+
+

लागूऔषध राखिदिएर निर्दोष व्यक्ति फसाएको प्रहरीमाथि आरोप

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७८ भदौ ६ गते १३:१२

६ भदौ, रौतहट । रौतहटमा पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर प्रहरीले निर्दोषलाई फसाएको आरोप लागेको छ । प्रहरीका काम कारबाहीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा लेखेका कारण रौटहट एक्सप्रेसका सञ्चालक एवं पत्रकार मोजिबुल्लाहलाई पक्राउ गरिएको आरोप लागेको हो ।

मोजिबुल्लाहको मोटरसाइकलमा दुई जना घुमुवा प्रहरीले लागूऔषध राखेको सीसी टीभी फुटेज पनि सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटबाट सादा पोशाकमा खटिने प्रहरी टोलीले गौर नगरपालिका रोडबाट पत्रकार मोजिबुल्लाह र राजपुर–७ का शेख गुलाब भनिने शेख अतिउल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो ।

तर सीसी टीभी फुटेजमा होटल बाहिर पार्किङ गरेर खाजा खान गएका वेला घुमुवा प्रहरी असई उदय यादव, जवान मनोज शाह लगायतले अन्य दुई युवाको सहयोगमा मोटरसाइकलमा राखेको देखिएको नेपाल पत्रकार महासंघ, रौतहट शाखाले जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘लागूऔषध घुमुवा प्रहरीले नै राखेको कुरा सीसी टीभी फुटेजबाट प्रस्ट भएकाले निर्दोष देखिएका पत्रकार तथा अर्का व्यक्तिलाई तत्काल रिहाइ गर्न तथा यस घटनाको सत्यतथ्य छानविन गरी संलग्नत प्रहरी तथा अन्य सबैलाई कानूनी कठघरामा ल्याउन पत्रकार महासंघ रौहट शाखा जोडदार माग गर्दछ ।’

रौटहट प्रहरीका डीएसपी नारायणप्रसाद चिमरियाले भिडियोमा देखिएका व्यक्तिलाई नियन्त्रणमा राखेर छानविन थालिएको बताएका छन् । ‘छिट्टै पत्रकार सम्मेलन यो विषयमा सार्वजनिक गर्छौं, बाहिर आएका भन्दा केही फरक तथ्यहरु पनि अनुसन्धानमा खुलेका छन्’ उनले अनलाइनखबरसँग भने ।

हेर्नुस् विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?