
३ भदौ, काठमाडौं । बिहीबार अफगानिस्तानको १०२ औं स्वतन्त्रता दिवसको दिन विभिन्न सहरमा राष्ट्रिय झण्डासहितको प्रदर्शन भएको छ । तालिबानले कब्जा गरेपछिको अनिश्चितताको बीचमा मानिसहरुले राष्ट्रिय झण्डासहित प्रदर्शन गरेका हुन् ।
सामाजिक सञ्जालमा शेयर गरिएको एक भिडियोमा काबुलमा मानिसहरुले ‘हाम्रो झण्डा, हाम्रो पहिचान’ भन्ने नारा लगाइरहेको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बिहीबार आसादाबाद सहरमा भएको प्रदर्शनको क्रममा तालिबानले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।
यसअघि बुधबार जलालबादमा पनि राष्ट्रिय झण्डाको पक्षमा भएको प्रदर्शनमा केहीको मृत्यु भएको थियो । अफगानिस्तानको खोस्टमा मानिसहरुले तालिबानविरुद्ध प्रदर्शन गर्न थालेसँगै कफ्यू लगाइएको छ ।
बिहीबार सामाजिक सञ्जालमा शेयर गरिएका भिडियोमा मानिसहरुले धेरै ठाउँबाट तालिबानको झण्डा हटाइरहेको देख्न सकिन्छ ।
यसैबीच तालिबानले पनि अफगानिस्तानको १०२ औं स्वतन्त्रता दिवसलाई सम्बोधन गरेको छ । तालिबानले अहिले बेलायतबाट स्वतन्त्रता दिवस मनाइरहेको बताउँदै अर्को अहंकारी पश्चिमा शक्ति अमेरिकालाई पनि हराएको उल्लेख गरेको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4