+
+

‘तालिबानको कसाइ’ भनेर चिनिने पूर्वगभर्नरले लिए तालिबानप्रति बफादारीको शपथ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १०:४१

७ भदौ, काठमाडौं । तपाईं अफगानिस्तानमा बस्दै आउनुभएको छ वा पछिल्लो २० वर्षमा अफगानिस्तानको राजनीतिलाई नजिकबाट नियालिरहनुभएको छ भने तपाईंले पक्कै पनि अफगानिस्तानको ‘बुलडोजर’ नामले चिनिने गुल आगा शेरजाईलाई चिन्नुहुन्छ ।

अब अफगानिस्तानका महत्वपूर्ण व्यक्तिको रुपमा चिनिने शेरजाई ‘इस्लामिक इमिरेट्स अफगानिस्तान’ को पनि प्रमुख व्यक्ति बनेका छन् । शेरजाई सीआईएका पूर्व एजेन्ट हुन् । उनी यसअघि कन्दाहार र नन्गरहार प्रान्तको गभर्नर भइसकेका व्यक्ति हुन् ।
आइतबार शेरजाईले तालिबानप्रति बफादारीको शपथ लिएका छन् । तालिबानका अनुसार गुल आगा शेरजाई अब तालिबान सरकारको हिस्सा हुनेछन् ।

सन् २००१ मा अमेरिकाको सहयोगी गठबन्धन नेटोले अफगानिस्तानमा आक्रमण गर्दा गुल आगा शेरजाई अमेरिकाको समर्थन गर्ने पहिले व्यक्ति थिए । दक्षिणी प्रान्त कन्दाहारमा उनी सीआईएसँग जोडिएका थिए र तालिबानविरुद्धको युद्धमा सामेल भएका थिए । अफगानिस्तानमा तालिबानको सत्ता आउनुभन्दा पहिला उनी कन्दाहार प्रान्तका गभर्नर थिए र सन् २००१ मा तालिबानलाई सत्ताबाट हटाउँदासम्म कन्दाहारभन्दा बाहिरै थिए ।

तालिबानलाई सत्ताबाट हटाइएपछि भने उनी पुनः कन्दाहार फर्किएका थिए । उनी सीआईए र पूर्व राष्ट्रपति हामिद कारजाईका निकट थिए । शेरजाई २००३ सम्म कन्दाहारको गभर्नर बनेका थिए । पछि उनी नन्गरहार प्रान्तको गभर्नर बनेका थिए ।
शेरजाईलाई किन बुलडोजर भनिन्छ ?

उनी निकट व्यक्तिहरुका अनुसार शेरजाईले २००५ देखि २०१३ सम्म नन्गरहार प्रान्तको गभर्नरको रुपमा काम गरेर बुल डोजरको उपाधि पाएका थिए । उनका साथीहरुका अनुसार गभर्नरको रुपमा निले नन्गरहारको विकट क्षेत्रहरुको भ्रमण गरेका थिए । सो क्रममा अधिकांश मानिसको माग सडक हुन्थ्यो । सडक नहुँदा वा बन्द हुँदा यहाँका मानिसले समस्या भोगिरहेका थिए । शेरजाईले उनीहरुको माग सन्नेमात्र होइन, त्यसको तत्काल समाधान पनि खोज्थे ।

गभर्नर शेरजाई अक्सर विकट क्षेत्रको यात्रामा जाँदा तत्काल पैसा तथा मेशिनरी सामग्रीहरु दिन्थे । यसो गर्दा त्यहाँका मानिसले कुनै प्रतीक्षा नगरी सडक निर्माणको काम सुरु हुन्थ्यो ।

गुल आगा शेरजाईको एक निजी निर्माण कम्पनी पनि थियो र स्रोतका अनुसार उनी अक्सर सडक बनाउने काम गर्न आफ्नो निर्माण कम्पनीको बुलडोजर र अन्य ठूला मेसिनरी सामग्रीको प्रयोग गर्थे । त्यसैले उनलाई बुलडोजरको रुपमा चिनिन थालेको थियो ।

रमाइलो कुरा के हो भने शेरजाईले आफूलाई बुलडोजरको उपाधि दिँदा कुनै नराम्रो मानेनन् र सन् २०१४ को राष्ट्रपति निर्वाचनमा पनि उनको चुनाव चिह्न बुलडोजर नै थियो ।

अग्ला र बलिष्ठ शरीर भएका शेरजाईलाई टाइम पत्रिकाले ‘जब्बा द हट’ नाम दिएको थियो । उनका निकट रहेका सहयोगीका अनुसार उनले कन्दाहारपछि लामो समयसम्म राष्ट्रपतिसँग हेरात, कन्दाहार वा नन्गरहार प्रान्तको गभर्नरको पद मागेका थिए । उनले कारजाईसँग अन्य कुनै पनि प्रान्तको गभर्नर पद नचाहिएको बताएका थिए ।

यी तीन प्रान्त इरान र पाकिस्तानसँगको व्यापारको प्रमुख मार्ग थियो । त्यसैले शेरजाईलाई यी तीन प्रान्तमा चासो थियो ।

शेरजाई तालिबानको कट्टर विरोधीको रुपमा थिए र उनलाई ‘तालिबानको कसाइ’को रुपमा चनिन्थ्यो । २००१ मा तालिबानलाई हटाउँदा उनले धेरै तालिबान र अलकायदाका लडाकुलाई मारेका थिए ।

संगीतप्रेमी बुलडोजर

शेरजाईका साथीहरुका अनुसार उनी संगीतप्रेमी छन् र आफैं पनि गीत गाउँछन् । ‘राका जाम राका जाम’ शेरजाईले गाएको एक पश्तो गीत हो । यो गीत धेरै वर्षपहिले भाइरल भएको थियो ।

‘राका जाम’ पस्तो गीत रुचाउने धेरै मानिस छन् । तर, उनी लामो यात्रामा बुलेटप्रुफ गाडीमा जाँदै गर्दा यो गीत गाउँथे । यात्रामा उनी आफ्ना सहयोगीलाई गीत कस्तो छ भनेर सोध्थे ।

उनी निकट व्यक्तिहरुका अनुसार आफ्नो प्रान्तमा काम राम्रोसँग भए/नभएको जाँच गर्न छड्के पनि जान्थे र दोषीलाई तत्काल कारबाही गर्थे ।

अब बने तालिबानका बुलडोजर

तालिबानका समर्थकले सामाजिक सञ्जालमा राखेको एक भिडियोमा शेरजाई तालिबानका नेता खलिल उर्रहमान हक्कानीप्रति बफादारीको शपथ लिइरहेको देख्न सकिन्छ । यसअघि तालिबानले काबुलमा कब्जा जमाउँदा गुल आगा शेरजाईले एक भिडियो जारी गर्दै तालिबानलाई बधाई दिएका थिए र उनीहरुलाई स्वागत पनि गरेका थिए । तालिबानले शेयर गरेको भिडियोमा शपथ मुफ्ती जाकिरले शेरजाईले उनी अब अफगानिस्तानको बुलडोजर भएको घोषणा गर्छन् भनेर भनेको सुनिन्छ । त्यसको जवाफमा शेरजाई टाउको हल्लाउँदै भन्छन्, पक्कै हो ।

मुफ्ती जाकिरले फेरि भन्छन्, ‘अब म भन्छु कि हामी उनी हामी सबै इस्लामिक इमिरेट्स र अमीर उल मोसीनिनदेखि पुरा अफगानिस्तान बनाउने बुलडोजर हुनेछन् ।’

तालिबानका नेताले कुनै पनि अफगानी नेताप्रति कुनै दुश्मनी नरहेको बताउँदै आएका छन् । तालिबानले सबैलाई आममाफी दिएको बताएको छ । यद्यपि तालिबानमाथि आत्मसमर्पण गरेपछि पनि धेरै मानिसको हत्या गरेको आरोप छ । तालिबानले भने यसलाई षडयन्त्र भएको भन्दै अस्वीकार गर्दै आएको छ ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?