Comments Add Comment

थोरै भएको भन्दै गोरखाका स्थानीय तहले लैजान मानेनन् कोरोना खोप

२५ जेठ, गोरखा । ६० देखि ६४ वर्ष उमेर समूहका लागि देशभर मंगलबारदेखि कोरोना भाइरसको खोप अभियान सुरु भए पनि गोरखाको एउटा स्थानीय तहमा मात्र खोप कार्यक्रम सञ्चालन भएको छ । जिल्लाका अधिकांश स्थानीय तहले मागको आधारमा ज्यादै कम मात्र खोप दिइएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयबाट खोप बुझ्नै अस्वीकार गरेका छन् ।

संकलित तथ्यांकको ५० प्रतिशतलाई पुग्ने खोप पनि उपलब्ध नभएको उनीहरुको गुनासो छ । गोरखा नगरपालिकाले सोमबार सूचना जारी गर्दै खोपको मात्रा अपुग हुने भएकाले अभियान सञ्चालन गर्न नसकिएको जनाएको छ ।

६० देखि ६४ वर्षका करिब २ हजार २०० जना रहेकोमा जिल्ला स्वास्थ्य कार्यालयले जम्मा ६७८ डोज मात्र दिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए । ‘खोपको मात्रा नै कम आयो, कसलाई लगाउने कसलाई नलगाउने भयो,’ उनले भने, ‘६४ वर्ष उमेर समूहबाट शुरु गर्ने भनेर परिपत्र आएको छ, त्यसको लागि पनि अध्यावधिक विवरण संकलन गर्न केही दिन लाग्छ ।’

१ हजार १७८ डोज खोप आवश्यक पर्ने भीमसेन थापा गाउँपालिकाका लागि २७८ डोज मात्र छुट्याइएको छ । लक्षित समूहको एक तिहाइलाई पनि खोप नपुग्ने भएपछि अभियान चलाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख भेषराज खनाल बताउँछन् ।

‘अभियान सञ्चालन गरेपछि नाम टिपेका सबै मान्छे खोप लगाउन आउँछन्, कसलाई दिने कसलाई नदिने, अहिले ६४ वर्षकालाई मात्र दिने भने पनि अरु रिसाउँछन्, समस्या छ,’ उनले भने ।

करिब ३ हजार ९०० जनाको नाम संकलन भएको पालुङटार नगरपालिकाका लागि ४८० डोज मात्र खोप उपलब्ध गराउने भनिएको छ । मात्रा कम भएका कारण समस्या हुने भन्दै खोप नलिएको पालुङटार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद अधिकारीले बताए । ‘सबैको नाम टिपेर ल्याएका छौं, अहिले सबैलाई खोप चाहिएको छ, त्यति खोप कसलाई दिने कसलाई नदिने, त्यही भएर खोप लिन नमानेका हौं,’ उनले भने ।

सिरानचोक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठका अनुसार गाउँपालिकाका लागि ३१० डोज खोप मात्र छुट्याइएको छ । तर संकलित तथ्यांक अनुसार १ हजार ७५९ जनालाई खोप लगाउनुपर्नेछ ।

‘अहिले एउटा वडामा मात्र सञ्चालन गरौं भने पनि अन्य वडाका अध्यक्षहरु रिसाउँछन्, फेरि अहिले ३१० जनालाई खोप दिएर पछि बाँकी खोप आएन भने अरुलाई के जवाफ दिने, साह्रै समस्यामा परिएको छ,’ श्रेष्ठले भने ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार मंगबार शहीद लखन गाउँपालिकामा मात्र खोप अभियान सञ्चालन भएको छ । ‘सबै ठाउँमा आजैबाट शुरु गर्नुपर्ने हो,’ कार्यालयका कोल्ड चेन निरीक्षक ऋषिराम खत्रीले भने, ‘तर एउटा पालिकामा मात्र चलेको छ, बारपाक सुलीकोट, अजिरकोट र धार्चे गाउँपालिका खोप लिन आउँछु भने पनि अरु पालिकाले केही जानकारी गराएका छैनन् ।’

जिल्लामा कुल ३ हजार ४६१ डोज खोप उपलब्ध भएको उनले जानकारी दिए । जिल्लामा ६० देखि ६४ वर्ष उमेर समूहका जनसंख्या भने ६ हजार ९७२ रहेको उनको भनाइ छ । ‘अहिले भेरोसेल खोप दिने हो, पछि यो आउँछ वा आउँदैन भन्ने यकिन छैन त्यसैले अहिले पहिलो डोज लगाएकाहरुका लागि दोस्रो डोज पनि सुरक्षित राखिएको छ,’ उनले भने ।

अपुग खोप प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत केन्द्र सरकारसँग माग गरिएको उनले बताए । उनका अनुसार चीनसँग सीमा जोडिएको चुमनुब्री गाउँपालिकाका ५५ वर्षमाथिका नागरिकले यसअघि नै खोप पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment