Comments Add Comment

सडक दुर्घटनामा परी बाँके निकुञ्जका वन्यजन्तुले अकालमा ज्यान गुमाउँदै

फाइल तस्वीर

१७ साउन, राँझा । बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दुर्घटनामा परी वन्यजन्तुले अकालमा मृत्युवरण गर्नुपरेको छ । निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र उत्तर–दक्षिणको रत्न राजमार्गमा सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु तथा घाइते हुने क्रम बढ्दो छ ।

साथै राजमार्गको दुवैतर्फ अवरोध नहुँदा अधिक तीव्र गतिमा गुडेका सवारीसाधनबाट वन्यजन्तु दुर्घटनाको जोखिममा पर्ने गरेका छन् । हालसम्म सडक दुर्घटनामा परेर निकुञ्जका ३५८ वन्यजन्तुको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार राजमार्गमा सडक दुर्घटनामा परी मर्नेमा सबैभन्दा बढी बाँदर, बँदेल र चित्तल छन् । गत आर्थिक वर्षमा मात्रै दुर्घटनामा परेर ४३ र अन्य दुर्घटनामा परेर २५ वन्यजन्तुको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७१/७२ देखि २०७७/७८ सम्मका अवधिमा दुवै राजमार्गमा भएका सवारी दुर्घटनामा परेर विभिन्न प्रजातिका ३५८ वन्यजन्तु मरेका थिए ।

आव २०७१/७२ मा सडक दुर्घटनाबाट १६ वन्यजन्तु मरेकामा कुकुरको टोकाइ तथा अन्य कारणबाट आठ रहेका थिए  । आव २०७२/७३ मा सडक दुर्घटनामा ४३, कुकुरको टोकाइलगायत अन्य कारण चार, आव २०७३/७४ मा सडक दुर्घटनामा ६१, कुकुरको टोकाइबाट सात, अन्य कारणबाट १५, आव २०७४/७५ मा सडक दुर्घटनामा ७२, कुकुरको टोकाइबाट चार, अन्य कारणबाट ६, आव २०७५/७६ मा सडक दुर्घटनामा ४४, कुकुरको टोकाइबाट १३, अन्य कारणबाट नौ, २०७६/७७ मा ५४ र  गत आवमा २०७७/७८ मा ४३ सडक दुर्घटनामा र कुकुरको टोकाइ र अन्य कारणले २५ वन्यजन्तुले अकालमा मरेका संरक्षण अधिकृत न्यौपानेले बताए ।

राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापरवाहीले वन्यजन्तु जोगाउन मुस्किल भएको उनको भनाइ छ । निकुञ्जको पूर्व शिव खोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर र उत्तर–दक्षिण रत्न राजमार्ग ३२ किमी क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेको छ । सबैभन्दा बढी कोहलपुरदेखि शिवखोलासम्मको पूर्वपश्चिम राजमार्गमा वन्यजन्तु दुर्घटनामा पर्ने गरेको निकुञ्जको तथ्याङ्कले देखाएको छ ।

निकुञ्जमा पूर्वपश्चिम राजमार्ग ७२ किमी र उत्तर दक्षिणको रत्न राजमार्गले ३२ किमी निकुञ्जभित्रको वनक्षेत्र ओगटेको छ । घाँसे मैदानसहितको पानी खाने स्रोतको रुपमा सिक्टा सिँचाइको नहर र राप्ती नदी भएका कारण पनि पानीको खोजीमा वन्यजन्तु सडक छेउ आउने गर्दा दुर्घटनामा पर्ने गरेको न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment