Comments Add Comment

‘उपप्रधानमन्त्री महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीको जवाफ चाहिन्छ’

२२ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग्ने निर्णय गरेको छ ।

शनिबार भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटी बैठकले नवनियुक्त उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता महतोले दिएको अभिव्यक्तिको प्रधानमन्त्रीसँग जवाफ माग्ने निर्णय गरेको हो । ‘बहुल राष्ट्रिय राज्य बनाउने मुक्ति आन्दोलन शुरु गर्छु भन्ने अभिव्यक्ति संविधानको धारा ३ विपरीत छ । यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ,’ स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने ।

शुक्रबार शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै उप्रप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्य निर्माणको मुक्ति आन्दोलन चलाउने बताएका थिए ।

महतोको यो अभिव्यक्ति राष्ट्रिय अखण्डता विरोधी भएको निष्कर्ष नेपाल समूहको बैठकले निकालेको छ ।

माधव समूहका १८ जनसंगठनले पनि संयुक्त वक्तव्य जारी गरेर महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । वक्तव्यमा महतोले संविधान विरोधी अभिव्यक्ति दिंदा पनि प्रधानमन्त्री ओलीको मौनता र अनभिज्ञताप्रति आश्चर्य समेत प्रकट गरिएको छ ।

‘हामीलाई विश्वास थियो, प्रधानमन्त्री ओली आफ्नो संविधानको मूल्य र संविधानप्रतिको आफ्ना पूर्व अडानहरुबाट विचलित र च्यूत हुनुभएको छैन । तर यो मौनता र अनभिज्ञताले हाम्रो विश्वासलाई खण्डित गरिरहेको छ,’ वक्तव्यमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment