Comments Add Comment

चिकित्सा शिक्षाको प्रवेश परीक्षामा निर्धारित कोटाभन्दा कम परीक्षार्थी उत्तीर्ण

प्रतीकात्मक तस्वीर

२७ साउन, काठमाडौं । चिकित्सा शिक्षाको प्रवेश परीक्षामा निर्धारित सिट संख्याभन्दा कम परीक्षार्थी उत्तीर्ण भएका छन् । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि बीपीएच, बीएस्सी नर्सिङ, बी फर्मा, बीपीटी लगायत विषयमा लिएको प्रवेश परीक्षामा निर्धारित सिट संख्याभन्दा कम परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार बीएस्सी नर्सिङमा ५०४ परीक्षार्थी उत्तीर्ण भएका छन् । आयोगले बीएस्सीका लागि १ हजार ४२० सिट संख्या निर्धारण गरेको थियो । बीपीएचका लागि यसका लागि आयोगले १ हजार १०० सिटमध्ये ५६५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी ९०२ सिट निर्धारण गरिएको बी फर्मामा ५४७ जना मात्रै उत्तीर्ण भएका छन् ।

आयोगले १५० सिट निर्धारण गरेको बीपीटीमा ११४ परीक्षार्थी उत्तीर्ण भएका छन् । ७१ सिट तोकिएको बीएस्सी एमआईटीमा ३५ जना मात्रै उत्तीर्ण भएका छन् ।  त्यस्तै, ४२५ सिट तोकिएको बिएस्सी एमएलटीमा ११८ जना मात्रै उत्तीर्ण भएका छन् ।

तोकिएको अधिकतम सिट संख्यामा आधाभन्दा कम परीक्षार्थीले उत्तीर्ण गरेको कारण विद्यार्थीले आफूले चाहेको कलेजमा पढ्न पाउने भएको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बताए । उनले भने, ‘अधिकतम विद्यार्थी संख्या अनुसार विद्यार्थीले परीक्षा पास गरेको भए आफूले रोजेको कलेजमा पढ्न पाउने सम्भावना कम हुन्थ्यो । कम परीक्षार्थीले पास गरेका कारण उनीहरुले आफूले चाहेको कलेजमा पढ्न पाउनेछन् ।’

आयोगले साउन ९ गतेदेखि १३ गतेसम्म लिएको प्रवेश परीक्षाको नतिजा २१ गते सार्वजनिक गरेको थियो ।

आयोगले एमबीबीएस र बीडीएस पढाइ हुने २२ मेडिकल कलेज एमबीबीएसतर्फ विभिन्न कलेजलाई र स्वास्थ्यका अन्य विषय पढाइ हुने ७६ कलेजलाई आयोगले सिट संख्या तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment