१२ जेठ, काठमाडौं । युरोपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता युरोपा लिगको उपाधिका लागि म्यानचेष्टर युनाइटेड र भियारियालबीच बुधबार फाइनल खेल हुँदैछ ।
खेल पोल्याण्डको गडान्स्कस्थित गडान्स्क स्टेडियममा नेपाली समयअनुसार राति १२ः१५ बजे सुरु हुनेछ ।
इङ्लिस क्लब युनाइटेडले एक पटक युरोपा लिग उपाधि जितेको छ भने भियारियालले अहिलेसम्म युरोपा लिग जितेको छैन ।
सन् २०१७ मा पहिलो पटक युरोपा लिग जितेको युनाइटेड त्यसयता उपाधिविहीन छ र चार वर्षपछि फेरि उपाधि जित्न चाहन्छ । उता स्पेनिस क्लब भियारियाल पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथै मैदान उत्रिंदैछ ।
युनाइटेडले सेमिफाइनलमा इटालियन क्लब रोमालाई समग्रमा ८–५ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । भियारियलले भने इङ्लिस क्लब आर्सनललाई सेमिफाइनलमा समग्रमा २–१ ले पराजित गरेको थियो ।
युनाइटेड र भियारियाल युरोपा लिगमा पहिलो पटक भिड्न लागेका हुन् । यी दुई टोली यसअघि युरोपियन च्याम्पियन्स लिगमा भने चार पटक आमनेसामने भइसकेका छन् । सन् २००५÷०६ र २००८÷०९ को समूह चरणमा गरी कुल चार पटक यी दुई क्लब खेलेका थिए । तर सबै खेल गोलरहित बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया 4