Comments Add Comment

सडक बनाइन्छ, ‘सुरक्षित’ बनाइँदैन

सडक सञ्जाल बढाउन जोडबल, प्राथमिकता छैन सडकको सुरक्षा

मुग्लिन-नारायणगढ सडकमाथि खसेको पहिरो । फाइल तस्वीर

२१ असार, काठमाडौं । वर्षायाम लागेदेखि नै देशका विभिन्न भेगका कच्ची सडकहरु पटक-पटक अवरुद्ध हुनु स्वाभाविक हो । तर, पछिल्ला वर्षमा मुख्य राजमार्गहरु नै वर्षायाममा बाढी र पहिरोबाट घण्टौं अवरुद्ध हुने क्रम बढेको छ ।

सडक पक्की बनाउन ध्यान दिने सरकारले सडकको सुरक्षा र प्रवलीकरणमा पटक्कै चासो नदिँदा सडकमार्गहरु सवारी र यात्रुका लागि ‘मृत्युमार्ग’जस्तै बनिरहेका छन् । सडकलाई सुरक्षित बनाउने सहायक संरचना तयार गर्नुभन्दा सडक सञ्जालको लम्बाइ बढाउँदा बढी राजनीतिक लाभ प्राप्त हुने भएकाले पनि सरकारको प्राथमिकतामा सुरक्षा नपरेको विज्ञहरु बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भाषणमा दोहोर्‍याइरहन्छन्, ‘पहिले दैनिक एक किलोमिटर सडक पिच हुँदैनथियो, अहिले साढे ६ किलोमिटर सडक पिच हुन्छ ।’ तर, प्रधानमन्त्रीले ओलीले सडकको सुरक्षा र गुणस्तरबारे कतै बोलेको सुनिँदैन ।

यो पनि पढ्नुहोस बन्नासाथै भत्किन्छन् करोडौं लगानीका सडक

पछिल्ला समयमा सरकारले कालोपत्रे सडकको तथ्यांक बढाउँदै लगेको छ, त्यो भन्दा ठूलो दरमा सडकको गुणस्तर र सडक सुरक्षासम्बद्ध समस्या बढ्दै गएको देखिन्छ । अहिले देशभरका धेरै राजमार्ग, प्रादेशिक मार्ग र स्थानीय सडकहरुमा सवारी चल्न सकेका छैनन् । काठमाडौं जोड्ने भरतपुर-मुग्लिन सडकखण्डदेखि पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो खसेर पटक-पटक अवरोध भइरहेको छ ।

लिपिङमा पहिरो खसेपछि असार २ गतेदेखि तातोपानी नाका जाड्ने सडक सञ्चालन हुन सकेको छैन । मनाङ जोड्ने सडक, पासाङल्हामु राजमार्ग र कान्ति राजपथ पनि अवरुद्ध छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपालका अनुसार वैशाखयता मात्रै १८ वटा निर्माण सकिएका र निर्माणाधीन पुलहरु भत्किएका छन् ।

बाढी पहिरोले पूर्वपश्चिम राजमार्गसहित मध्यपहाडी लोकमार्ग, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजपथ, मदनभडारी राजमार्ग जस्ता पहाडी सडकहरुमा पटक-पटक अवरोध पुर्‍याइरहेको छ । वषर्ायाम भर्खरै सुरु भएकालेे सडकमा हुने क्षतिको आँकडा बढ्ने अनुमान छ ।

नेपालमा राजमार्गमा खाल्डा टाल्ने कामका लागि हरेक वर्ष ठूलो बजेट खर्च हुन्छ । तर, सडकमाथिका भित्ता र तलका कान्लामा समस्या नपरेसम्म फर्केर पनि हेर्ने गरिएको छैन । पुराना राजमार्गका तलमाथिका भित्ताहरु जीर्ण हुँदै जाँदा पनि त्यसलाई बलियो बनाउने गरी अहिलेसम्म ठोस प्रयासहरु भएका छैनन् । प्राकृतिक प्रकोपबाट मात्रै हैन, सवारी दुर्घटनाबाट जोगाउन आवश्यक पर्खाल, साइनबोर्ड, तारबार, संकेत चिह्नहरु नराख्दा पनि सडक असुरक्षित बनेको छ ।

तनहुँ व्यासनगरपालिका–१२ स्थित पृथ्वीराजमार्ग

सडक सुरक्षालाई महत्व नदिइँदा नगरिँदा वर्षैपिच्छे बाढी र पहिरोको चपेटामा अर्बौं लगानीका सडकहरु बग्ने र भत्किने गरेका छन् । सडकको सुरक्षातर्फ ध्यान नदिँदा धेरै व्यक्तिले दुर्घटनाबाट ज्यान गुमाउने गरेका छन् ।

सडक अवरुद्ध हुँदा हुने आर्थिक नोक्सानीको हिसाब नै गरिँदैन । काठमाडौंको लाइफलाइन सडकहरु नै पहिरोबाट ग्रसित छन्, जसले यात्रुलाई घण्टौं जाममा बस्न बाध्य मात्रै बनाउँदैन, कृषिजन्य तथा खाद्य समाग्री बाटैमा कुहिने अवस्था समेत आउँछ ।

२०३१ सालमा खुलेको पृथ्वी राजमार्ग २०४८ सालमा आवधिक मर्मत गर्दा भित्तातर्फ सुधारको काम भएनन् । सवारीको अत्याधिक चाप झेलिरहेको पूर्व-पश्चिम राजमार्ग ०४२ सालमा बनेपछि भत्किँदा टाल्नेबाहेक यो राजमार्गको पुनर्निर्माण (रिह्याब) भएको छैन ।

कतिपय खण्ड भत्किँदा मर्मत गरिए पनि सरकारले राजमार्गको पुनर्निर्माणमा चासो दिएको छैन । अब चार लेनमा सडक विस्तार गर्दा पनि राजमार्गका दयाँ-बायाँ प्रकोपबाट हुने जोखिम घटाउने गरी बलिया पूर्वाधार बनाउनेतर्फ खासै योजना बनेका छैनन् ।

विज्ञका अनुसार राजमार्गहरुलाई खाल्डामुक्त र सुरक्षित बनाउने हो भने निश्चित समयको अन्तरालमा पुनर्निर्माणको काम गर्नु अनिवार्य हुन्छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रत्येक राजमार्गलाई ७ देखि १० वर्षमा पुनर्निर्माण गर्नुपर्छ ।

तर, नेपालमा अहिलेसम्म नयाँ सडक बनाउनु नै प्राथमिकतामा रहेकाले यस्तो महत्वपूर्ण विषयलाई ध्यान दिन नपाइएको बताउँछन् सडक विभागका अधिकारीहरु । यसैकारण वर्षामा सडकहरुमा हुने क्षतिको दर पनि हरेक वर्ष बढ्दै जान थालेको छ ।

राजमार्गहरुमा पछिल्ला वर्षहरुमा बाढी र पहिरोले विगतकोभन्दा ठूलो क्षति पुर्‍याएको छ । विभागका प्रवक्ता नयाँ-नयाँ ठाउँमा प्रकोपबाट बढी क्षति भइरहेको बताउँछन् ।
विभागका अनुसार वर्षाको समयमा मात्रै हैन, हिउँदमा पनि सडकहरुमा सुख्खा पहिरो खस्ने समस्या छ ।

प्राथमिकतामा छैन सुरक्षा

विज्ञहरुका अनुसार मर्मतका नाममा सडकमा वर्षौंदेखि राजमार्गमा पिचमाथि पिच थप्ने काम हुँदै आएको छ । तर, सडकलाई बाढी र पहिरोजस्ता जोखिमबाट जोगाउन भने पर्याप्त बजेट विनियोजन नै गरिँदैन ।

तनहुँको दमौलीमा खसेको पहिरो निरीक्षण गर्दै जनप्रतिनिधिसहितको टोली ।

राजमार्गको खाल्डा टाल्न समेत बजेट अभाव भएको बताउने विभागले नभत्किई र नबिगि्रई सडकका दयाँबायाँ नयाँ पर्खाल लगाले काम अपवाद हो । राजमार्गहरुमा माथिबाट पहिरो खस्ने, सडकमै भासिने लगायतका समस्या यसै कारण बढ्दै गएको विज्ञहरुको भनाइ छ ।

विगतमा बनेका संरचना जीर्ण भएकाले अब मर्मतका लागि विशेष योजना नै आवश्यक भएको सडक विभागका अधिकारीहरु नै बताउँछन् ।

सडकको आडैमा बगिरहेका र सडकबाट ‘क्रस हुने नदी, खोला र खोल्सा र नालामा पानी नियन्त्रणको काम पनि योजना बनाएर हुने गरेको छैन । वषर्ामा ठूलो भेल आउँदा त्यसले पुल र कल्भर्टमा सीधै क्षति पुर्‍याउने गरेको छ ।

बिगि्रएपछि मात्रै बनाउने र निर्माणका क्रममा भविष्यमा समस्या आउँछ भनेर सोच्दै नसोच्ने प्रवृत्तिका कारण सडकहरुमा यसखालका समस्या आउने गरेको बताउँछन् पूर्वाधारविद् सूर्यराज आचार्य ।

‘नेपालको चुरे र महाभारत पर्वत जस्ता संवेदनशील भूबनोटमा बन्ने सडकमा समस्या रहनु स्वभाविक हो, तर हामी समस्या आउन नदिन पूर्वसावधानी र तयारी गर्ने पक्षमा काम नै गर्दैनौं’ उनी भन्छन्, ‘ट्रयाक खोलेर साधारण पर्खाल लगाउने र ग्राभेलमाथि पिच हालेपछि हात बाँधेर बस्ने प्रवृत्तिले नै समस्या बढाइरहेको छ ।’

सडक खन्दा र बनाउँदा खल्बलिएका भागलाई स्थिर बनाउन वैज्ञानिक प्रविधि प्रयोग गर्ने प्रयत्न नै नहुने समस्या पनि देखेका छन् विज्ञ आचार्यले । तोकिएको भारभन्दा गह्रुङ्गा मालसामान बोकेर गाडीहरु गुड्दा हुने कम्पनले राजमार्गका पर्खाल लगायतका संरचना कमजोर बनेका हुन्छन् । तर, त्यसलाई समय-समयमा जाँच गरेर बलियो बनाउने गरी काम हुन नसकेको विज्ञहरुको भनाइ छ ।

नेपालका राष्ट्रिय राजमार्ग बनाउँदा भू-गर्भको अध्ययन गरेर सडकको माथि र मुनिका ‘स्लोभ’ भागलाई मजबुत राख्न ठोस योजना नबन्नु दुःखद भएको बताउँछन् पूर्वाधार विद आचार्य ।

‘सडक निर्माणको काममा लापरवाही हुन्छ, राष्ट्रिय राजमार्गहरुको डिजाइनको मापदण्ड नै बाढी र पहिरोबाट जोगाउने खालको छैन, भएका कतिपय मापदण्ड पनि मिचेर लापरवाहीपूर्वक सडक बनाइन्छ,’ उनी भन्छन्, ‘हाम्रो जस्तो भू-बनोट र मौसम भएको मुलुकमा हाइड्रोलोजिकल र जिओलोजिकल अध्ययन तथा इन्जिनिरिङबिना बन्ने सडकहरुमा कालान्तरमा आउने समस्या यस्तै त हुन् ।’

सडक विभागका पूर्वा सिनियर डिभिजन इन्जिनियर राजेन्द्र शर्मा अयोग्य क्षेत्रको पहिचान गरेर मात्रै सडक बनाउन सके समस्या कम हुने बताउँछन् । ‘प्रकोपबाट प्रभावित हुनसक्ने क्षेत्रबाट सडक नलैजाने हो भने यो समस्या धेरै कम हुन्छ,’ उनले भने, ‘यसका लागि त पर्याप्त अध्ययन अनुसन्धान नै हुनुपर्छ ।’

पृथ्वी राजमार्गको धादिङ खण्डमा पर्ने तिकराङ

शर्माका अनुसार अहिलेसम्म सडक बनाउँदा भूगर्भशास्त्री र भूगर्भप्रविधि इन्जिनियरको सल्लाह लिने प्रचलन बसेको छैन । बजेटको अभावका कारण यसतर्फ ध्यान दिन सरकार चुकिरहेको उनी बताउँछन् । ‘खर्चिलो हुन्छ भनेर सडकको सुरक्षातर्फ खासै ध्यान दिइँदैन,’ उनले भने, ‘तर, त्यसको महँगो मूल्य भने राज्यले पटक-पटक चुकाइरहनुपर्छ ।’

सडक संरचनालाई स्थिर र बलियो राख्न आवश्यक थप संरचनाहरु बनाउन आवश्यक रहेको उनको मत छ । बीपी राजमार्गमा जापानले प्रयोग गरेका प्रविधिलाई पछ्याउने हो भने पनि सडकमा बाढी र पहिरोबाट हुने ठूलो क्षति कम गर्न सकिने शर्मा बताउँछन् ।

मुग्लिन-नारायणगढ सडक खण्डमा पनि सडकमाथिबाट पहरो र्झन नदिने प्रविधि प्रयोग गरिएको छ । तर, त्यसले अझै गतिलो नतिजा दिन सकेको छैन ।

अन्य राजमार्गमा त्यस्ता वैज्ञानिक प्रविधिको प्रयोग भएको छैन । तर, अत्यावश्यक देखिएका स्थानमा मात्रै पहिरो रोक्न काम गर्दा नयाँ-नयाँ ठाउँमा प्रकोपको असर देखिने गरेको छ ।

यसैपनि धेरैजसो सडक र राजमार्गहरुको अवस्था गतिलो छैन । कालोपत्रे गर्नासाथ उप्किने, लगाएको पर्खाल ढलिहाल्ने, पुलहरुमा समस्या आइहाल्ने, सडकमा ढिस्को उठ्ने लगायत समस्याहरुको दोष नागरिकले सरकारमाथि लगाउँछन् र सरकारले ठेकेदारमाथि । अनि, ठेकेदार सरकारलाई नै दोष दिएर उम्किन्छन् ।

यसरी एक-अर्कालाई हिलो छ्याप्ने गरिए पनि यसको मूल कारण भने सडकको पुनर्निर्माण नगर्नु नै भएको बताउँछन् पूर्वयातायात सचिव तुलसीप्रसाद सिटौला । ‘राजमार्गहरु मात्रै हैन, शहरी सडकको हाल पनि उही हो । पुराना सडकलाई पुनर्निर्माण (रिह्याब) नगरेसम्म समस्या बल्झिरहन्छ,’ उनी भन्छन् ।

विज्ञहरुका अनुसार कालोपत्रे नटिक्ने र पहिरो खसिरहने समस्याले सडकको कन्तबिजोग हुँदा दुर्घटनाको जोखिम बढ्दो छ । अहिले सडक मर्मत गर्दा पर्खाल लगायतका सहायक संरचनातर्फ आँखा नलगाउने प्रवृत्ति छ ।

यसैकारण विस्तार र स्तरीकरणको नाममा कालोपत्रे गरिएकै सडकहरु सुरक्षाका हिसावबाट कमजोर बन्दैछन्, जसले करोडौं लगानी खेर जाने जोखिम बढ्दो क्रममा छ ।
सडक विभागका प्रवक्ता नेपाल नेपालमा सडक बनाउने सुरुआती चरणकै प्रक्रियामा समस्या देख्छन् । सडक विभागले प्राविधिक रुपमा योग्य एलाइनमेन्ट छनोट गरेर ‘भर्जिन ल्यान्ड’मा बिरलै सडक बनाउन पाएको उनको भनाइ छ ।

‘स्थानीयबासी, स्थानीय तह र अन्य निकायले ट्रयाक खोलिसकेका सडकमा हामी स्तरोन्नति गर्न र पक्की बनाउन पुग्छौं, हाम्रा प्राविधिकले नै सर्भे गरेको सडक भए पनि न्युन बजेटमा काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘भूप्राविधिक रुपमा अनपयुक्त देखिए पनि लगानी भइसकेको सडकको एलाइनमेन्ट परिवर्तन गर्न सहज हुँदैन, त्यसमाथि नयाँ रुटमा जाँदा जग्गा पाइने सम्भावना पनि हुँदैन ।’

विभागका अनुसार यसरी बनेका सडकहरुबाट पनि मनलाग्दी शाखा सडकहरु खोल्ने क्रम बढेको छ । यसले पनि राजमार्ग र सडकहरुमा जोखिमलाई बढाइरहेको प्रवक्ता नेपाल बताउँछन् ।

‘स्थानीय तहसँग आफ्नै डोजरहरु छन्, जहाँ मन लाग्यो त्यहींबाट जथाभावी शाखा सडक निकाल्दा राजमार्गहरुमा जोखिम बढ्दो छ,’ नेपाल भन्छन्, ‘यस्तो कामलाई रोक्न पहल गरेपनि सम्भव भएको छैन ।’

अहिले विभागले आकस्मिक अवस्थामा आउनसक्ने आकलन गरेर बनाएको योजनाअनुसार मात्रै सडक सुरक्षाको व्यवस्थापन गरिरहेको उनी बताउँछन् । त्यसअनुसार विगतमा समस्या आएका क्षेत्र वरपर वषर्ा लागेपछि मेसिन र अपरेटर लगेर राख्ने र बाढी पहिरो आएमा तुरुन्तै काममा खटिने योजना विभागले बनाएको हुन्छ ।

त्यसैगरी पहिले बाढी र पहिरोले दुःख दिएका स्थानमा पनि रोकथामको प्रयत्न हुन्छ । तर, आर्थिक स्रोतको अभावमा यो काम पनि प्रभावकारी ढंगले हुन पाउँदैन ।

विभागका अधिकारीहरुका अनुसार अहिलेसम्म सडक पक्की बनाउने र नयाँ-नयाँ सडक तयार गरेर सञ्जालको लम्बाइ बढाउने कुरा नै अहिलेसम्म मुख्य प्राथमिकतामा छ । त्यसैकारण सडक सुरक्षाको सवाल ओझेलमा परेको उनीहरु बताउँछन् ।

‘महत्वपूर्ण लगानी गर्दा पनि सडक सुरक्षाका सवालमा काम गर्न हाम्रो क्षमता पुगेको छैन, यस सम्बन्धी पर्याप्त जनशक्ति, पर्याप्त ज्ञान, सिप, तालिम र प्रविधिको अभाव विभागदेखि ठेकदारसम्मलाई छ,’ विभागका प्रवक्ता नेपाल भन्छन्, ‘हामी सडक सुरक्षाको सवालमा सुरुआती चरणमा छौं, अब विस्तारै सडक, सवारी र यात्रुको सुरक्षाले पनि महत्व पाउनुपर्छ ।’

समाधान के ?

विज्ञहरु यस्तो समस्या समाधान गर्न अन्य देशमा भएका अभ्यासहरुलाई आत्मसात गर्नुपर्ने सुझाव दिन्छन् । जापान लगायतका मुलुकले यस्ता सडकमा जाने पहिरोहरु रोक्न बायोइन्जिनियरिङ (साबो टेक्नोलोजी)को ब्यापक अभ्यास गर्ने गरेका छन् ।

बीपी राजमार्ग

बाँस, बाबियो लगायतका घाँस तथा बुट्यानहरु रोपेर पहिरो रोक्ने प्रयास पृथ्वी राजमार्गको कृष्णभिरमा सफल भएको थियो । यस्तो अभ्यास गर्न ठूलो बजेट पनि नचाहिने र त्यसले प्राकृतिक रुपमा नै सडकलाई संरक्षण गर्न सकिन्छ । तर, यसमा सडक विभागको यथेष्ट ध्यान गएको छैन ।

त्यसैगरी सडकमाथिका भिरालो भागमा ग्राउटिङ (क्रंक्रिटिङ) गरेर पनि पहिरो रोक्न सकिन्छ । मुग्लिन-नारायणगढ खण्डका केही ठाउँमा त्यस्ता प्रयास भएका छन् । त्यसलाई अरु राजमार्गमा विस्तार गरेर पुराना र जोखियुक्त बनेका पर्खालहरुलाई विस्थापित गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।

जोखिमयुक्त स्थानको भूगर्भको अध्ययन गरेर सडकलाई संरक्षण गर्न सकेमा ठूलो क्षति नहुने बताउँछन् पूर्वाधारविद आचार्य ।

‘सडकको डीपीआर बनाउँदा र ठेक्का लगाएर काम गर्दा नै कालोपत्रै मात्रै हैन, सडकमा दायाँबायाँका भागलाई सुरक्षित राख्ने विषयलाई उत्तिकै प्राथमिकता दिनुपर्छ,’ उनी भन्छन्, ‘सडक भनेको पिच भएको भागमात्रै हैन, सडकमा गुड्ने, सवारी र यात्रा गर्ने यात्रुको सुरक्षाको प्रत्याभूति गर्ने सबै संरचनाको एकीकृत स्वरुप हो । त्यस्तो मर्मलाई ख्याल राख्नुपर्छ ।’

त्यसैगरी वर्षा अगावै सडकमा पर्ने सक्ने बाढी र पहिरोको जोखिमलाई मूल्यांकन गरेर समय-समयमा मर्मतको काम हुनुपर्ने उनी बताउँछन् । सडक विभागका पूर्व सिनियर डिभिजन इन्जिनियर शर्मा भूगर्भसँगै आउनसक्ने बाढी र पहिरोको पूर्वानुमानमा आधारित भएर सुरक्षात्मक संरचना निर्माण गर्नुपर्ने बताउँछन् ।

‘सडक बनाएर दायाँबायाँ जमीनलाई नाङ्गै छाड्दा पनि प्रकोपका घटना बढेका छन्,’ उनी भन्छन्, ‘रुख विरुवा, पर्खाल, कंक्रिट जे-जे हुन्छ लगाएर भएपनि सडकलाई असर पार्ने भागलाई स्थिर राख्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक बिषयमा कलम चलाउने घिमिरे अनलाइनखबर बिजनेसमा कार्यरत छन् ।

ट्रेन्डिङ

Advertisment