Comments Add Comment

स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेको विरोधमा विराटनगरमा प्रदर्शन

१९ जेठ, विराटनगर । कोशी अस्पतालबाट डिउटी सकेर घर फर्कंदै गरेका स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेको छ । मंगलबार राति साढे ९ बजे अस्पतालबाट घर फर्कंदै गर्दा सिनियर अहेब अशोक राजवंशीलाई प्रहरीले कुटपिट गरेको हो ।

मोटरसाइलमा घर जाँदै गर्दा विराटनगरको देवकोटा चोकमा डिउटीमा रहेका दुईजना प्रहरीले कुटपिट गरेको उनले बताए । ‘परिचय पत्र भिरेर डिउटीबाट घरजाँदा प्रहरीले बाटोमा रोक्नुभयो,’ उनले भने, ‘स्वास्थ्यकर्मी हुँ भन्दाभन्दै दुईजना प्रहरीले कुटपिट गरे ।’ कुटपिटका कारण राजवंशीको खुट्टा र घोडामा निलडाम छ ।

प्रहरीको कुटपिटमा परेका सिनियर अहेब अशोक राजवंशी

स्वास्थ्यकर्मीको प्रदर्शन

सहकर्मी कुटिएको विरोधमा विराटनगरमा स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् । बुधबार कोशी अस्पताल विराटनगर परिसरमा प्लेकार्डसहित कुटपिटको विरोधमा प्रदर्शन गरेका हुन् ।

नेपाल चिकित्सक संघ कोशीको अगुवाइमा प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न माग गरे । यस्तै नेपाल चिकित्सक संघ कोशीका अध्यक्ष डा. फरवार्ड सिलवालले महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी प्रहरीबाटै कुटिनु दुःखद भएको बताए ।

स्वास्थ्यकर्मी कुटिएको विषयमा प्रहरीले छानबिन गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । ‘निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरी खटिएका छन्, स्वास्थ्यकर्मीमाथि हातपात भएको विषयमा हामी छानबिन गर्छौं,’ उनले भने, ‘महामारीमा स्वास्थ्यकर्मीको भूमिका उच्च छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment