+
+

शेयर बजारबारे गभर्नरलाई अर्थमन्त्रीको ‘निर्देशन’ कति जायज ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते २२:२७

२१ भदौ, काठमाडौं । आइतबार १०८ अकंले घटेर बन्द भएको बजार सोमबार १६२ अंकले बढ्यो । यो २४ घण्टाका बीचमा बजारको सन्दर्भलाई लिएर जे-जस्ता परिघटनाहरु भए, त्यसले सेयर बजारको लागातारको ओरालो यात्रालाई १८० डिग्रिले मोड्यो ।

शेयर जबार घटाउन राष्ट्र बैंकको मौद्रिक नीति प्रमुख जिम्मेवार भएको लगानीकर्ताको आरेापलाई अर्थमन्त्री जनार्दन शर्मा आफैंले सोमबार गभर्नरसम्म पुर्‍याए । उनले सोमबार कारोबार खुलेपछि गभर्नरलाई फोन गरेरै बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा ध्यानाकर्षण जनाएका थिए ।

गभर्नर अधिकारीसँग टेलिफोन कुराकानीमा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले विज्ञप्ति निकालेरै जानकारी दियो ।

‘उहाँले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नु भएको छ ,’ सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो ।

जवाफमा गभर्नर अधिकारीले ‘आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएको’ विज्ञप्तिमा उल्लेख थियो । यही बीचमा शेयर लगानीकर्ता गभर्नरको राजीनामा र बजारमैत्री नीतिहरु माग्दै नाराजुलुससहित राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम ल्याएको छ । यस्तो सीमाले ठूला लगानीकर्ता मारमा परेका छन् । जसको असरले शेयर बजार घटेको ठहर लगानीकर्ताहरुको छ ।

यस्तो अवस्थामा अर्थमन्त्री आफैंले बजारको समस्या सच्याउन भन्दै निर्देशन दिनु कति उचित भन्ने सवाल उठेको छ । यसबारे विज्ञहरुको फरक-फरक मत छन् ।

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेपालको पुँजी बजार अर्थतन्त्रका आधारभूत नम्र्सहरुलाई टेकेर अघि बढेको जस्तो नदेखिएको बताउँछन् । त्यसको क्रिया-प्रतिक्रिया विभिन्न रुपमा देखिन थालेको उनको निष्कर्ष छ ।

‘अहिलेकै अवस्थामा एकै दिनमा १ सय अंकभन्दा बढीले घटबढ हुन्छ, यो हुरीबतास हो,’ उनी भन्छन्,’यासले बजारमा हनहन्ती ज्वरो आएकोजस्तो अवस्था छ भन्ने देखाउँछ, यस्तो अवस्था आउन बैंकिङ ऋणबाटै हुने लगानी कारणका रुपमा रहेको देखिएका नीतिगत व्यवस्थामार्फत करेक्सन गर्ने अधिकार राष्ट्र बैंकलाई छ ।’

लगानी गरेपछि त्यसको जोखिम पनि लगानीकर्ताले उठाउनुपर्ने भन्दै क्षेत्रीले उनले नम्र्स नहेरी लगानीकर्ताले लगानी गरेकाले नोक्सानी ब्यहोर्नु स्वभाविक भएको बताए ।

‘यो बजारमा सँधैभरि नाफा भइराख्ने हो र ? फेरि लगानी गरेपनि प्रतिफल लिन केही समय कुर्नुपर्छ, आज शेयर किनेर भोलि बेचेर लिएको नाफा प्रतिफल लिने कुरा नै गलत हो,’ उनी भन्छन्,’दीर्घकालीन प्रतिफलको लागि लगानी आयो भने बजार अनुमानयोग्य हुन्छ, हुरीबतास जसरी नै जाने हो भने लामो समयदेखि खेलिरहेका ठूला लगानीकर्ताले अनुचित प्रतिफल लिने अवस्था मात्रै हुन्छ ।’

पूर्व गभर्नर क्षेत्रीले यस्तो अवस्थामा पनि धितोपत्र बजारसम्बद्ध मौद्रिक नीतिले अर्थतन्त्रमा कुनै असर पर्ने देखिएमा अर्थमन्त्रीले गभर्नरसँग छलफल गर्नु अस्वभाविक नभएको बताए । ‘राष्ट्र बैंककको ऐनअनुसार नै उहाँले छलफल गर्नुभयो होला भन्ने मलाई लाग्छ,’ उनी भन्छन् ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनी बजार एकैदिनमा ठूलो अंकले घटबढ देखिनु सकारात्मक नभएको बताउँछन् । उनी बजारमा मौद्रिक नीतिपछि देखिएको गिरावटमा राष्ट्रबैंक कै नीतिलाई जिम्मेवार मान्छन् ।

‘राष्ट्र बैंकले अर्थतनत्रको नाडी सहीसँग छाम्न र समस्या पहिल्याउन असफल भयो, महामारीको अवस्थामा शेयर जबार बढ्दा राष्ट्र बैंक र धितोपत्र बोर्डको टाउको किन दुख्यो होला?’ उनी भन्छन्,’त्यसले अर्थतन्त्रलाई ज्यादै खराब गर्ने भएपछि नै राष्ट्र बैंकलाई हस्तक्षेप गर्नुभयो ।’

