Comments Add Comment

महामारीमा महासंघको सिंगो सञ्जाल नै परिचालित

१८ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघसहित यसको सिंगो सञ्जालनै यतिखेर मुलुकभित्र कोभिड महामारीका विरूद्धमा लड्दै आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोगमा जुटिरहेको छ । कोभिडको दोस्रो लहरको महामारीका कारण वैशाख १६ गतेदेखि उपत्यका र त्यसअघि केही जिल्लाहरूबाट शुरू भएको लकडाउन र निशेधाज्ञा अहिले एक दुईवटा जिल्ला बाहेक सबैमा जारी छ ।

महासंघले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग जारी बन्दाबन्दी र निशेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा टेलिफोन सम्वाद हुंदा मुलुकभर करिव ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित भएको पाइन्छ ।

प्रदेशगतरूपमा हेर्दा प्रदेश नम्वर १ (८२.७ प्रतिशत), गण्डकी प्रदेश (७५प्रतिशत),बागमती प्रदेश (६९प्रतिशत), प्रदेश नम्वर २-६९प्रतिशत), लुम्बिनी प्रदेश (६४.५ प्रतिशत), सुदूरपश्चिम (५७.७प्रतिशत) र कर्णाली प्रदेशमा (४५.५प्रतिशत) उद्योग व्यवसायमा असर पर्न गएको देखिन्छ ।

खाद्यान्न, स्वास्थ्यसंग सम्बन्धी, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषि बाहेक सबै क्षेत्रका उद्योग व्यवसाय ठप्प छन् । पसलहरू विहान ३-४ घण्टा मात्र खुल्ने गरेका छन् ।

उद्योग व्यवसाय चलाउने लाखौं मानिसहरू घरभित्र थुनिएर बसेका छन् । यो बेलामा उद्योग व्यवसाय भन्दा पनि सामाजिक भावना अनुरूप आम नेपालीको स्वास्थ्य बचाउनु ठूलो कुरा भएकाले सिंगो निजी क्षेत्रले सम्पूर्ण रूपमा सरकारलाई साथ दिइरहेको छ ।

कोभिड महामारीको चपेटामा उद्योगी व्यवसायीहरू पनि परेका छन् । कतिपय उद्योगी व्यवसायीको कोभिडकै कारण ज्यान समेत गैसकेको छ । संक्रमित हुनेको संख्या पनि निकै ठूलो हुन सक्छ । आफ्नो ज्यानको समेत परवाह नगरी अहिले उद्योग व्यवसाय क्षेत्र अग्रभागमा रहेर सकेको सहयोग गर्न जुटि रहेको छ ।

दोस्रो लहरको कोभिड संक्रमणको विस्तार भएसंगै महासंघले विषम परिस्थितिमा निजी क्षेत्र, सरकार र आम सर्वसाधारणको साथ रहेको प्रतिबद्धता जनाउंदै आफ्नो सिंगो सञ्जाललाई आआफ्नो क्षेत्र र आआफ्नो तहबाट सहयोगमा उत्रन अपिल समेत गरयो । सोही अनुसार महासंघको सञ्जाल यतिखेर परिचालित भएको छ ।

उद्यमी व्यवसायीहरू कोभिड समस्यामा परेका मानिसहरूलाई सहयोग गर्न अहोरात्र खटिरहेका छन् । आइसोलेशन निर्माण, संचालन, स्वास्थ्य सामग्रीहरूको व्यवस्था, अक्सिजन/कन्सन्ट्रेटर लगायतका अत्यावश्यक औषधिहरूको सहज आपूर्ति, अक्सिजन बैंकको स्थापना मार्फत अक्सिजन आपूर्ति, स्वास्थ्य सामग्रीहरू हस्तान्तरण, हेल्प डेस्क मार्फत सहयोगमा जुटिरहेका छन् ।

त्यस्तै स्वास्थ्य परामर्श, एम्बुलेन्स सेवामा सहजीकरण, विरामीलाई अस्पतालसम्म लैजान यातायातको समन्वय, वेड तथा भेन्टिलेटरको व्यवस्था, खाद्यान्न सामग्रीको वितरण तथा खाना खुवाउने प्रवन्ध, जनचेतना विस्तारमा निजी क्षेत्र खटिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment