Comments Add Comment

अक्सिजनका लागि ट्रमा सेन्टरमा चलिरहेको भागदौड

बिरामीका आफन्त भन्छन्, ‘हामीलाई यसै मर भनेको हो ?’

३० वैशाख, काठमाडौं । बिहीबार दिउँसो ट्रमा सेन्टर पुग्दा संक्रमितका आफन्त अक्सिजन सिलिण्डर जोहो गर्न हारगुहार गरिरहेका थिए । अक्सिजन पाउन नसक्दा अस्पतालको कुनामा रोइरहेका आफन्तहरूको दृश्य हृदयविदारक थियो ।

आफन्तको ज्यान बचाउन उनीहरू चारैतिर सम्पर्क गरिरहेका थिए । तर सबै ठाउँबाट ‘अक्सिजन छैन’ भन्ने जवाफ आएको उनीहरूको उदास अनुहारले बताइरहेको थियो ।

गम्भीर चोटपटक लागेका बिरामी उपचार गर्ने राष्ट्रिय ट्रमा सेन्टरका सबै वार्डलाई यतिबेला कोरोना–वार्ड बनाइएको छ । यद्यपि वीर अस्पतालको दायाँपट्टि रहेको ट्रमा सेन्टरमा बुधबारदेखि नै अक्सिजनको चरम अभाव हुन थालेको छ ।

दृश्य १

एउटा निशान जीप ट्रमा सेन्टरको इमर्जेन्सी अगाडि रोकियो । निकै आत्तिएका गाडी चालकले ट्रमा सेन्टरको रित्तो अक्सिजन सिलिण्डर स्यानिटाइजर छर्केर गाडीमा राख्न खोजे ।

ठूलो सिलिण्डर भएका कारण उनी एक्लैलाई त्यो उचाल्न हम्मेहम्मे परेको थियो । छेउमा रहेका ट्रमा सेन्टरका गार्डले यो दृश्य नदेखेझैंँ गरे । अर्कोतिर फर्किए । हतार भएकाले उनी कसैसँग बोल्ने अवस्थामा थिएनन् । अक्सिजन खोज्न पाटनसम्म पुग्नुपर्ने भएकाले ती चालक सकी–नसकी सिलिण्डरलाई गाडीमा राखेर पाटनतर्फ रफ्तारमा कुदे ।

दृश्य २

ट्रमा सेन्टरको भुइँ तलाको कुनामा छन्, दुई किशोरी । उनीहरू आधा घण्टादेखि निरन्तर रोइरहेका छन् । उनीहरूलाई त्यहाँ सान्त्वना दिने पनि कोही भेटिएन ।

एक छिनपछि रुँदै आफन्तलाई फोन गर्न थाले । एक घण्टापछि उनीहरूलाई लिन एउटा गाडी आयो । रुँदै गाडी चढेका ती किशोरीका आफन्त अन्तिम अवस्थामा भएको बुझियो । अस्पतालले ‘अब केही गर्न सक्दैनौं’ भनेपछि उनीहरू यो अवस्थामा पुगेका थिए ।

दृश्य ३

ट्रमा सेन्टरको बगैँचाछेउ पत्रकारको एक टोली बसिरहेको छ । दोलखाका एक व्यक्ति आएर सहयोगको लागि अपिल गरे ।

‘तपाईंहरूले त चिनेको हुन्छ । मेरो मान्छेलाई अस्पतालले आफैं अक्सिजन खोज भनेको छ । मैले कहीँ भेटाउन सकिनँ’, एकै सासमा उनले भनिसिध्याए ।

संक्रमित भाइको उपचार गर्न दोलखाबाट २७ गते उनी ट्रमा सेन्टर आइपुेका रहेछन् । शुरुका दुई दिन अक्सिजन सहजै पाए पनि बुधबारदेखि अस्पतालले नै अक्सिजन छैन भन्ने सूचना दिन थाल्यो । यसपछि उनी निकै आत्तिएर धेरै जनालाई सहयोगका लागि आग्रह गरिरहेका थिए ।

‘राजधानीमा मेरो कोही चिनेजानेको मान्छे छैन’ भन्दै उनी गुहार मागिरहेका थिए ।

दृश्य ४

‘हामी संक्रमित भए पनि अक्सिजन नपाएरै मर्ने हो !’

ट्रमा सेन्टरकै प्रशासनतर्फका एक कर्मचारी ढोकामा उभिएर फतफताइरहेका थिए । बिरामीका आफन्तको हारगुहार देखेर आजित भइसकेका उनलाई अस्पतालकै कर्मचारी भएर पनि कसैलाई मद्दत गर्न नसक्नुको पीडाले झन् थिचेको थियो । हामीसँगको कुरामा अस्पतालको अवस्था नाजुक भइसकेको र स्थिति नियन्त्रणबाहिर गइसकेको उनले सुनाए ।

‘म अस्पतालको मान्छे भनेर के गर्नू ? संक्रमित भए बेड पाउन मलाई पनि गाह्रो छ’, ओभरटाइम ड्युटीले थकित अवस्थामा रहेका उनी चिन्ता पोखिरहेका थिए ।

दृश्य ५

ट्रमा सेन्टर पछाडि रहेको अक्सिजन भण्डारण कक्षमा कामदारहरूको भीड थियो । यो भीड बिरामीलाई अक्सिजन दिलाउन नभई अक्सिजनको खोजीमा निस्कन लागेकाहरूको थियो । यसका लागि ट्रमा सेन्टरमा भएका सबै खाली सिलिण्डर एकैठाउँमा जम्मा पारेर गाडीमा हाल्न लागिएको थियो ।

काठमाडौंमा रहेका अन्य अस्पतालका अक्सिजन प्लान्टमा ती सिलिण्डर पुर्‍याउन लागिएको थियो । तर, ती प्लान्टमा पनि कतिबेला सिलिण्डर भर्ने पालो आउँछ भन्ने कुरा यी कर्मचारीलाई नै थाहा छैन ।

‘हेरौं कहाँ अक्सिजन पाइन्छ, त्यहीँ लगेर भएपनि सिलिण्डर भर्नुपर्छ । नत्र बर्बाद हुन्छ’, ट्रमा सेन्टरका कर्मचारी एकअर्कासँग कुरा गरिरहेका थिए ।

भगवान भरोसामा छौँ : निर्देशक

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेल अस्पताल प्रशासन स्वयं नै अक्सिजनको खोजीमा लागेको बताउँछन् ।

निर्देशक पौडेलले फेसबुकमार्फत अक्सिजन सहयोगको याचना गर्दै लेखेका छन्– ‘राष्ट्रिय ट्रमा सेन्टरमा १०५ जना बिरामी अक्सिजनको सहायताले उपचाररत छन् । एम्बुलेन्समार्फत अक्सिजन ओसार्दा पनि बिहान ७ बजेसम्मको लागि मात्र अक्सिजनको व्यवस्था गर्न सकियो अब तत्काल अक्सिजन व्यवस्था गर्न नसकिए भगवान भरोसामा छौँ ।’

उनले फेसबुकबाटै उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई तत्काल अक्सिजनको व्यवस्था गरी बिरामीको ज्यान बचाउन आग्रह गरेका छन् ।

अहिले ट्रमामा अक्सिजनको मात्र नभई सिलिण्डरको संख्या समेत कम हुँदा संक्रमितको उपचार ठप्प हुने स्थिति छ । अक्सिजनको चरम अभावका कारण ट्रमा सेन्टरले बुधबारदेखि नयाँ बिरामी लिन छोडको छ । यसले गर्दा ट्रमाका एक सयभन्दा बढी बिरामीलाई प्रत्यक्ष असर परेको छ ।

यता ट्रमासँगै रहेको वीर अस्पतालमा पनि अक्सिजन अभाव हुन थालेपछि सरकारी निकाय चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कोरोना उपचारमा निरीह बन्दै गएको देखिन्छ ।

(तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment