Comments Add Comment

योजनाबद्ध लुटपाटपछि ज्ञानुको हत्या, तीन अभियुक्त पक्राउ

१६ साउन, वीरगञ्ज । सर्लाहीको लालबन्दी–१ घर भई काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिन श्रीमतीलाई सर्लाही पुगेर आउँछु भनेर निस्किए । तर उनी अब कहिल्यै घर फर्कने छैनन् । किनकी उनको लुटपाटपछि हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनकै साथी वीरगञ्ज–७ रामटोल बस्ने राहुल महर्जन, २७ वर्षीय विक्की भन्ने दीपलामा तामाङ र बारा फेटा गाउँपालिका ३ बस्ने २७ वर्षीय धनञ्जय रजकलाई पक्राउ गरेको हो । अभियुक्तहरुले लुटपाटपछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

घटनामा संलग्न भारत बिहारको पूर्वी चम्पारण जिल्ला मोतीहारी घर भई हाल वीरगञ्ज– १६ नगवा बस्ने रवि सर्राफ फरार छन् । भारतीय प्रहरीसँगको समन्वयमा उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ज्ञानु घरमा सर्लाही जान्छु भनेर ढाँटेर साथीभाइसँग मस्ती गर्ने सोचले वीरगञ्ज आएका थिए । साउन १३ गते बुधबार २ जना साथीसँगै उनी वीरगञ्ज आइपुगे । विगतमा सुमो चलाउने क्रममा वीरगञ्जका राहुलसँग उनको दोस्ती बनेको थियो । पछिल्ला दिनमा ज्ञानु काठमाडौं ट्याक्सी चलाउँथे भने राहुलले पेशा परिवर्तन गरेर सानो पसल व्यवसाय गरिरहेका छन् । राहुलले नै अन्यसँग ज्ञानुको परिचय गराए ।

बुधबार साँझ उनीहरु वीरगञ्ज–७ रामटोल बस्ने २७ वर्षीय विक्की भन्ने दीपलामाको खाली घरमा बसे । त्यहाँ उनीहरुले मादकपदार्थ सेवन गरे । साउन १४ गते बिहीबार बिहान १ः३० बजे काठमाडौंबाट आएका दुईजनालाई छोडेर ज्ञानुलाई थप बियर किन्ने बहाना गरी बाहिर लगे । रामटोलकै एकान्त ठाउँको खाली जग्गामा ज्ञानुको घाँटीमा लक लगाइ हत्या गरे । त्यसपछि उनीहरुले सुनको सिक्री, सुनको औंठी, घडी र नगद १० हजार रुपैयाँ लुटे । लुटपाटपछि लुटेको समान सहित रवी भागे । बाँकी तीन जना हतार–हतार फर्कदै गर्दा घटनास्थल नजिकै मोटरसाइकलमा गस्ती गरिरहेको प्रहरीको क्युआरटी टोलीसँग जम्काभेट भयो । उनीहरुले प्रहरीलाई साथी हराएर खोजेको बताए ।

केही समयपछि भ्यानमा प्रहरीको अर्को टोली समेत आइपुग्यो । खोजतलासको क्रममा रामटोलको खाली जग्गामा एक युवक लडेको देखियो । उनीहरुले त्यही नै आफ्नो साथी भएको बताएपछि उनलाई नारायणी अस्पताल लगियो । अस्पतालले मृत घोषित गर्यो । मृतकको औंलामा औंठी निकालेको घाउ देखेपछि प्रहरीले घटनालाई शंकास्पद रुपमा लियो । जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई अनुसन्धान गर्दा उनीहरुले घटनाबारे जानकारी दिएका थिए । प्रहरीले दीपलामाले घटनास्थल नजिकै नालामा लुकाएको सुनको सिक्रीको टुक्रा समेत बरामद भएको जनाएको छ ।

अनुसन्धानका क्रममा उनीहरुले योजनाबद्ध ढंगले ज्ञानुसँग भएको नगद र सुनका गहना लुटेको खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाल बताउँछन् ।

‘फरार अभियुक्त रवी पहिले पनि आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् । उनीहरुले योजनाबद्ध ढंगले कुहिनाले घाँटीमा लक लगाएर ज्ञानुको हत्या गरेको पाइएको छ,’ उनले भने, ‘ज्ञानुसँग धेरै पैसा छ भन्ने भ्रममा उनीहरु रहेछन्, तर सुनको सिक्री, नगद गरेर २ लाख बराबरको मात्रै समान फेला पारेको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment