Comments Add Comment
भीम रावलको बयान :

यसरी असफल भएको थियो ओली र नेपाललाई भेटाउने प्रयास

१९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरुको दाबी छ, नेकपा एमालेमा अन्तरसंघर्ष चर्किएका बेला माधवकुमार नेपाल समूहमा ‘आजै नयाँ पार्टी खोलौं, भोलि नै नयाँ पार्टी खोलौं’ भन्ने नेताहरुमध्ये भीम रावल पनि एक थिए ।

तर २ भदौमा नेता नेपालको नेतृत्वमा नयाँ पार्टी निर्वाचन अयोगमा दर्ता गर्दा रावलसहित दोस्रो पुस्ताका धेरै नेताहरुले साथ दिएनन् । अध्यक्ष केपी शर्मा ओलीसँग १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति गरेर उनीहरु नेकपा एमालेमै क्रियाशील भएका छन् ।

रावलले भने पार्टीको अन्तरविरोधमा छलफल गर्नुको अर्थ पार्टी फुटाउनु नभएको दाबी गरेका छन् । अछामका नेता कार्यकर्तासँग शनिबार काठमाडौंमा भएको छलफलमा रावलले आफ्नो बचाउ मात्र गरेनन्, २७ असारमा भएको १० बुँदे सहमतिपछि पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता गराउने प्रयास कसरी असफल भयो भनेर बेलिविस्तार लगाएका छन् ।

१० बुँदेमा हस्ताक्षर गर्नुअघि आफैंले फोनलाई लाउड स्पीकरमा राखेर नेता नेपाललाई यस्तो यस्तो सहमति भयो भनेर जानकारी गराएको भन्दै उनले भने, ‘उहाँले हुन्छ भनेपछि हामीले हस्ताक्षर गर्‍यौं । त्यसपछि पत्रकार सम्मेलन गर्‍यौं र साढे १० बजे राति मैले सहमति पत्र माधवकुमार नेपालजीलाई दिएँ ।’

उनका अनुसार कार्यदलमा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता गराउने, १० बुँदे सहमतिलाई स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गरी लागू गर्ने सहमति भएको उनले सुनाए । तर, दुई नेताबीच भेट हुन सकेन ।

दुई नेतालाई भेटाउने एकपछि अर्को प्रयास असफल भइरहँदा पार्टी फुटेको उनले सुनाए । दुई नेतालाई भेटाउने प्रयासबारे उपाध्यक्ष रावलको धारणा उनकै शब्दमाः

हाम्रो बीचमा दुई नेताको बैठक गरेर यस (१० बुँदे) लाई स्थायी कमिटीको बैठकमा लैजाने, स्थायी कमिटीबाट केन्द्रीय कमिटीमा लैजाने र देशभर लागू गर्ने समझदारी थियो । त्यसअनुसार कुराकानी गर्न २८ गते विहान म बालुवाटार गएँ ।

दुई नेताबीच कतिबेला कुरा गर्ने भन्दा प्रधानमन्त्रीजी (तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली)ले ३ बजे भनेर समय पनि दिनुभएको थियो । त्यहाँबाट निस्किँदा करिव साढे १ बजेको हुँदो हो, उपमहासचिव विष्णु पौडेलले फोन गरेर भन्नुभयो, ‘अदालतले परामादेश गरिसकेछ ।’

यो परमादेशको तात्तातो स्थितिमा दुई जना नेतालाई एकठाउँमा ल्याउनु उचित हुँदैन भन्ने सोचेँ र ३ बजेको समय माधवकुमार नेपाललाई खबर गरिनँ । भोलिपल्ट गर्नुपर्ला, आज तात्तातो छ, परामादेशबारे छलफल चर्चा होला, प्रधानमन्त्री पनि व्यस्त हुनुहोला भनेर त्यो दिन खबर गरिनँ ।

त्यो दिन फैसला नभएको भए दुई नेताबीच कुराकानी भएर यो (१० बुँदे) सहमति कार्यान्वयनमा जान्थ्यो । कहिलेकाहीँ घटना र परिस्थतिले कता लैजान्छ, हेर्नुस् ।

भोलिपल्ट प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्नुभयो । पर्सिपल्ट उहाँ बालबोट जानुभयो । बालकोटको कौशीबाट उहाँले केही कुरा (माधव नेपालबारे कडा टिप्पणी) बोलेपछि वरिष्ठ नेता माधवकुमार नेपालजी अर्को दिन वार्ता गर्न तयार हुनुभएन । वार्ता हुने स्थिति भएन, केही दिन भिड्किँदै गयो ।

त्यसपछि बीचबाट अध्यक्षको कुरा आयो । पार्टी अध्यक्षमा माधवकुमार नेपालजीको नाम प्रस्तावित भएको पनि तपाईंहरुले सुन्नुभएको होला । त्यो हाम्रो कार्यदललाई दिइएको कार्यादेश थिएन । होटल मेरियटमा दुई जनाको बीचमा वार्ता भएको थियो, त्यहीँबाट अध्यक्षको प्रसंग आएको रहेछ । त्यहाँ के कसो भयो विस्तृत रुपमा जान चाहन्नँ, इतिहासमा समीक्षा हुँदै जाला । समयक्रममा खुल्दै जाला ।

अध्यक्षको प्रसंग आएपछि मलाई बालकोटमा गएर कुरा गर्न भनियो । मैले बालकोट गएर पार्टी अध्यक्ष केपी शर्मा ओलीजी, महासचिव, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्बाङजीको उपस्थितिमा यो कुरा गरेँ ।

पार्टी अध्यक्षले पार्टी एकताका लागि माधवजीलाई मैले अध्यक्ष मानेँ भन्नुभयो । यो कुरा कसले माधवजीलाई जानकारी गराउने भन्ने भयो । मैले भनेँ, ‘एक जना त म जाने भइहालेँ, अर्को महासचिव, सुवासजी वा विष्णुजी को जाने ?’ उहाँहरु सबै एक स्वरमा भन्नुभयो, ‘हाम्रो सहमति नै भइसक्यो, हाम्रो प्रतिनिधि तपाईं । तपाईंले नै गएर सुनाउनुस् । भोलि दुई जना नेताको बीचमा कुराकानी हुन्छ र पार्टीको समस्या समाधान हुन्छ ।’ म खुसी हुँदै कोटेश्वरमा आएर माधवकुमार नेपालजीलाई जानकारी गराएँ । उहाँले ठीक छ भन्नुभयो ।

भोलिपल्ट बानेश्वरमा एक जना साथीको घरमा उहाँहरुलाई भेटाउने तय भयो । मैले विहान गरौं भने, माधवकुमार नेपालजीले त म विहान त भ्याउदिनँ, पुष्पलाल स्मृति दिवस, मातातीर्थ जानुपर्छ भन्नुभयो । मैले विहान गरौं, यसलाई प्राथमिकतामा राखौं भनेँ । उहाँले विहान भ्याउँदिन, दिउँसो भन्नुस् भन्नुभयो ।

ठीकै छ नि त भनेर म घर आएँ र, पार्टी अध्यक्ष कहाँ सम्पर्क गर्दा त दिउँसो मातातीर्थमा कार्यक्रम छ भन्ने खबर आयो । विहान माधवुकमार नेपालजीको नमिल्ने, दिउँसो केपी शर्मा ओलीजीको नमिल्ने । मलाई अब बिग्रिन्छ कि भन्ने लाग्यो । किनभने त्यसअघि मिलाउन खोजेर वार्ता गर्न ठीक्क भएको बेला खचमच्चिएको दुई तीन वटा घटना मैले देखिसकेको थिएँ ।

भोलिपल्ट कुरा हुन सकेन । ती कार्यक्रममा नेताहरुका आआफ्ना अभिव्यक्ति आए । के कस्ता अभिव्यक्ति आए, म दोहो¥याउन चाहन्नँ, तर त्यसले एउटाको मन यता बटारियो, अर्कोको मन उता बटारियो ।

त्यसपछि यत्तिकै केही दिन बित्यो । हामीले प्रयास गरिरह्यौं । खासगरी म, सुवास नेम्वाङ र विष्णु पौडेलले दृढतापूर्वक प्रयास गरिरह्यौं । त्यही बेला वरिष्ठ नेता माधवकुमार नेपालजीले सार्वजनिक रुपमा भन्नुभयो, मैले अध्यक्ष हुन खोजेकै होइन ।

अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, झलनाथ खनालजीमध्ये कसैलाई बनाऔं । नभए बामदेव कसैलाई राखेर अध्यक्षमण्डल बनाए पनि हुन्छ । त्यसपछि माधवकुमार नेपालजीले सुवास नेम्वाङ र विष्णु पौडेलजीलाई म भेट्छु भन्नुभयो । मैले नै समय मिलाएँ । दुई जनासँग अलग–अलग भेट्छु भन्नुभयो, त्यो पनि मिलाएँ । अलगअलग भेट हुँदा उहाँले म अध्यक्ष हुन्न भन्नुभयो । त्यो उहाँहरुले बाटकोटमा लगेर सुनाउनुभयो ।

केही समयपछि अध्यक्षका लागि फेरि कुरा गर्नुपर्‍यो भन्ने भयो । म, विष्णुजी र सुवासजी कुरा गर्न बालकोट गयौं । त्यहाँ उहाँ (केपी ओलीले )ले अब यो अध्यक्षको अध्याय बन्द भयो भन्नुभयो । उहाँले अग्रेजीमा भन्नुभयो, च्याप्टर इज क्लोज ।

त्यसपछि के गर्ने ? त्यही कुरा मैले माधव नेपालजीलाई भने । यो अध्यक्षको कुरा जुनबेला केपी ओलीजीले मान्नुभयो, माधवकुमार नेपालले मान्नुभएन । जुन बेला माधवकुमार नेपालजीले मान्नुभयो, केपी ओलीजीले मान्नु भएन । यसै कारणले समस्या उत्पन्न भयो । मलाई आश्चर्य लाग्छ,के होला यसको रहस्य ?

ओलीले अध्यक्षको च्याप्टर क्लोज भएपछि पनि आफूहरुले एकताको प्रयास जारी राखेको उपाध्यक्ष रावलले बताए । आफूहरुको जोडबलमा २२÷२३ साउनमा बसेको माधव नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठकले १० बुँदे उपलब्धी हो भन्ने मानेको र पार्टीलाई एकतावद्ध बनाउने निर्णय गरेको उनले सुनाए ।

अध्यक्ष ओलीले पनि माधव नेपाललाई अध्यक्ष मान्न नसक्ने तर, छलफल गर्न सक्ने बताएको रावलले सुनाए । तर त्यही बीचमा आफूहरुसँग छलफल नै नगरी माधव नेपालले दल दर्ता गरेको भन्दै उनले भने, ‘अब तपाईंहरु भन्नुस्, आफैं कार्यदल बनाउने, आफैं सहमति गर्ने, आफैं हस्ताक्षर गर भन्ने, आफैं केपी ओलीजीसँग वार्ता गर भन्ने, आफैं वार्ता गर्ने । अनि हामीले हस्ताक्षर गरिसकेको (१० बुँदेलाई) नमानेर हामीलाई जानकारी नै नदिई पार्टी दर्ता गरिसकेपछि कोही मान्छेले पार्टी फुटका लागि समर्थन गर्नसक्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment