Comments Add Comment

गुल्मीमा ४८ प्रतिशत रोपाइँ सकियो

२७ असार, गुल्मी । गुल्मीमा असार सकिनै लाग्दा ४८ प्रतिशत धान रोपाइँ भएको छ । यस वर्ष पर्याप्त पानी पर्दा समयमै रोपाइँ शुरु भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्राविधिक हरिप्रसाद आचार्यले बताए ।

मानो रोपेर मुरी उब्जाउने भन्दै किसानहरु यतिबेला खेतबारीमा व्यस्त छन् । अघिल्ला वर्षहरुमा समयमै पानी नपर्दा रोपाइँ ढिलो शुरु हुने गर्दथ्यो ।

जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर जमिनमध्ये ९ हजार हेक्टरमा बर्खे धान उत्पादन हुने गर्दछ भने १ हजार हेक्टरमा चैते धान उत्पादन हुने आचार्यले जानकारी दिए । यस वर्ष साउन महिनाभरिमा सबै ठाउँमा रोपाइँ सकिने अनुमान कृषि ज्ञान केन्द्र गुल्मीले गरेको छ ।

धान उत्पादनको पकेट क्षेत्र मानिएको इस्मा गाउँपालिका अम्मरपुर र मालिका गाउँपालिका अर्जेबेसी, सत्यवती र चन्द्रकोट गाउँपालिकाका ठूला फाँटलाई चिनिन्छ । समयर्म पर्याप्त वर्षा भइरहेकाले यस वर्ष धान उत्पादन बढ्ने कृषि ज्ञानकेन्द्रको अनुमान छ ।

गुल्मीमा रामधान, खुमल चार, खुमल ६, खुमल दश, हंसराज, मकवानपुर एक, खमल आठ, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान लगाउने गरिएको आचार्यले बताए ।

जिल्लामा हाल ३ हजार ६२६ हेक्टर जमिनमा वर्षभरि नै सिँचाईको व्यवस्था छ । यस्तै ६ हजार ६९० हेक्टरमा आंशिक सिँचाईको व्यवस्था रहेको छ । गल्मीमा ९ हजार ८०७ क्षेत्रफलमा बर्खे धान र ४४५ हेक्टरमा चैते धान रोपिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment