Comments Add Comment

मानव बेचविखनमा संलग्न रहेको अरोपमा वीरगञ्जबाट दुईजना पक्राउ

२१ जेठ, वीरगञ्ज । मानव बेचविखनको आरोपमा वीरगञ्जबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भारत बेतिया घर भएका २६ वर्षीय असगर सैफी र तनहुँको दमौली नगरपालिका– ५ बस्ने २६ वर्षीया सकिना खातुन भन्‍ने सीता थापा क्षेत्री पक्राउ परेका हुन् । उनीहरु श्रीमान श्रीमती हुन् ।

दुईजना युवतीलाई भारत लगेर बेच्न खोजेको  उनीहमाथि लागेको छ । बेचबिखनको जोखिममा परेका दमौली घर भएका २० र २२ वर्षीया दुईजना चेलीको वीरगञ्जबाट उद्दार पनि गरिएको छ ।

उनीहरु विरुद्ध मानव बेचविखन विरुद्धको मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार गोरखा माईती र घर तनहुँ भएकी २२ वर्षीया महिलाको श्रीमान विदेशमा छन् । उनको दुई वर्षको छोरा छ । उनीहरुलाई नेपालगञ्जमा एक घण्टा पुजाका लागि कन्या चाहिएको र पुजामा बसे बापत ५०÷५० हजार रुपैयाँ दिने भनी प्रलोभनमा पारिएको खनालले बताए ।

‘परिवारलाई जानकारी नै नदिइ नेपालगञ्ज हिँडेका उनीहरुलाई पहिला वीरगञ्ज गइ पैसा लिएर नेपालगञ्ज जाने भनिएको रहेछ । ’ प्रहरी नायब उपरीक्षक खनालले भने, ‘तनहुँबाट टिपरमा चढाएर १७ गते वीरगञ्जमा ल्याइ बसपार्कको एक होटलमा उनीहरु बास बसेका थिए । त्यसपछि उनीहरुलाई पैसाका लागि बेतिया जानुपर्ने भयो भन्दै सीमा क्षेत्रमा पुर्‍याइएको रहेछ ।’

बिहीबार बिहानै बोर्डर नजिकैबाट उनीहरुलाई उद्दार गर्न सफल भएको प्रहरी नायब उपरीक्षक खनालले बताए । ‘ बोर्डरमा पुगेपछि उनीहरुले तराईमूलका मात्रै मानिसहरु देखेछन्, रिचार्ज किन्ने बहाना बनाएर एउटा पसलमा गई बेतिया भन्ने ठाउँ कहाँ हो ? भनी सोधेछन् ।’ उनले भने ‘ बेतिया त भारतमा पर्छ भन्ने जानकारी पसलबाट पाएपछि उनीहरुले आफूहरु जोखिममा परेको थाहा पाएका रहेछन् ।’

श्रीमान श्रीमती मिलेर पुजा गर्ने बहानामा भारतमा लगेर उनीहरुलाई बेच्न खोजेको अनुसन्धानबाट खुलेपछि उनीहरुविरुद्ध मानव बेचविखनको मुद्धा दर्ता गराईएको आफन्त नेपाल वीरगञ्जकी संयोजक मनु रानाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment