Comments Add Comment

चितवनमा बाढी पहिरो : पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, भरतपुरमा डुवान

१७, असार, चितवन । अविरल वर्षासँगै आएको बाढी पहिरोले चितवनमा राजमार्ग अवरुद्ध हुनुका साथै पुल भत्किएका छन् । भरतपुरका  केही बस्ती डुबानमा परेका छन् ।

नारायणगढ-मुग्लिन सडकखण्डमा गएको पहिरोले पूर्वपश्चिम राजमार्ग दुइतर्फी रुपमै अवरुद्ध भएको छ । सडक खुलाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान २ : १० बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (एसपी) सूर्यबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार सडकको चारकिलो र पाँचकिलो भन्ने स्थानमा पहिरो झरेको र त्यसलाई पन्छाउने काम सकिन लागेको उनको भनाइ छ । पानी पर्न छोडेपछि सडक खुलाउन सकिने उनले बताए ।

पहिरो खसेको ठाउँ चितवनको इच्छाकामना गाउँपालिका-६ मा पर्दछ । सो सडकखण्ड बन्द हुँदा भरतपुर आउने र काठमाडौं पोखरा जाने सवारी साधनसमेत रोकिएका छन् ।

यस्तै लगातारको वर्षासँगै आएको बाढीले पूर्वी चितवनको लदरा खोलाको पुल भत्किएको छ । खैरहनी नगरपालिका-२ मा रहेको पुलको एक खण्ड भत्किएको हो ।

खैरहनी-२ लदरा खोलामा अघिल्लो वर्ष एक करोड ९५ लाखको लागतमा जीएमआर कन्स्ट्रक्सन प्रालि भरतपुरले पुल निर्माण गरेको थियो । यो पुलबाट खैरहनी-२, ३ र ४ का स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुँदै आएका थिए ।

लदरा, चात्रा खोला बढेका छन् । खैरहनी नगरपालिकाको सिमलटाँडी, चैनपुरलगायतका क्षेत्र डुवानमा परेका छन् । भरखरै रोपाइँ भएका खेतहरु डुबानमा परेका छन् ।

अविरल वर्षाकै कारण चितवनको रत्ननगर-३ स्थित शान्तिचोकमा कयर खोलाको पानी पूर्वपश्चिम राजमार्गबाट बगेको छ । कयर खोलामा बाढी आउँदा खोलाको पानी राजमार्गबाट बगेको हो । कयर खोलामा बाढी आउँदा पानीले स्थानीयवासीको घरसमेत डुबाएको छ ।

लगातार परेको पानीले भरतपुर महानगरपालिकाकाका केही वडा जलमग्न भएर डुबेका छन् । भरतपुर महानगरपालिका वडा नं. ११, १२, ७, ८, २८ लगायतका वडा डुबेका छन् ।

बर्सेनि महानगरपालिकाका यी वडा डुवानमा पर्दै आएका छन् । महानगरपालिकाले नालीविनाको सडक बनाउँदा वडा डुबानमा पर्दै आएका छन् । जिल्लाका सरकारी कार्यालयहरुसमेत बर्सेनी डुबानमा पर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment