+
+
Shares

लगातार ३ दिन संक्रमितभन्दा निको हुने बढी

संक्रमण दर पनि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १८:४१

७ भदौ, काठमाडौं । नेपालमा तीन दिनयता लगातार कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार, आइतबार र सोमबार संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देखिएको छ । यसले नेपालमा कोरोनाको संक्रिय संक्रमितको संख्या घटाएको छ । सोमबार सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ । जसमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा र ३ हजार २१९ जना संस्थागत आइसोलेसनमा छन् ।

शनिबार २,०७५ जना संक्रमित थपिँदा २,३८२ जना संक्रमण मुक्त भएका थिए । यस्तै आइतबार १,९२० जना संक्रमित थपिँदा २,२४८ जना संक्रमण मुक्त भएका थिए भने सोमबार १,८०१ जना संक्रमित थपिँदा १,९२४ जना संक्रमण मुक्त भएका छन् ।

शनिबार संक्रमण हुनेभन्दा निको हुने संक्रमितको संख्या ३०७, आइतबार ३२८ र सोमबार १२३ जना बढी रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

संक्रमण ४ प्रतिशले घट्यो

अघिल्लो साताको तुलनामा यो साता कोरोना संक्रमण पुष्टि हुने दर पनि घटेको छ ।

भदौ महिनाको पहिलो साता कोरोना संक्रमण दर १७.६१ प्रतिशत रहेको छ । अघिल्लो साता अर्थात साउनको अन्तिम साता कोरोना संक्रमण दर २१.२८ प्रतिशत रहेको थियो ।

अघिल्लो साताको तुलनामा यो साता संक्रमण दर ४ प्रतिशतले घटेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

साउन अन्तिम सात दिनमा पीसीआर र एन्टिजेन गरी १ लाख ११ हजार ११३ नमुना परीक्षण गर्दा २३ हजार ६४७ जनामा संक्रमण पुष्टि भएको थियो । तर भदौ पहिलो सात दिनमा १ लाख ५ हजार ५३६ नमुना परीक्षण गर्दा १८ हजार ५९० जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर उत्कर्षमा पुग्दा वैशाख २८ गते सबैभन्दा बढी ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन २१ हजार ३१६ नमुना परीक्षण गरिएको थियो । प्रतिशतको हिसाबमा त्यतिबेला संक्रमण दर ४४.४९ प्रतिशत थियो ।

त्यसयता लामो समय संक्रमण स्थिर रहेको थियो । असार २० गते दोस्रो लहरमै सबैभन्दा कम १ हजार ६०३ संक्रमित फेला परेका थिए । ८ हजार १३२ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको थियो । प्रतिशतको हिसाबमा सो दिन संक्रमण दर १९.७१ प्रतिशत थियो ।

पछिल्लो २४ घण्टामा ११ हजार ३२६ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको छ । प्रतिशतको हिसाबमा संक्रमण दर १७.६१ प्रतिशत हो ।

दोस्रो लहरमा असार २० गते सबैभन्दा कम संक्रमित फेला परेको दिनको तुलनामा सोमबार भेटिएको संक्रमण दर २.१ प्रतिशत विन्दुले कम हो ।

के भन्छ मन्त्रालय ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल यो तीन दिनको तथ्यांकलाई हेरेर संक्रमण घटेको निश्कर्ष निकाल्न नमिल्ने बताउँछन् ।

तीन दिन लगातार सार्वजनिक विदा भएका कारण देशभरका प्रयोगशालाबाट रिपोर्टिङ हुन नसक्दा संक्रमण घटेको देखिएको उनले बताए ।

‘सार्वजनिक विदाका कारण देशभरका सबै प्रयोगशालाबाट परीक्षणको रिपोर्टिङ मन्त्रालय समक्ष आइपुगेको छैन । त्यसैले संक्रमित संख्या घटेको जस्तो देखिन्छ । जति रिपोर्टिङ प्राप्त भएको छ त्यो अनुसार संक्रमण पुष्टि भएको दर पनि बढी नै हो । त्यसैले संक्रमण घटेको भन्न सकिँदैन’ डा. पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?