+
+

तालिबान प्रवक्ताले भने- हामीविरुद्ध लडेका सबैलाई माफी दियौं, महिलाहरुसँग काँधमा काँध मिलाएर काम गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते ९:०४

२ भदौ, काठमाडौं । अफगानिस्तान कब्जा गरेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै तालिबानले आफूहरुविरुद्ध लडेका सबैलाई आम माफी दिइएको जनाएको छ । साथै कसैप्रति भेदभाव नगरिने भन्दै तालिबानले महिलाहरु काँधमा काँध मिलाएर काम गर्ने जनाएको छ ।

काबुलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विदेशीलाई निकालेर २० वर्षपछि देशलाई मुक्त गरेको बताए । यसलाई उनले गौरवको क्षण भनेका छन् ।

शरिया कानुन अनुसार महिलाहरुको हक तय गर्न आफूहरु प्रतिबद्ध रहेको उनले बताए । उनले भने, महिलाहरु हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन् । हामी अन्तर्राष्ट्रिय समुदायलाई भरोसा दिलाउन चाहन्छौं कि उनीहरुसँग कुनै भेदभाव गरिने छैन ।’

महिला अधिकारको बारेमा उठिरहेको प्रश्नको बारेमा उनले भने, ‘हामी महिलाहरुलाई आफ्नो व्यवस्थामित्र रहेर काम गर्ने र पढ्ने अनुमति दिनेछौं । महिलाहरु हाम्रो समाज र हाम्रो ढाँचाभित्र रहेर निकै सक्रिय हुनेवाला छन् ।’

धार्मिक मान्यता अनुसार काम गर्ने अधिकार आफूहरुलाई भएको बताउँदै प्रवक्ता जबिहुल्लाहले भने, ‘अरु देशका अलग-अलग दृष्टिकोण, नियम र कानुन भएजस्तै हामी अफगानी नागरिकलाई हाम्रो नियम, कानुन तय गर्ने अधिकार छ ।

‘शत्रुता सकियो, सबैलाई माफ गरिदियौं’

अफगानिस्तान अब संघर्षको मैदान नबन्ने बताउँदै जबिहुल्लाहले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहन्छौं कि कसैलाई क्षति हुन दिने छैनौं । हामी अन्तर्राष्ट्रिय समुदायसँग कुनै उल्झन चाहँदैनौं ।’

तालिबानविरुद्ध लडेका सबैलाई माफ गरिदिएको बताउँदै उनले अब दुश्मनी समाप्त भएको बताए । ‘हामी अब देशभित्र वा बाहिर कुनै दुश्मन चाहँदैनौं । काबुलमा अब अराजकता देख्नु छैन,’ उनले भने, ‘अफगानिस्तानमा स्थिरता या शान्तिका लागि सबैलाई माफी गरिदिएका छौं । हामी हाम्रा लडाकु तथा अन्य सबै मिलेर हाम्रो साथमा अन्य सबै गुट र पक्षलाई ल्याउने छौं ।’

विदेशी सुरक्षा बलसँग रहेर काम गरेका ठेकेदार र अनुवादकको बारेमा सोधिएको एक प्रश्नमा उनले भने, ‘हामीले कसैसँग बदला लिंदैनौं ।’ उनले अगाडि भने, ‘जो युवा अफगानिस्तानमा हुर्किए, पढे, हामी चाहँदैनौं कि उनीहरु यहाँबाट जाउन् । उनीहरु हाम्रा सम्पति हुन् । कसैले पनि उनीहरुको ढोका ढक्ढकाउने छैन र उनीहरुले कसका लागि काम गरिरहेका छन् भनेर सोध्ने छैन । यस्ता व्यक्तिहरु हाम्रो शासनकालमा सुरक्षित रहनेछन् । कसैसँग सोधपुछ गर्ने वा उनीहरुको पिछा गर्ने काम हुने छैन ।’

मिडियाप्रति प्रतिबद्ध

तालिबान प्रवक्ताले पत्रकार सम्मेलनमा आफूहरुको सांस्कृतिक ढाँचामा रहेर मिडियाहरुले काम गर्न पाउने बताए । उनले भने, ‘मिडियाहरुले हाम्रा कमीकमजोरीमा ध्यान दिनुपर्छ, ताकि हामीले देशका लागि राम्रो सेवा गर्न सकौं । तर मिडियाहरुले यो पनि ध्यान दिनुपर्छ कि इस्लामी मूल्यमान्यताविरुद्ध कुनै काम गर्नु हुँदैन ।’ मिडियाहरुले अफगानिस्तानको एकताका लागि काम गर्नुपर्ने उनले बताए ।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले अब छिटै सरकार गठन गर्ने बताए । सरकार बनेपछि कुन-कुन कानुन लागु गर्ने भन्ने निश्चित गर्ने बताए । देशका सबै सीमा आफूहरुको नियन्त्रणमा रहेको बताउँदै उनले भने, ‘सरकार बनाउनका लागि गम्भीरताका साथ काम गरिरहेका छौं । यसको घोषणा सबै तयारी पूरा भइसकेपछि हुने छ ।’

काबुलको प्रवेशद्वारमा रोकिने आफूहरुको योजना भए पनि असक्षम सरकारबाट जनतालाई सुरक्षित राख्न काबुल भित्रै प्रवेश गर्नु परेको उनले सुनाए ।

उनले भने, ‘काबुलको प्रवेशद्वारमा रोकिने हाम्रो योजना थियो ताकि संक्रमणको प्रक्रिया सुचारु रुपमा सम्पन्न होस् तर दुर्भाग्य सरकार निकै असक्षम थियो । उसका सुरक्षा बलले सुरक्षा कायम राख्न खास काम गर्न सकेनन् । यस्तो अवस्थामा हामीले नै केही गर्नुपर्‍यो । काबुलका जनताको सुरक्षा तय गर्नका लागि हामीलाई काबुल प्रवेश गर्नुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?