+
+

युट्युब ट्रेन्डिङ र भ्यूज नै लोकप्रियताको मानक हो ?

सुशील नेपाल सुशील नेपाल
२०७८ भदौ ९ गते १०:१८

कुन गीत सर्वप्रिय ? कुन गीत कर्णप्रिय ? कुन गीत मर्मस्पर्शी ? कुन गीत श्रेष्ठ ? यसलाई नाप्ने सर्वमान्य इकाइ छैन । सामान्यत जुन गीतको भाका, शब्द-शिल्प, धुन संयोजनले श्रोताको हृदय स्पर्श गर्छ, त्यही गीत राम्रो हो ।

तर, कस्तो तराजुले यसको नापतौल गर्ने ?

वर्तमान परिदृश्यलाई हेर्ने हो भने भिडियो शेयरिङ प्लेटर्फम युट्युब नै त्यस्तो आधारशीला हो, जसले गीत-भिडियोको गुण मापन गर्छ । युट्युबमा गीतको भिडियो कति पटक हेरियो भन्ने अंकको आधारमा यसको सफलता/विफलताको लेखाजोखा गर्न थालिएको छ । युट्युबको ट्रेन्डिङलाई गीत/भिडियो लोकपि्रयताको मानक बनाइएको छ ।

केही दिनअगाडि प्रकाश सपूतको नयाँ गीत ‘कुरा बुझ्न पर्च’ निर्माण टिमले केक काटेर सफलताको खुसी साट्यो । गीतले ६ दिनमा ४७ लाख भ्यूज पाएपछि निर्माण टिमले खुसी साटेको थियो । प्रकाशसँगै मोडलद्धय स्वस्तिमा खड्का र आँचल शर्मा, गायिकाद्धय शान्तीश्री परियार र समीक्षा अधिकारी लगायतका कलाकारहरु कार्यक्रममा सहभागी थिए । यस गीतले १५ दिनमा १ करोड भ्यूज पाईसकेको छ ।

‘सम्झिनी पानी छम्किनी’बोलको गीतले आइतबार मात्रै आफूआफूमा सेलिव्रेशन कार्यक्रमको आयोजना गरेको थियो । यस गीतले सार्वजनिक भएको ११ दिनमै युट्युबमा १ करोड भ्यूज पाएको थियो ।

सम्राट चौलागाईको शब्द, संगीत रहेको गीतमा सम्राटसँगै रचना रिमाल, स्मीता दाहाल, ममता गुरुङको स्वर छ । विक्रम स्वाँरको निर्देशनमा बनेको भिडियोमा भुवन केसी, दीपाश्री निरौला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्का, गीता ढुंगाना, सम्राट चौलागाइँ लगायतको अभिनय छ । आईतबार आयोजित सेलिब्रेसन कार्यक्रममा भुवन केसी, दीपाश्री निरौला लगायतका कलाकाहरु उपस्थित थिए ।

त्यसअघि पछिल्लो वर्षमात्रै ‘तिम्रो मन बदलिएछ’, ‘फुलबुट्टे सारी’, ‘झ्यालमा पर्दा छ’ लगायतका गीतले एक करोड भ्यूज पाएको अवसरमा केक काटेर सेलिब्रेशन गरे ।
अहिले गीतले एक करोड भ्यूज पाउँदा कलाकारहरुले केक काटेर भव्य रुपमा सेलिब्रेटन गर्दै आएका छन् । के वास्तवमा गीतसंगीतको उत्कृष्ट मापन गर्ने यी तराजु सही छन् ?

के भन्छन् संगीतकर्मी ?

गायक शिव परियार युट्युब भ्यूज, ट्रेन्डिङलाई गीत सफलता मान्न नहुने बताउँछन् । उनी हरेक कुरामा नकारात्मक र सकारात्मक दुईवटा कुराको चर्चा हुने बताउँछन् ।

‘एकदमै असुर प्रवृत्तिको काम कसैले गरेको छ भने त्यहाँ नकारात्मक ढंगले मानिसहरुको इङगेज धेरै हुन्छ । त्यो नचाहाँदा नचाहाँदै पनि फ्रन्टमा आउँछ’ उनी भन्छन्, -‘अर्को चाहिँ राम्रो भएर मान्छेले मायाले, प्रेमले, आस्थाले हेर्दा फ्रन्टमा आउने हो ।’

उनी स्रोता दर्शकको मायाले, प्रेमले फ्रन्टमा आउने गीतलाई नै सफलता मान्छन् । अहिले बुष्ट गरेर भ्यूज किन्ने प्रवृत्ति रहेकोले त्यसरी आएको भ्यूजलाई आफूले सफलता मान्न नसक्ने शिवको तर्क छ ।

‘मेरो सन्दर्भमा दुई करोड/तीन करोड भ्यूज पाएकोलाई मात्र सफलता मान्दिन् । गतवर्ष धेरै गीतहरु एक नम्बर ट्रेन्डिङमा आए, करोड भ्यूज पाए । ति गीतहरुको चर्चा अहिले कहाँ हुन्छ त ?’ शिव प्रश्न गर्छन् ‘एकै रातमा १० लाख भ्यूज जाने, पछि भ्यूज नबढ्ने गीतलाई कसरी सफल मान्ने ?’ उनी स्रोता दर्शकले सम्झनयोग्य गीतहरु नै सफल भएको बताउँछन् ।

युट्युबको सन्दर्भमा स्रोता-दर्शकले रुचाएर स्वभाविक रुपमा आएको भ्यूजलाई भने सफलताको आधार मान्न सकिने शिव बताउँछन् ।

गायक एवं संगीतकार नारायण रायमाझी पनि गीतको सफलताको मानक युट्युब भ्यूजलाई मात्र आधार मान्न नहुने बताउँछन् ।

अहिलेको समयमा युट्युब ट्रेन्डिङ र भ्यूजलाई एउटा मानक मान्न सकिने तर त्यसलाई मात्र आधार मान्न नहुने उनले बताए ।

‘भ्यूज कम पाउनुभन्दा त धेरै भ्यूज पाउँनु, ट्रेन्डिङमा आउनु राम्रो हो । तर, त्यसलाई मात्र सफलता मान्न सकिँदैन्’ रायमाझी भन्छन्, ‘कतिपय कुराहरु यत्तिकै भाइरल भईरहेका हुन्छन् । छोटो समयमै हराउँछन् । त्यो सफलता होइन् ।’ स्रोता/दर्शकको मन जितेर ट्रेन्डिङमा आउनु, धेरै भ्यूज पाउनु भने सफलता भएको उनले बताए ।

गीतकार राजेन्द्र थापा गीतले बढी भन्दा बढी स्रोता एवं दर्शकलाई प्रभाव पार्न सक्नुलाई नै सफतला भएको बताउँछन् ।

बहुसंख्यकले मन पराएर बारम्बार सुन्न मन लाग्यो, गुनगुनाउन मन लाग्यो भने त्यो नै सफलता भएको बताए ।

अहिलेको समयमा युट्युब ट्रेन्डिङ र भ्यूजलाई नै सफलताको मानकका रुपमा मान्नुपर्ने राजेन्द्र बताउँछन् । उनले अहिलेको समयमा गीत सफलताको मानकका रुपमा युट्युब ट्रेन्डिङ र भ्यूजलाई स्वीकार्नूको विकल्न नरहेको बताए । ‘हिजो रेडियोमा बजेपछि, धेरै फर्माइस आएपछि, धेरै क्यासेट/सिडी बिक्री भएपछि सफल भएको मानिन्थ्यो । धेरै रिगं ब्याक टोन गएपछि सफल मानिन्थ्यो । त्यो समयको ट्रेन्ड नै त्यही थियो’ थापाले अनलाइनखबरसँग भने, ‘अहिलेको ट्रेन्ड युट्युब छ । त्यो बाहेक अरु विल्पक छैन् । त्यसैले युट्युब ट्रेन्डिङ र भ्यूजलाई सफलताको मानकका रुपमा स्वीकार्नुपर्छ ।’

उनी अहिले फाष्टफुडको समय भएकाले पहिलेको समयसँग तुलना गर्न नहुने तर्क गर्छन् । उनी प्रश्न गर्छन् -‘हिजो बाजेले लगाएको कोटा छोराले, गाउँभरिकाले लगाएर जन्त जान्थे । त्यो बेलाको समय त्यस्तै थियो । अब अहिले त्यो समयसँग तुलना गरेर हुन्छ र ?’

उनी तत्कालिन पुस्ताका लागि त्यो टे्रन्डमा चल्नु नै सफलताको रुपमा व्याख्या गर्छन् । उनी तत्कालिन अवस्थामा प्रभाव पार्ने गीत ल्याउनु नै सफल भएको बताए । अहिलेको समयमा युट्युब नै विकल्प रहेकोले युट्युबमा जनताले नरुचाए त्यो सफल नहुने बताए ।

उनले भने, ‘जनताका लागि बनाएको गीत उनीहरुले रुचाएनन् भने चर्चा हुँदैन् । हामी आपसमा चर्चा गरौंला, तर जनतामा चर्चा नहुने, जनताले नहेर्ने भनेको सफलता होइन् ।’

र, ‘बुष्ट’को चर्चा

उसो त हिजो रेडियामा गीत प्रशारण हुने कुरामा पनि विभेद हुने गरेको सुनिन्थ्यो । टेलिभिजनमा गीत प्रशारणका क्रममा पनि हरेक फण्डा झेल्नुपर्ने अवस्था थियो । अहिले युट्युबमा पनि भ्यूज बढाउन अनेक फण्डा हुने गरेको छ । ‘फ्लानो गीतको ‘बुष्ट’को लागि १४ लाख रुपैयाँ दिए रे !’, ‘अर्को त्यो गीतका गीत बुष्टका लागि ४ लाख रुपैयाँ दिएको रहेछ’ तीन साता अगाडि सांगीतिक बजारमा सुनियो । यसमा सत्यता रहेको सांगीतिक क्षेत्रका व्यक्तिहरु बताउँछन् । एक गायकले नाम उल्लेख नगर्ने शर्तमा अनलाइनखबरसँग भने, ‘अहिले गीतलाई बुष्ट नगर्नेहरु विरलै हुन्छन् । ९० प्रतिशत बढी म्युजिक भिडियो बुष्ट गरिएको हुन्छ ।’

बितेका कुरा

गीत सुन्न रेडियो नेपालमा कान थाप्नुपर्थ्यो । गीतहरु चल्न पनि रेडियो नेपालमा बज्नुपर्थ्यो । रेडियोमा गीत बजेपछि स्रोताले फर्माइस गरेर पठाउँथे । जुन गीतमा बढी फर्माइस आउँछ, सोही गीत राम्रो, उत्कृष्ट वा हिट मानिन्थ्यो ।

विस्तारै रेडियोको लहर शुरु भयो, जिल्ला-जिल्लामा । रेडियोमा गीतहरु निकै बज्थे । ती रेडियोमा गीतको गीतको छुट्टै कार्यक्रम नै संचालन हुन थाले । ती कार्यक्रमहरुमा उत्कृष्ट १० गीतको सूचि नै बनाईन्थ्यो । त्यसभित्र पर्ने गीतलाई सफल मानिन्थ्यो । यसरी चलेका वा हिट गीत छुट्टाईन्थ्यो । पहिले हिट वा फ्लप गीतको मापनको मानक यस्तो थियो ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?