Comments Add Comment

भारी वर्षाले पर्साका विभिन्न स्थानमा डुबान र कटान

१६ असार, वीरगञ्ज । गएरातिको भारी वर्षाले पर्साका विभिन्न स्थान डुबानमा परेका छन् । वर्षाको पानीको निकास नहुँदा जिल्लाका विभिन्न स्थानमा घरखेत डुबानमा पर्नुका साथै नदीले जमिन कटान समेत गरेको छ ।

पर्साको जिराभवानी गाउँपालिका–१ पिपरामा स्थानीयवासीका दर्जनौं घर डुबानमा परेका छन् । वर्षाका कारण लाटेगाँडा खोलामा आएको बाढी गाउँमा पस्दा स्थानीय राजकुमार दास, किसुन महतो, खिचडी महतो, ब्रहमदेव, दास, सनोज दास, शिव शंकर दास, जंगली राय र महेन्द्र शर्मा लगायत १६ जनाको फुसको घर भत्किएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवट्टीको टोलीले स्थानीयको मालसामान ट्याक्टरमा लोड गरेर सुरक्षित स्थानमा सारेका छन् । उनीहरुका लागि राहत सहयोग आवश्यक देखिएको सामाजिक अभियन्ता प्रकाश थारुले बताए ।

यसैगरी वीरगञ्ज महानगरपालिका–३० को कठाहा नदीमा आएको बाढीले धानखेतीमा क्षति पुर्‍याएको छ । पाक्न शुरु गरेको चैते धानमा बाढीको पानी पसेर क्षति पुगेको स्थानीयले बताएका छन् । कठाहा नदीमा बनाएको माटोको बाँध नदीमा आएको बाढीले बगाएपछि पानी खेततिर पसेको हो ।

बाढीले डुबान र कटान गर्दा जिल्लामा सबैभन्दा बढी ठोरी गाउँपालिका प्रभावित भएको छ । ठोरी–३ को ब्रम्हानगर र नयाँबस्तीमा हुलाकी सडकबाट उत्तरतर्फ रहेका अधिकांश घर डुबानमा परेको वडाध्यक्ष सूर्यबहादुर लामाले जानकारी दिए ।

हुलाकी सडक र सडकको किनारको नाला अग्लो भएका कारण सहजै पानीको निकास नहुँदा प्रायःजसो घरमा पानी पसेको लामाले बताए । ठोरीकै वडा नम्बर ४ को निर्मलबस्ती, आठघरे, मिलचोक, शान्तिटोल, सुन्दरटोल, विजयबस्ती, विशालचोक, ट्यांग्रेलाइन लगायतका स्थानमा अधिकांश घर डुबानमा परेका छन् ।

लगातारको वर्षापछि ओरिया खोलामा आएको बाढीले ठोरीको गोपीबस्तीमा हुलाकी सडकमा क्षति पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment