+
+

पितृसत्ताको जेलमा ‘चरीहरू’ : दोष कसको ?

सरस्वती सुवेदी सरस्वती सुवेदी
२०७८ भदौ २८ गते १४:४१

संगीत मानिसको सुख–दुःख बिसाउने चौतारी मानिन्छ । संगीतमा पनि लोकगीत जनसमुदायको गीत हो भने तीज गीत पनि त्यसैको एक रूप हो । महिलाको स्वतन्त्रता पर्वको रूपमा लिइएको तीजमा उनीहरूले वर्षभरि आफूमाथि परेका थिचोमिचोलाई बाहिर ल्याउने गर्छन् । यसले गर्दा अर्कोपटक त्यस्ता घटनाहरू दोहोरिन नपाउन् र आफूहरू हिंसाबाट मुक्त हुन पाइयोस् भन्ने चाहनासहित यो पर्व मनाउने गरिएको छ ।

देशको राजनीतिक, सामाजिक परिवर्तनसँगै तीजका गीत÷संगीतका विषयवस्तुहरू पनि घरबाट गाउँ समाज हुँदै राष्ट्रिय महत्वका विषयहरूमा केन्द्रित हुन थालेका छन् । अशिक्षा, बेरोजगार, अनियमितता, भ्रष्टाचार जस्ता मुद्दाहरूमा केन्द्रित भएर अगाडि बढेको पाइन्छ ।

पछिल्लो समयमा विश्वमा मानव समानताको आवाज घन्किरहँदा हामी भने सामाजिक असमानताका गीतमा नै रमाइरह्यौं। फलस्वरूप महिला असमानताका गीतहरू नै घन्किरहे भने समानताका गीतलाई हामीले हाम्रा गीतको रूपमा अगाडि ल्याउन सकेनौं । असमानता तथा महिलाहरू शृङ्गारमा नै रमाउने वस्तु हुन् भन्ने मानसिकताका गीतमा नै नाँचिरह्यौं ।

पछिल्लो दशकमा सामाजिक सञ्जालको विकास क्रम ह्वात्तै बढेको छ । हाम्रा यी चाडपर्वले सामाजिक सञ्जालहरूमा विशेष ठाउँ ओगट्ने गरेका छन् । यसबाट फैलिएको देखावटीपनले हाम्रा चाडपर्वहरू झन्झन् भड्किला पनि बन्दै गइरहेका छन् । मनोरञ्जनात्मक क्रियाकलापमा समानता बढ्दैछ । तर, व्यवहारमा भने यी तीज पनि पुरुषहरूकै लागि व्रत बस्ने, जल खाने जस्ता क्रियाकलापले प्रोत्साहन पाउँदा असमानतालाई अझ बढावा दिइरहेको पाइन्छ ।

विशेषतः यसपालिको तीजमा सार्वजनिक भएको ‘चरी जेलैमा’ भन्ने गीतले महिलाहरूले जस्तोसुकै भौतिक सुखसुविधा भोगे पनि उनीहरू मानसिक रूपमा खासगरी पितृसत्तात्मक जेलबाट बाहिर निस्किन सकेका छैनन् भन्ने यथार्थ चित्रित गरेको छ ।

मनोरञ्जनात्मक कोसेलीका रूपमा निस्किने यस्ता गीत, संगीतहरू हाम्रो सामाजिक परिवेशसँग मेल खाएमा बढी बिक्छन् । बढी सुनिन्छन्, हेरिन्छन् । यस गीतमा पनि हाम्रो समाजको भित्री मनमा गढिएर रहेको छोरी अर्काको घरमा जाने जात हो उसले जसरी पनि घर गरेर खानुपर्छ, इज्जत जोगाउनुपर्छ जस्ता मनोभाव मज्जाले प्रकट गरिएको छ ।

नेपालमा मात्र होइन विश्वमा नै महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा नै हेर्दै आइरहेकोमा १९औं शताब्दीमा छिटपुट रूपमा महिलावादी आन्दोलनको शुरुआत भयो । सन् १९६० को दशकपछि यसले विश्वव्यापी रूप लियो । नेपालमा सन् १९७४ मा नेपाल महिला संघको स्थापना पछि औपचारिक रूपमा महिलावादी आन्दोलन अगाडि बढ्यो ।

नेपालमा पनि महिलावादी आन्दोलनको शुरुआत भएको झण्डै ५० वर्ष पुग्नै लाग्दा पनि हामी चरी जेलैमा गीतमा नै अल्झिरहेका छौं । या गीतले आफ्नो वर्चस्व यसरी जमाउन सफल हुनु भनेको हामी मानसिक रूपमा जेल मुक्त हुन सकिरहेका छैनौं भन्ने स्पष्ट देखिन्छ ।

पछिल्लो दशकमा प्राविदेखि पीएचडीका कक्षाहरूमा पनि महिला र पुरुषको सहभागिता बढ्दै लगभग बराबरीको स्थितिमा रहेको विभिन्न अध्ययनहरूले देखाइरहेका छन् । तर हामी आफूले पढेका कुरा यथार्थ रूपमा आफ्नो जीवनमा लागू गर्न किन सकिरहेका छैनौं त ?

तीजमा रोनाधोनाकै गीतहरू चल्नु वा मनपराइनुले हामी सबै पितृसत्ताबाट बाहिर निस्किन नसकेको छर्लङ्ग देखिएको छ । हामी महिलाहरूले हामी जेलमा छौं भन्ने कुरा सहर्ष स्वीकार गर्‍यौं तर आफ्नो ज्ञान शिक्षाले सिकाएको कुराहरूलाई किन सहर्ष स्वीकार गर्न सकेनौं त ?

तीजमा रोनाधोनाकै गीतहरू चल्नु वा मनपराइनुले हामी सबै पितृसत्ताबाट बाहिर निस्किन नसकेको छर्लङ्ग देखिएको छ । हामी महिलाहरूले हामी जेलमा छौं भन्ने कुरा सहर्ष स्वीकार गर्‍यौं तर आफ्नो ज्ञान शिक्षाले सिकाएको कुराहरूलाई किन सहर्ष स्वीकार गर्न सकेनौं त ?

महीनावारीलाई सामान्य जैविक प्रक्रिया हो भनेर पढ्ने हामीले हाम्रो व्यवहार बदल्न सकेका छैनौं । समाजले थोपरेको भान्सा छुन नहुने, मन्दिर जान नहुने जस्ता कुरीतिलाई किन यो गलत हो भनेर विरोध गर्न सक्दैनौं ? आफूले सिकेको ज्ञानलाई आफ्नो जीवनमा लागू गर्न सकिरहेका छैनौं । चलिआएको संस्कारको नाममा कुप्रथालाई कहिलेसम्म अँगालिरहने ? कहिलेसम्म हातमा स्नातक, स्नातकोत्तर तथा पीएचडीका सर्टिफिकेट र मनमा कुरीति तथा असमानताका बोझहरू बोकेर हिंडिरहने ?

समाज हिंडिरहेको बाटो भन्दा फरक बाटोमा हिंड्दा कहिलेकाहीं असहजताहरू आउन सक्छन् तर त्यसो भन्दैमा हामी समाजमा रहेका कुरीतिहरूलाई आत्मसात् गर्दै हिंड्ने त ? के हाम्रो डिग्री जागिरका लागि मात्रै हो त ! कि विवाहका लागि मात्र ?

नेपाली महिलाहरूमा दुईवटा समस्या छ । एकातर्फ पितृसत्ताबाट कमजोर छौं । तिमीहरूलाई नेतृत्व सुहाउँदैन भनिरहेको छ । खुट्टा तल तानिरहेको छ ।
अर्कोतर्फ हाम्रो हातमा नेतृत्व आउँदा समेत हामी सो नेतृत्वलाई स्वीकार गर्न सकिरहेका छैनौं । जिम्मेवारीलाई स्वीकार गर्ने आँट गरौं । यो समाजलाई नेतृत्व गरी अगाडि बढाऔं ।

हाम्रो देशमा चलेको जनयुद्धदेखि प्रत्येक आन्दोलनमा महिला सहभागिता छ तर नेतृत्व तहमा पुग्न नदिने यो पितृसत्ताले गाँजेको मनस्थितिलाई तोडौं । कमजोर मनस्थिति नबनाऔं । समानताको कुरामा डटेर अगाडि बढौं ।

विवाहित महिलालाई गृहमन्त्री भनेर सम्बोधन गर्ने पुरुषहरूले व्यङ्ग्य गरिरहेका छन् । यसबाट के प्रष्ट हुन्छ भने महिलाहरूका लागि प्रमुख पद उपयुक्त छैनन् वा होइनन् । महिलालाई यस्तै बिम्बहरूमा सीमित गर्ने प्रयास भइरहेको छ । यसरी नै अल्झाएर राख्न खोजिएको छ ।

अब पनि चरी जेलैमा भन्दै बस्ने कि त्यसबाट निस्किने भन्ने कुरा अहिलेका महिलाहरूको चुनौतीको रूपमा रहेको छ । सामान्य कुरा गर्दा हाम्रो समाजमा विवाहको कुरा आउँदा केटा उमेरमा जेठो, पढाइमा माथिल्लो डिग्री, सम्पत्तिमा आफूभन्दा सम्पन्न नै होस् भन्ने चाहनाबाट माथि उठ्न सक्दैनौं । तर गीत गाइरहेका हुन्छौं– चरी जेलैमा । अनि हामी जेलमा नबसेर को बस्नेछ ?

यस्तो सोचबाट माथि उठौं र मानसिक रूपमा बाँधिएर रहेको जेलबाट मुक्त बनौं । अब पनि महिलाहरू पितृसत्ताबाट निस्किन नसक्ने हो भने गल्ती चरीकै हुनेछ, जेलरको होइन ।

आफ्नो हातमा भएको सीप, डिग्री तथा क्षमतालाई भरपूर प्रयोग गरौं, स्वावलम्बी बनौं जिम्मेवारीलाई बहन गरौं । सदिऔंदेखि महिलाहरूमाथि मानसिक रूपमा गाँजिएर रहेको जेलबाट मुक्त बनौं । पितृसत्तालाई महिला पुरुष दुवै मिली परास्त गरी महिला कैदी र पुरुष जेलरको सोचको अन्त्य गरौं । समानतालाई अगाडि बढाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?