाट रविका परिवारले शव लैजाने बेलामा मात्रै डेढ लाख जति रुपैयाँ तिरेर निस्किएका छन् । त्यसबाहेक ९ दिन अस्पतालमा राखेर औषधि उपचार गर्दा गरिएको नगद खर्चको हिसाब छुट्टै छ ।

भेन्टिलेटर नपाएर रवि दाइको जस्तो अन्य संक्रमितको ज्यान नगुमोस् भनेर ब्रज किशोर प्रार्थना गरिरहेका छन् ।

‘दाइले वीरगञ्जमा काम गरेका थिए, चिकित्सक, स्वास्थ्यकर्मीले चिन्छन् पनि, स्वास्थ्यकर्मीलाई त बचाउन सकिएन भने सर्वसाधारणको के हाल होला ?,’ उनले भक्कानिंदै भने, ‘तैपनि, भेन्टिलेटर नपाएर दाइ जसरी कोही नमरुन् सरकारसँग यही एउटा माग छ ।’

रविको सम्पर्कमा आएका बुवा, भाइलगायत परिवारका सदस्य र आफन्तले नै स्वास्थ्य सुरक्षा सतर्कताका उपाय अपनाएर वागमतीमा दाहसंस्कार गरेका छन् ।

तराई हस्पिटल एण्ड रिसर्च सेन्टरका अनुसार अस्पतालमा ५ वटा भेन्टिलेटर छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सबै भेन्टिलेटर संक्रमितको उपचारमा प्रयोग भइरहेका छन् । भेन्टिलेटर प्रायः खाली हुँदैन ।

अस्पतालका इन्टरनल मेडिसिन विभाग प्रमुख एमडी डा. रोशन कुर्मीले भेन्टिलेटर नपाएर नभई रवि यादवको कोभिड निमोनियाले फोक्सो खराब भएर मृत्यु भएको बताए ।

‘भर्ना भएदेखि नै हाईफ्लो अक्सिजन चलिरहेको थियो, आवश्यकता अनुसार भेन्टिलेटरमा राखेका पनि थियौं,’ उनले भने, ‘फोक्सोमा कडा कोभिड निमोनिया देखिएको थियो, रातिदेखि नै भेन्टिलेटरमा राखेका थियौं, स्वास्थ्यमा सुधार हुन सकेन र बचाउन सकेनौं ।’

बिरामीका आफन्तले भने भेन्टिलेटर भनेर सानो मेसिन ल्याएर बुधबार बेलुकादेखि लगाइदिएपछि झनै अक्सिजन लेभल घटेको दाबी गरे ।

बिरामीलाई भेन्टिलेटर पर्याप्त भएको अझै राम्रो सेन्टर खोजेर लैजान सुझाव भने चारदिन अघि नै दिएको उनी बताउँछन् । ‘बिरामीको आवस्था राम्रो छैन, अझै राम्रो सेन्टर लैजान सक्नुहुन्छ भने लैजानुस् भनेर भनेका थियौं,’ डाक्टर कुर्मीले भने, ‘गाह्रो हुँदा भेन्टिलेटर खाली नहुन सक्छ भनेर भनेका थियौं, त्यसैले बाहिर भेन्टिलेटर खाली भएको अस्पताल खोजेको हुन सक्छ ।’

तराई हस्पिटलले अस्पतालको तेस्रो तला कोभिड संक्रमितका लागि छुट्याएको छ । ३२ जना संक्रमित उपचाररत छन् । सात बेडको इमर्जेन्सी पनि कोरोनाका शंकास्पद बिरामीले भरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment