Comments Add Comment

जापान जान रोकिएकी प्रशिक्षक मल्लको कोरोना रिपोर्ट नेगेटिभ

'मलाई नलैजाने पूर्वयोजना अनुसार काम भयो'

४ साउन काठमाडौं । जापानमा हुने टोकियो ओलम्पिकमा जाने पक्का भएकी प्रशिक्षक इन्द्रकुमारी मल्ल आइतबार कोरोना पोजेटिभ देखिएको भन्दै जापान जानबाट रोकिइन् ।

नेपाल ओलम्पिक कमिटीले उनको ठाउँमा प्रशिक्षक सन्तोष श्रेष्ठलाई जापान पठायो । मल्लले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने सरस्वती चौधरीलाई दैनिक प्रशिक्षण गराउँदै आएकी थिइन् । तर जापान जानुअघि शनिबार कोरोना संक्रमण परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आयो ।

टोकियो २०२० को आयोजकल कमिटीले बनाएको नियम अनुसार १४ दिनअघि एक पटक मात्र कोरोना पोजेटिभ देखिए पनि जापान प्रवेश गर्न पाइने छैन ।

मल्लले आइतबार आफैं कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो । ओलम्पिकमा जानेहरुको कोरोना परिक्षण गरिएकै प्रयोगशाला स्टार हस्पिटलमा उनले परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो ।

मल्लले आफूलाई जापान जानबाट रोक्ने योजनाअनुसार कोरोना रिपोर्ट पोजेटिभ देखाएको बताएकी छन् । ओलम्पिकमा सहभागी हुन जाने सबै जना एउटै होटलमा बस्दै आएकामा आफ्नो मात्र रिपोर्ट पोजेटिभ आउनु रहस्यमय भएको उनले बताइन् ।

‘हामी सबै जना संगै बसेका छौँ । कसैको पोजेटिभ नहुने मेरो मात्र कसरी पोजेटिभ आयो भनेर फेरि परिक्षण गराएको नेगेटिभ आयो’ मल्लले भनिन्, ‘मैले स्टार हस्पिटलसहित ४ ठाउँमा फेरि परीक्षण गराएँ । सबैमा नेगेटिभ आयो ।’

आफू खेलकुदमा लागेको लामो समय भइसकेको र ओलम्पिकमा जाने अवसर आउँदा त्यसबाट वञ्चित गरिएको मल्लले बताइन् । ‘यसको सुरुमै पोजेटिभ देखाएर यसलाई नलैजाने भनेर पूर्वयोजना नै बनाएको जस्तो देखियो । महिला भएकोले मलाई बलिको बोका बनाइयो ।’ उनले यो विषयमा नेपाल ओलम्पिक कमिटीबाट जानकारी माग्ने बताइन् ।

यसबारे बुझ्न प्रयास गर्दा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठसंग सम्पर्क हुन सकेन । अध्यक्ष श्रेष्ठ र महासचिव श्रेष्ठ सहितको टोली जापान जानका लागि त्रिभुवन विमालनस्थल पुगिसकेका छन् र उनीहरु सोमबार नै टोकियो प्रस्थान गर्दैछन् ।

यस्तै एनओसी उपाध्यक्ष तथा कार्यकारी निदर्शेक चतुरानन्द राजवैद्य यसअघि नै जापान पुगिसकेका छन् ।

ओलम्पिक जाने खेलाडीहरुको प्रशिक्षण र होटल व्यवस्थापन गरेका राष्ट्रिय खेलकुद परिषदका महेन्द्र राईले आफूलाई यस विषयमा जानकारी नभएको बताए ।

‘एनओसीले राखेपलाई उहाँलाई कोरोना पोजेटिभ देखिएकोले उनलाई प्रशिक्षकबाट हटाएर अर्को प्रशिक्षक नियुक्त गरिएको छ भनेर जानकारी गराएको छ । त्यसबाहेक अरु थाहा छैन’ राईले भने, ‘अस्ति राति नै पोजेटिभ देखिएपछि उहाँलाई होटल छोड्नसमेत जानकारी गराइसकेको छ ।’

मल्लको स्थानमा टोकियो ओलम्पिकमा जाने लागेका सन्तोष श्रेष्ठ ओलम्पिक जान नपाएका खेलाडी गोपीचन्द्र पार्कीका प्रशिक्षक हुन् ।

यसअघि म्याराथन धावक गोपी ओलम्पिक खेल्न जाने पक्का भएपनि अन्तिम समयमा म्याराथनको कोटा धेरै भएकोले गोपीलाई सहभागी गराउन नसकिने भन्दै नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद र नेपाल एथ्लेटिक्स संघले संयुक्त रुपमा विज्ञप्तिमार्फत जानकारी गराएका थिए । उनको सट्टा  एक सय मिटर दौडकी खेलाडी सरस्वती चौधरी ओलम्पिकमा सहभागी हुन लागेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment