+
+

पहिलो ओडीआईमा पीएनजीमाथि नेपाल २ विकेटले विजयी

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ भदौ २२ गते १७:०२

२२ भदौ, काठमाडौं । नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई २ विकेटले पराजित गरेको छ ।

उत्कृष्ट बलिङ गरेको नेपालले ब्याटिङमा संघर्ष गर्दा रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरी जिताए । ओमानमा मंगलबार भएको खेलमा पीएनजीले दिएको १३५ रनको लक्ष्य  नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

ओडीआईमा डेब्यु गरेका कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तर ४६ रन जोडेपछि यो साझेदारी टुट्यो । भुर्तेल १२ औं ओभरमा व्यक्तिगत १५ रन जोड्दै आउट भए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा पुगे । तर १३ औं ओभरमा आसिफ पनि ३० रन बनाएर आउट भए । नेपालले ४९ रन हुँदा २ विकेट गुमायो ।

त्यसपछि नेपालले लगातार विकेट गुमाउँदा दबाबमा परेको थियो । तर लोअर अर्डरमा रोहितकुमार पौडेल र सोमपाल कामीले ईनिङ्स सम्हाल्दै नेपाललाई जितसम्म पुर्‍याए । ८२ रनमा ७ विकेट गुमाएको अवस्थामा रोहित र सोमपालले उत्कृष्ट साझेदारी गरे ।

छैटौं नम्बरमा ब्याटिङ  गरेका रोहितले ४१ रन बनाए भने सोमपाल २२ रनमा अविजित रहे । पीएनजीका लागि गौडी टोकाले ३ तथा डनेमिएन राभु र चाड सोपरले २-२ विकेट लिए ।

त्यसअघि ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजी ३३ ओभरमा अलआउट हुँदै १३४ रन जोडेको थियो । नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि पीएनजी पूरा ओभर क्रिजमा टिक्न सकेन ।

पीएनजीका लागि ओपनर लेगा सिएकाले सर्वाधिक ३० रन बनाए भने चार्ल्स अमिनीले २३, गाउडी टोकाले २२, विकेट किपर किप्लिन डोरिगाले १५, सेसे बाउले १४ रन बनाए । चाड सोपर १७ रनमा अविजत रहे । पोकनाले १ रन जोड्दा जासोन किला र डामिएन राभुले खातासमेत खोल्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै ओडीआईमा डेब्यु गरेका विक्रम सोबले ५ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।

ओडीआईमा डेब्यु गरेका बिक्रमले पहिलो ओभरको पहिलो बलमै विकेट लिएर शानदार सुरुवात गरे । उनले लगातार दोस्रो ओभर बलिङ गर्ने अवसर पाउँदा पीएनजीका ओपनर टोनी उरालाई १ रनमै बोल्ड गरे ।  उनले पीएनजी कप्तान असद भालालई आरिफ शेखबाट क्याचआउट गराए । भालाले ४ रन जोडे ।

९ रनमै सुरुवाती दुई विकेट गुमाएपछि पीएनजीले केही सम्हालिएर खेल्ने प्रयास गर्‍यो । सिएका र अमिनीले तेस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै इनिङ्स उकास्न खोजेका थिए । तर नेपालका सन्दीप लामिछानेले १२ औं ओभरमा अमिनीलाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाए ।

त्यसपछि भने पीएनजीले नेपाली बलरसामु खुलेर खेल्न सकेन र निरन्तर विकेट गुमाउन पुग्यो । अर्को ओभरमा कुशल मल्लले सिएकालाई कट एण्ड बोल्ड गर्दा पीएनजीले चौथो विकेट गुमायो ।

पीएनजीका सेसे बाउ र डोरिगाले इनिङ्स सम्हाल्न प्रयास गरेका थिए । तर स्कोर ८५ हुँदा पीएनजीले पाँचौ विकेट गुमायो ।

सन्दीपले २० औं ओभरमा सेस बाउलाई कुशल मल्लबाट क्याचआउट गराए । २३ औं ओभरमा कुशल मल्लले कुशल भुर्तेललाई डोरिगालाई क्याचआउट गराउदै नेपाललाई छैटौं सफलता दिलाए ।

जासोन किलालाई सन्दीपले २४ औं ओभरमा एलबीडब्लु धरापमा पारे । यस्तै सोमपाल कामीले ३० औं ओभरमा गाउड टोकालाई कुशल भुर्तेलबाट क्याचआउट गराउँदै नेपाललाई आठौं सफलता दिलाए । सोही ओभरमा डोमिएन राभु खाता नखोली रनआउट भए । ३३ औं ओभरको अन्तिम बलमा सन्दीपले नोसाइना पोकनालाई एलबीडब्लु धरापमा पार्दै पीएनजीको इनिङ्स समाप्त पारेका थिए ।

नेपाल र पीएनजीबीच दोस्रो ओडीआई शुक्रबार ओमानको आज खेल भएकै मैदानमा हुनेछ ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासहितको त्रिकोणात्मक सिरिजका लागि हाल ओमानमा रहेको नेपालले त्यसको तयारीस्वरुप नेपालले पीएनजीसंग खेलेको हो ।

तीन खेलाडीको डेब्यु, सोबको कीर्तिमान

पीएनजी विरुद्धको खेलमार्फत नेपालका तीन खेलाडीले ओडीआईमा डेब्यु गरे । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसंगै फास्ट बलर विक्रम सोबले यसै खेलबाट नेपालका लागि ओडीआईमा डेब्यु गरेका हुन् ।

नियमित विकेटकिपर विनोद भण्डारीलाई आराम दिएपछि आसिफले डेब्युमै विकेटकिपिङ गर्ने अवसर पाए । कुशल र आसिफले गत वैशाखमा नेपालमा भएको नेदरल्याण्ड्स र मलेसियासहित टी-२० त्रिकोणात्मक सिरिजबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

भुर्तेलले ५ खेल खेल्दा ४ खेलमा अर्धशतकसहित २७८ रन बनाएका थिए । यस्तै आसिफले एक अर्धशतकसहित १५४ रन बनाएका थिए ।

यस्तै बिक्रम सोबले झण्डै ६ वर्षपछि सिनियर टिममा पुनरागमन गर्दै कीर्तिमानी बलिङ गरे । उनले डेब्यु ओडीआईको पहिलो बलमै विकेट लिए । उनले ओडीआई डेब्यु खेलमा २ विकेट लिए । सोबले प्रधानमन्त्री कप र मेयर्स कपमा उत्कृष्ट प्रदर्शन गरेपछि ओमान टुरमा नेपाली टिममा स्थान बनाएका हुन् ।

ओभरमा ८ विकेट गुमाएर भेट्टायो । रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भएका थिए भने सोमपाल २२ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?