
२४ भदौ, काठमाडौं । युरो च्याम्पियन इटलीले लगातार ३७ खेलमा अपराजित रहने पहिलो राष्ट्रिय टिम बनेको छ । विश्वकप छनोटअन्तर्गत लिथुअनियालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै इटलीले कीर्तिमान कायम गरेको छ ।
छनोट अन्तर्गतकै अघिल्लो खेलमा स्वीट्जरल्याण्ड्सँग बराबरी खेलेपछि नै इटलीले लगातार अपराजित रहने कीर्तिमान तोडेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सार्वजनकि गरेका थिए । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र इटालियन फुटबल संघले पनि कीर्तिमान भनेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
उता ब्राजिलले भने रोमानियाको बी टिमसँग खेलेको खेल पनि गणना गर्दै ३६ खेल अपराजितको कीर्तिमान रहेको जनाएको थियो । तर, रोवर्टो मान्सिनीको टिम इटलीले लिथुअनियाविरुद्ध शानदार जितपछि सबै शंकालाई पछि पार्दै कीर्तिमान बनाएको छ ।
युरो च्याम्पियन बनेपछि इटलीले पहिलो खेल जितेको हो । इटलीका लागि मोइस केनले दुई गोल गरे । यस्तै जिओभानी डि लरेन्जोले, गिएकोमो रास्पाडोरीले एक एक तथा लिथुअनियाका एडगारास उट्कुसले आत्मघाती गोल गरे ।
इटलीले ३७ खेल अपराजित रहने क्रममा २९ खेल जितेको छ भने ८ खेल बराबरी खेलेको छ । यसअघि ब्राजिलले १९९३ देखि १९९६ सम्म लगातार ३६ खेलमा अपराजित कीर्तिमान राखेको जनाइएको छ ।
ब्राजिलले ३६ खेलको अपराजित कीर्तिमानको विषयमा स्प्ष्ट नहुँदा इटलीले यस बहसलाई पनि अर्थहीन बनाइदिएको छ ।
मान्सिनीको टिम इटली २०१८ सेप्टेम्बरमा पोर्चुगलसँग हारेपछि अपराजित छ ।
विश्वकप छनोटको समूह सी मा रहेको इटलीले ६ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानको स्विट्जरल्याण्डमाथि ६ अंकको अग्रता बनाइसकेको छ । स्विट्जरल्याण्डको ४ खेलबाट ८ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4