Comments Add Comment

निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको सेनाबीच बाहिर असमझदारी, भित्र मिलेर पार्टी

१० साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको खडक दल गणका बीच असझदारी जस्तो देखिन्छ । निकुञ्ज प्रशासनले गर्ने हरेक काममा निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको नेतृत्वले हस्तक्षेप र हिस्सेदारी खोजेको निकुञ्ज प्रशासनले आरोप लगाउने गरेको छ ।

आइतबार अनलाइनखबरसँग कुरा गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्ज प्रशासन र सेनाका परिभाषित काम, जिम्मेवारी र एकअर्काले गर्ने सहयोग के कस्तो हुने भन्ने बुझाइमा समस्या भएको बताए । निकुञ्जभित्रको सुरक्षाको जिम्मा खडक दलका कर्णेल सुधीर केसीले लिएका छन् ।

मूलतः कर्णेल केसी र निकुञ्ज प्रमुख बरालका बीचमा नै असमझदारी भएको देखिन्छ । गणपति केसीले निकुञ्ज प्रशासनसँग जोडिएका स–साना विषयमा चासो राख्ने, सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु निर्देशनालयमा गलत रिपोर्टिङ गर्ने, सेनाको सो निर्देशनालयले निकुञ्ज विभाग र मन्त्रालयमा गएर नचाहिने कुरा सुनाउँदा समस्या भएको निकुञ्जको आरोप छ ।

निकुञ्ज प्रमुख बराल सौराहा नजिक बाघको आक्रमणबाट एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले निकुञ्जको पूर्वी सेक्टर कार्यालयमा आगजनी गर्दा नजिकै रहेको सेना टुलुटुलु हेरेर बसेको भन्दै आक्रोशित बनेका थिए । सेनाले निकुञ्जभित्रको मध्यवर्ती क्षेत्रमा ढुंगा, गिट्टी, बालुवामा भएको ठेक्कामा निकुञ्ज प्रशासनले चलखेल गरेको आरोप लगाएको छ । तर, निकुञ्ज प्रमुख बरालले गलत आरोप भएको बताए । सेनाकै अगाडि राजश्व तिरेर आएका सवारीले मात्रै ढुंगागिट्टी लगेको उनको भनाइ छ । निकुञ्ज प्रशासनसँग समन्वय गर्ने र निकुञ्जको सुरक्षामा खटिने जिम्मेवारी सेनाको भए पनि क्षेत्राधिकारभन्दा बाहिर निकुञ्ज प्रशासनले गर्ने काममा समेत हस्तक्षेप गर्दा समस्या आएको निकुञ्ज प्रमुख बरालको भनाइ छ ।

उनीहरु बीच असमझदारी बढेपछि निकुञ्ज सुरक्षा माथि नै खतरा उत्पन्न हुनसक्ने भन्दै तत्कालीन वन तथा वातावरणमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयका सहसचिव धनञ्जय पौडेलको नेतृत्वमा निकुञ्ज विभागका उपसचिव वेदकुमार ढकाल, कानून उपसचिव रामजी दनाई, महासेनानी (कर्णेल) अच्युतम भण्डारी सदस्य रहेको एक समिति गठन गरे ।

समितिले चितवन आएर दुवै पक्षसँग कुराहरू बुझ्ने पनि काम गर्‍यो । १५ दिनभित्र प्रतिवदेन बुझाउनुपर्ने समयसीमा तोकिएको समितिले केही दिनमा नै प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले प्रतिवदेन बुझाउने तयारी गरिरहेकै बेला निकुञ्ज सुरक्षार्थ बसेको खडक दल गणका गणपति सुधीर केसीको सरुवा भइसकेको छ ।

तर, अचम्म के छ भने केसी र बरालको ‘बिदाइ पार्टी’ भने चलिरहेको छ । शनिबार सेनाले केसीको बिदाइ कार्यक्रमसहित पार्टी राखेको थियो । आइतबार निकुञ्ज प्रशासनले केसीको बिदाइ पार्टीको आयोजना गरेको छ । गणपति केसीले निकुञ्ज प्रशासन र आफूहरुको बीचमा कुनै समस्या नरहेको बताए । उनले भने, ‘म र वार्डेन एक अर्काको परिपूरक नै हो, कसले कहाँबाट कसरी यस्तो कुरा ल्यायो मलाई थाहा भएन ।’ गणपति केसीले आफू र वार्डेन विभिन्न पार्टीमा समेत सँगसँगै जाने बस्ने गरेको सुनाए । तपार्इंहरुको सुमधुर सम्बन्ध रहेछ त किन छानविन गर्ने समिति नै बनाउनुपरेको भन्ने प्रश्नमा केसीले प्रश्न गर्दै भने, ‘खै माथि कसले किन समिति बनाएको हो ?’

सेनाको खडक दल गण करीब ५ महिनाअघि चितवन राष्ट्रिय निकुञ्ज आएको हो । सो दलका करीब एक हजार सेनाले ४९ पोष्टबाट निकुञ्जको सुरक्षा गरिरहेका छन् ।  सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु निर्देशनालयले हरेक दुई वर्षमा गण सरुवा गर्ने गरेको छ ।

अहिले गणपति शशीजंग कार्की आएका छन् । उनी निकुञ्ज तथा वन र वन्यजन्तुको सुरक्षाका विभिन्न क्षेत्रका बारमा बुझेका व्यक्ति मानिन्छन् । कार्की आएपछि निकुञ्ज प्रशासन र सेनाका बीचमा भएको द्वन्द्व कम भएर जाने विश्वास गरिएको छ । निकुञ्ज प्रशासन र सेनाको बीचमा द्वन्द्वका कारण निकुञ्जको व्यवस्थापन र सुरक्षामा कुनै कमी आउन नहुने भएकाले मिलेर नै काम गर्ने निकुञ्ज प्रमुख बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment