१४ साउन, काठमाडौं । ‘बाघ हिंस्रक हुँदैनन्, केवल भोका हुन्छन्’, यो भनाइ संरक्षण सम्बन्धी हिन्दी चलचित्र ‘शेरनी’ बाट लिइएको हो ।
चलचित्रकी मुख्य पात्र विद्या वालन भन्छिन् ‘बाघ छ र जंगल छ, जंगल छ र वर्षा छ, वर्षा छ र पानी छ, पानी छ र मानिस छन् ।’
बाघ र मानिसबीच अजीवको सम्बन्ध छ, जुन पर्यावरणीय महत्वसँग जोडिन्छ । फेरि, मान्छे बाघसँग डराउँछ, बाघ मान्छेसँग । दुवै एकअर्कासँग नजिकिन चाहँदैनन् ।
‘सामान्य रुपमा हेर्दा बाघ विना पनि मान्छेको जीवन चल्ने देखिएला, मान्छेविना बाघको पनि’ संरक्षणविद् झमक कार्की भन्छन्, ‘तर, बाघ र मान्छे एकअर्काका परिपूरक पनि छन् ।’
तथ्यांक झस्काउने खालको छ । गत वर्ष साउनदेखि फागुनसम्म बर्दियामा मात्र बाघको आक्रमणबाट ८ जना मारिए । त्यो कसरी भयो त ? ‘बाघले मान्छेलाई हत्तपत्त आक्रमण गर्दैन’ कार्की भन्छन्, ‘कतिपय बेला बाघले बाध्य भएर आक्रमण गर्छ, त्यसमा मान्छे पनि दोषी हुन सक्छौं ।’
बस्तीमा पसेर आक्रमण गर्ने वन्यजन्तुलाई नियन्त्रणमा लिनुपर्ने र वनजंगलमा मान्छे पनि सचेत भएर हिंड्नुपर्ने उनी बताउँछन् ।
कुरा २०३७ सालको हो । चितवनमा दुईजनाको ज्यान लिइसकेको एउटा बाघले तेस्रो मान्छे पनि मारेको खबर राष्ट्रिय निकुञ्जको कार्यालयमा पुग्यो । त्यो सूचना केन्द्रमा पनि पठाइयो । त्यो नरभक्षी बाघलाई भेट्नेबित्तिकै मार्नू भन्ने केन्द्रको निर्देशनअनुसार टोली खटियो ।
चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत (वार्डेन) उदयराज शर्माका अनुसार, नरभक्षी बाघ पत्ता लगाउन कठिन हुन्छ ।
‘जंगलमा बाघ भेटिइहाल्यो भने पनि त्यसैले मान्छे मारेको भन्ने यकीन हुँदैन’, उनी भन्छन् ‘त्यसबेला पञ्जाको आधारमा मान्छे मार्ने बाघको पहिचान गरियो ।’
उनका अनुसार, त्यो ‘बिग्रिएको बाघ’ थियो । चोटपटक लागेर वा बुढ्यौलीका कारण शिकार गर्न नसक्ने अवस्थामा पुगेको बाघलाई ‘बिग्रिएको’ भनिन्छ ।
चोट लागेर वा बुढ्यौलीका कारण शिकार गर्न नसकेको बाघले मात्र मान्छेमाथि आक्रमण गर्ने संरक्षणविदहरु बताउँछन् । तत्कालिन वार्डेन शर्माका अनुसार, पहिले त्यस्तो बाघलाई नियन्त्रणमा लिएर चिडियाखानामा राख्ने वा मार्ने गरिन्थ्यो ।
जब बाघले आफ्नै क्षेत्रमा अधिकार गुमाउँछ …
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २०१८ मा गरेको एक अध्ययन अनुसार सन् २०१४ देखि १८ सम्म मात्र आफ्नो क्षेत्रको रक्षा वा अतिक्रमण (नयाँ क्षेत्र विस्तार) गर्ने युद्धमा ८ वटा बाघ मरेको भेटिएको छ । तीमध्ये लडाइँमा हारेर खानेकुराको खोजीमा बस्ती पसेका दुईवटा बाघ मान्छेको प्रतिकारमा मारिएका थिए ।
एउटा डमरु साढे २ देखि ३ वर्षको भएपछि उसलाई बघिनीले आफ्नो समूहमा बस्न दिन्न । यदि वयस्क भएपछि बाघलाई बघिनीले निकाला गरिन भने त्यहाँ दुई बाघ(बाबुछोरा)बीच युद्ध हुन्छ र शक्तिशालीले कमजोरको ज्यान लिन पनि सक्छ । त्यसैले वयस्क भएपछि दोस्रो पुस्ताको बाघले पनि आफ्नो क्षेत्र विस्तारको संघर्ष सुरु गर्छ ।
बाघले ठाउँ–ठाउँमा दिसापिसाब गर्नेदेखि रुखमा कोतरेर आफ्नो सीमा निर्धारण गर्छ । पराजित भएको बाघको क्षेत्रका बघिनीहरू पनि विजेता बाघको नै हुन्छन् । वयस्क नभइसकेका डमरुको साथमा रहेकी बघिनीमा यौन उत्तेजना कम हुने भएकाले विजेता बाघले बच्चामाथि समेत आक्रमण गर्छ ।
संरक्षणविद् कार्की भन्छन् ‘पोथी बघिनीलाई माउ बघिनीले छुट्टै क्षेत्र दिएर आफ्नै पासमा राख्छे, तर बाघले भने वयस्क भएपछि आफ्नै क्षेत्र विस्तारमा निस्कनुपर्छ ।’
कार्कीका अनुसार बाघहरूबीच बढीजसो बघिनीको लागि र आहाराको विषयमा झगडा हुने गर्छ ।’ बघिनीसँग सम्भोग गर्नका लागि बाघले आफ्नो क्षेत्र विस्तार गर्दै जान्छ । यो पनि झगडाको एउटा कारण हो ।’
सन् २०१३ र २०१८ मा विभिन्न निकुञ्जले क्यामेरा ट्र्यापिङबाट बाघको गतिविधि नियाल्ने काम गरेको थियो । बाघ आएपछि आफैं तस्वीर खिच्ने क्यामेरा जडान गरेर लिइएको तस्वीरमा बाघको लडाइँको फोटोसमेत खिचिएको निकुञ्जका राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरु बताउँछन् ।
बाघ शिकारको सिलसिला
नेपालमा लिच्छविकालमा पनि बाघको शिकार गरिने विभिन्न साहित्यिक स्रोतमा उल्लेख छ । कैलाशकुट भवन छाडेर हालको लगनखेल क्षेत्रमा बस्न थालेका अंशुवर्माले हालको किलागल क्षेत्रको जंगलमा शिकार खेल्ने गरेको भाषा वंशावलीमा उल्लेख छ । त्यतिबेला यस क्षेत्रमा हात्ती र बाघ पनि पाइन्थे भन्ने कुरा वंशावलीमा छ ।
राणा र शाह शासकहरुले बेलायती सम्राटदेखि उच्च अधिकारीसम्मलाई खुसी पार्न शिकारको लागि आमन्त्रण गर्थे । १९४९ फागुनमा अस्ट्रियाका युवराज आर्कड्युक फ्रान्ज फर्डिनान्ड, बेलायतका सम्राट जर्ज पाँचौं (१९११ डिसेम्बर), १९५७ चैतमा लर्ड कर्जन, १९९५ मंसिरमा भाइसराय लर्ड लिनलिथगो र २०१७ फागुनमा रानी एलिजाबेथले नेपालमा गरेको शिकारमा धेरै बाघ मारिए ।
२०२९ सालमा राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु संरक्षण ऐन बनेपछि बिषेश अवस्थामा बाहेक बाघ मार्न प्रतिबन्ध लाग्यो । विस्तारै निकुञ्जहरु खुल्न थालेर संरक्षणको सिलसिला चल्यो ।
पञ्चायतकाल र त्यसपछि पनि चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राजपरिवारले शिकार गथ्र्यो । राजपरिवारका सदस्यहरु कहिलेकाहीँ वर्षमा दुई पटक पनि शिकारमा निस्कन्थे ।
पूर्व वार्डेन उदयराज शर्माका अनुसार, निकुञ्जमा जनावरको संख्याको आधारमा शिकारको कार्यक्रम तय हुन्थ्यो । शिकारको लागि कहिले बाघ त कहिले हरिण छनोट हुन्थ्यो । ‘बाघको संख्या घटेको छ भने बाघ मारिदैनथ्यो’, शर्मा भन्छन्, ‘बाघ मारिंदा ट्रफी बनाएर दरबार वा संग्रहालय लगिन्थ्यो ।’
प्रतिक्रिया 4