राष्ट्र बैंकले समयसापेक्ष नीति बनाउन नसकेको कारण नै राष्ट्र बैंक हस्तक्षेपको शिकार बनेको उनको बुझाइ छ । ‘राष्ट्र बैंकको आफ्नो स्वायत्तता छ, मौखिक रुपमा अर्थमन्त्री र गभर्नर छलफलमा बसेको भए पनि हुन्थ्यो,’ पंगेनी भन्छन्,’अर्थमन्त्रालयले प्रेस विज्ञप्ति नै निकालेपछि अर्थमन्त्रालयको सीधै हस्तक्षेप देखियो, त्यसले एक दिन त सेयर बजार बढ्यो, तर अर्थमन्त्रालयको हात माथि पर्‍यो ।’

भविष्यमा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिप्रतिको विश्वसनीयतामाथि नै यसले प्रश्न चिहृन खडा गर्ने पंगेनी बताउँछन् । यसले राष्ट्र बैंको मौद्रिक नीतिलाई अर्थमन्त्रीले नै ‘भाँचकुच’ पार्नसक्ने सन्देश गएको भन्दै उनले दुःख व्यक्त गरे ।

अर्थमन्त्रीलाई दबाव दिएपछि मौद्रिक नीति परिवर्तन हुनेसम्मको सन्देश दिने गरी काम भएको पंगेनी को भनाइ छ । अर्थमन्त्रालयले राजनीतिक उद्देश्यले ल्याएको अर्थनीतिले अर्थतन्त्रमा पार्नसक्ने नकारात्मक प्रभाव रोक्न मौद्रिक नीति आउने गरेको भन्दै पंगेनीले राष्ट्र बैंकले लिने नीति यति कच्चा हुन नहुने बताए ।

‘सरकारले अर्थव्यवस्थामा देखेका समस्या करेक्सन चाह्यो, तर गभर्नरसँग गरेको कुराकनीबारे औपचारिक रुपमै विषय बाहिर ल्याउनु गलत भयो,’ पूर्व कार्यकारी निर्देशक पंगेनी भन्छन्,’यसले राष्ट्र बैंकले पनि समयको गाम्भीर्यता र अर्थतन्त्रका सूचकका आधारमा सही नीति बनाउन नसकेको कुरा पनि प्रष्ट भएको छ । त्यही कारण अर्थमन्त्रालयले हस्तक्षेप गर्‍यो ।’

राष्ट्र बैंकका अर्का पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा शेयर बजारलाई अनुशासनका नछोड्दा समस्या परेको बताउँछन् । तीन-चार वर्षयता सेयर जबार निकै संवेदनशील देखिएको भन्दै थापाले राष्ट्र बैंक शेयर बजारभन्दा आफ्नो मूल विषयवस्तुमै बढी केन्दि्रत हुनु फलदायी हुने बताउँछन् ।

सरकारले अर्थतन्त्रका सवालमा उठेका सवाल राष्ट्र बैंकसँग छलफल गर्न सक्ने भन्दै थापाले अर्थमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय वित्तीय क्षेत्र समितिमा पनि यस्ता विषयमा छलफल हुनसक्ने बताउँछन् । विभिन्न निकायबीच समन्वयात्मक रुपमा नीतिगत रुपमा गर्नुपर्ने व्यवस्थाबारे सो मञ्चमा छलफल हुनुपर्ने उनको भनाइ छ ।

‘राष्ट्र बैंकले बजेट कार्यान्वयनलाई सफल बनाउने र मौद्रिक नीतिका लक्ष्यलाई अर्थमन्त्रालयले आर्थिक नीतिमार्फत सहयोग गर्ने हो,’ थापा भन्छन्,’समन्वय गरेर एकले अर्कालाई सम्मान गरेर कामकुरा गर्दा दीर्घकालसम्म राम्रो हुन्छ ।’

कतिपय अवस्थामा सरकारले बजारलाई ‘अनुशासित बस’ भन्दा बजारले नमान्ने भन्दै उनले बजार अनुशासन भएन भने मात्रै दण्डित गर्नुपर्ने उनको भनाइ छ । ‘बजारलाई आधारभूत प्यारामिटर राखेर स्वतनत्र छोड्ने हो,’ उनी भन्छन्,’बजारले राम्रोसँग काम गरेन भने आफैंले धान्न सक्दैन, शेयर बजार बढ्दा त्यो बजरलाई नै छोड्ने हो ।’ शेयर बजारमा टाठाबाठाहरुको प्रभुत्व रहेको भन्दै उनीहरुलाई नै अनुशासनमा छोड्नुपर्ने उनको भनाइ छ । बनाएको नियम उल्लंघन हुँदा मात्रै नियमनकारी निकायले डण्डा चलाउनुपर्ने उनको भनाइ छ ।

‘अहिलेको प्रश्न के काम आधारमा राष्ट्र बबैंकले ४ र १२ करोडको नीति ल्यायो भन्ने हो ?’ उनी भन्छन्,’तीन-चार वर्षअघि तत्कालीन अर्थमन्त्री नै लाग्दा पनि बजार नियन्त्रण हुन सकेन भने त्यसबाट अहिले राष्ट्र बैंकले सिक्नुपर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?