+
+

सांसदलाई देउवाको निर्देशन : एमसीसीबारे बुझेकाहरु बोल्नुस्, नबुझेका नबोल्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते २१:३३

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिएका छन् ।

कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा सांसदहरुले एमसीसी सम्झौता के गर्ने भनेर प्रश्न उठाएका थिए । जवाफमा संसदीय दलका नेता देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताए ।

यो प्रतिस्पर्धाबाट प्राप्त गरेको अनुदान भएको र यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको भन्दै उनले भने, ‘जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुन्छन् ।’

तर एमसीसीबारे अनावश्यक भ्रम फैलिएको भन्दै उनले भने, एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् ।’

‘एमसीसी अघि बढाउन खोज्दा आगामी चुनावलाई ख्याल गरिएको छ ?’

संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले एमसीसीलाई अगाडि बढाउँदा त्यसले आगामी चुनावमा कस्तो असर पर्छ ? भनी ख्याल गर्नुपर्ने बताएका छन् । यसबारे सरकारले ख्याल गरेको छ कि छैन ? भन्ने उनीहरुले प्रश्न गरेका छन् ।

सांसद मीनबहादुर विश्वकर्माले कांग्रेस कार्यकर्ताको चाहना सरकार एमसीसीमा नफसोस् भन्ने रहेको बताए ।

‘कार्यकर्ताको कुरा गर्ने हो भने सरकार यसमा नफसोस् भन्ने छ । नबोलौं बोल्नुपर्ने छ । बोलौं के बोलौं ? माधव नेपालहरु सडकमा छन् एमसीसीविरुद्ध । माओवादीको कुरा त्यही छ । अनि हामी अगाडि किन ?’ उनले थपे, ‘चुनावमा यसको कस्तो असर पर्छ ? कांग्रेसले आगामी चुनाव जित्ने हो भने यस्ता कुरामा ख्याल गर्नुपर्ने हुन्छ ।’

सांसद अत्तहर कमाल मुसलमानले भने, ‘महाकाली सन्धी एउटा रुपमा रह्यो । त्यसैगरी एमसीसी आएको छ । यसलाई अगाडि बढाउँदा चुनावमा कस्तो असर पर्न सक्छ ? एमसीसी अगाडि बढाउँदा आगामी चुनावमा कस्तो असर पर्छ भनेर ख्याल गरिएको छ ?’

एमसीसी पास गर्दा यसलाई अरु दलले राजनीतिक मुद्दा बनाउन सक्ने भएकाले त्यसतर्फ ख्याल गरिनुपर्ने उनले बताए ।

अर्का सांसद देवप्रसाद तिमल्सिनाले ‘एमसीसी पास गर्नै खोजेको हो कि के हो ?’ भनी प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?