Comments Add Comment

कोरोना महामारीले तयारी पोशाक निर्यातमा समस्या

२६ साउन, काठमाडौं । कोरोनाका कारण सुनसरीमा रहेको तयारी पोशाक उद्योगलाई निर्यातमा समस्या देखिएको छ ।

तेस्रो मुलुकबाट पर्याप्त मात्रामा अर्डर नआउने र आए पनि कोरोनाका कारण असहज परिस्थितिले निर्यातमा समस्या देखिएको उद्योगले जनाएको छ ।

पूर्वकै ठूलो तयारी कपडा निर्यात कम्पनी मानिने पल्स फेसन सोलुसन प्रालि खनारले पहिलो चरणको लक डाउन शुरु भएयता कम्पनीको उत्पादन क्रमशः घट्दो क्रममा रहेको जनाएको छ ।

उद्योगका एक्सपोर्ट डिभिजन म्यानेजिङ डाइरेक्टर निमेश प्रधानका अनुसार कोरोनाका कारण उद्योगले कच्चा पदार्थ आयातमा समेत कठिनाइको सामना गरिरहनु परेको छ ।

तेस्रो मुलुकबाट अर्डर निकै कम मात्रामा आउने गरेकाले समेत उद्योग संचालनमा चुनौती बढेको प्रधानको भनाइ छ ।

तयारी पोशाक उद्योगसँगै सुनसरीको खनारमै रहेको बिस्कुट उद्योगले समेत कोरोनाका कारण राम्रो बजार पाउन नसकेको जनाएको छ ।

बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्दै आएको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिले विद्यालय तथा कलेजहरु बन्द रहँदा उत्पादन कटौतीको सामना गर्नु परिरहेको जनाएको छ । कोरोनाका कारण माग कम हुँदा उद्योग पूर्ववत अवस्थामा संचालनमा आउनै नसकेको उसले जनाएको छ ।

सुनसरीमा रहेका अधिकांश उद्योगले कोरोनाका कारण उत्पादन कटौतीको समस्या झेलेका छन् । पटक-पटकको लक डाउन झेलेका त्यस्ता उद्योग पछिल्लो समय तेस्रो लहको जोखिम बढेकाले समेत उत्पादन बढाएर जोखिम मोल्ने अवस्थामा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment