Comments Add Comment
नियात्रा :

गरीबहरूलाई के देश, के कालापहाड !

सडक निमार्णका लागि ढुंगा बोक्दै गरेकी महिला ।

हिउँद भर्खरै शुरू भएको छ । मानिस खेतबारीको काम सकेर केही फुर्सदिला भएका छन् । कोरोनाको डर बाँकी नै छ तर थोरै मानिस मात्र डराए झैं गर्दछन् ।

पारि उहिले राजा महेन्द्रले फोटो खिचेर एक रुपैयाँ राखेको अजङ्गको चङ्खेली देखिन्छ । तल निलो मुगु कर्णाली बगिरहेको छ । वागमतीमा फोहोर गर्ने हामीलाई यस्तो दृश्यले चाहिं धेरै मन तान्छ ।

बिहान करीब १० बजे गमगढीबाट खाना खााएर हामी ओरालो लाग्यौं । खोला हुँदै बजारसम्म आउने फराकिला सडकहरू भर्खरै खनिएका छन् । तलबाट आउँदै गरेको एउटा जीपले उडाएको धूलोले सडक छेउमा खेल्दै गरेका बच्चाहरूलाई छपक्कै छोपेर गयो । हामी नजिकै पुग्दा उनीहरू लजाउँदै धूलो पुछ्दै हामीलाई नियाल्दै थिए ।

अलि अगाडि पुगेपछि एउटा मोडबाट माथि गमगढी बजारको लागि ढलान गरेको ढल निकास तल खोलासम्म लगेको भेटिन्छ । अब यही बाटो भएर गमगढीवासीले छिट्टै आˆनो फोहोर खोलातिर बगाउने छन् । मनमा कता कता बिझाउँछ ! नयाँ र आधुनिक भनिने समयमा पनि हामीले यस्तो विकास किन पछ्याउँदैछौं ?

त्यो ढललाई अरू नै वैकल्पिक व्यवस्थापन गर्न सके यति सुन्दर खोला कुरूप हुनबाट जोगिने थियो । हातमा व्यवस्था भएकाहरूले थोरै सुझबुझ लगाउने हो भने भोलिका सन्ततिले सुन्दर मुगु-कर्णालीदेख्न पाउने थिए । कुरा मुगु कर्णालीको मात्र होइन, अहिले अधिकांश नदीहरू प्रदूषित हुँदैछन् ।

सरोज खतिवडा

अझै पनि मुगु लगायत कर्णालीका केही जिल्लामा खच्चड ढुवानीको मुख्य साधनको रूपमा छ । विश्वासिलो सडक सञ्जाल नभएर होला, सडकमा खच्चड र गाडीहरू उत्तिकै देखिन्छन् । गमगढीबाट कतै मूल सडक हुँदै कतै पुरानो बाटो हुँदै तल झुलेमा पुगेर तुइन तरेर पारि जाने रहेछ ।

अलि तलबाट झोलुङ्गे पुल पनि थियो तर तुइन तरेर पारि जाँदा गाडी भेटिने भनेर हामीलाई साथीहरूले भनेको हुँदा हामी झुले आएका थियौं । तुइन भए पनि यो तुइन झुन्डिएर हैन बसेर तर्ने थियो । कति रमाइलो जिन्दगीमा तुइन चढेको छु भन्न पनि मिल्ने खासै जोखिम पनि नहुने । एकजना बराबर पचास रुपैयाँ तिरेर मानिसहरू वारिपारि गरिरहेका छन् । जीवनमा कहिल्यै तुइन नचढेको तर सधैं तुइन जोखिमको समाचार पढ्दै आएका हामी भने डराउँदै पारि पुग्यौं ।

खोला तरेपछि माथि रुगा, बाम, नाफा, छोइपाटा हुँदै दर्खेलवाडासम्म गाडी जाने रहेछ । नियमित होइन रिजर्भ गरेर । हामीले गमगढीबाट नै चालकसँग कुरा गरेका थियौं । तुइनबाट ओर्लेर करीब आधा घण्टा जति कुरेपछि गाडी आयो तर हामी भएको ठाउँमा आएर चालक फेरि भाडामै गलफत्ती गर्न थाले ।

हाम्रो जस्तो अस्तव्यस्त व्यवस्थापन भएको देशमा बानेश्वरबाट रत्नपार्कसम्म लैजाने सहचालकले त ठग्छ भने यो ठाउँको के कुरा गर्ने ? यतिबेला हामीसँग कि हिंड्ने कि उनैलाई झेल्ने बाहेक अरू विकल्प पनि थिएन । बढीमा करीब दुई घण्टाको बाटोलाई पाँच हजार तिर्ने र मानिस थपिए हामी आफैंले भाडा लिने गरी हामी बसेपछि चालकले जीप चलाउन शुरू गरे ।

हुन त अब छिट्टै यो उकालोमा गाडीहरू धूलो उडाउँदै कुद्नेछन् । ट्याक्टर, ट्रकहरू कथित विकास बोकेर आउनेछन् । विपत्ति र अभाव छाडेर जानेछन् । पक्कै पनि मानिसको जिन्दगी सडकमा गाडी कुदे जस्तो सरल हुँदैन

मनको दुःख फेरि शुरू हुन्छ । रहरै रहरमा बनेको सडक र सपना देखाउँदै गुडेका गाडीमा कालापहाडबाट दश हण्डर खाएर बचाउँदै ल्याएको पैसाले मानिसले कसरी चढ्लान् ? यो सडक हुँदै के चढेर आउला अनि के चढेर फर्केला ? कतै ढुङ्गै ढुङ्गा, कतै धुलाम्य सडक हुँदै गाडी अगाडि बढ्न थाल्यो । राराबाट झरेर दुई दिन बसेको गमगढी टाढा हुँदैछ । नीलो र सुन्दर मुगु कर्णाली झन् तलतल देखिंदैछ ।

हामी कुनै बेला पहाडको बाङ्गोटिङ्गो बाटो हुँदै खोचमा हराउँदै, कुनै बेला डाँडा थुम्काबाट गाउँ, खोला र मानिसहरूलाई चियाउँदै, फेरि तुरुन्तै आकाशको बादलभन्दा बाक्लो धूलोले छोपिंदै अगाडि बढ्दैछौं ।

अघि खोलाबाट हामी अगाडि लागेका सहित अलि माथिसम्म आउँदा ७ जना यात्री पुगेका छन् । गाडीमा चर्को आवाजमा दुर्गेश थापाको गीत घन्किरहेको छ । नाफा गाउँमा पुगेर चालक गाडीबाट झरे अनि एउटा बालकलाई बोलाए । बालक उनको छेउमा आएपछि चालकले उसलाई निरन्तर झापड हाने । यी त्यही बालक थिए जसले अघि यो गाडीको सिसामा ढुङ्गाले हानेर फुटाएका रहेछन् ।

गाउँले, गाडीमा भएका अरू मानिस सबै रमिते भएर हेर्न थाले तर कसैले रोकेनन् । हुन त गाडीको अगाडिको सिसा चर्केको थियो । हामी त झनै नयाँ ठाउँमा गएका के भन्न सक्थ्यौं र ? पछि चालक गाडीमा बसेपछि बच्चालाई किन त्यसरी पिट्नुभएको भन्दा चालक भन्छन्- ‘यहाँका बच्चाहरू छुच्चा छन् । यसै छोड्यो भने त भोलि सबैले ढुङ्गा हान्न थाल्छन्, त्यही भएर डर देखाउनुपर्छ ।’

उनले फर्किएर मेरो अनुहारतिर हेरे अनि फुटेको सिसातिर हेर्दै थपे- ‘सर नेपालगञ्ज जानुपर्छ यो फेर्न । खर्च हिसाब गर्नु त !’

अगाडि चङ्खेलीको डाँडा नजिकै देखिन्छ । फेरि एउटा मोड आउँछ चङ्खेली फेरि उत्तिनै पर जान्छ । फुङ्ग उडेको भए तापनि पहाड, डाँडा कतै समथर पाटाहरू, कतै पाखो भिरालो परेको ठाउँ र तिनै ठाउँमा कतै गुज्जमुज्ज कतै एकादुई बसेका घरहरू सबै सुन्दर देखिन्छन् । पुराना घरहरू तलामा माटो छापेर थारो बनाएका छन् ।

नयाँ घरहरूमा भने जस्ता (टिन) प्रयोग गरिएका छन् । थारोहरूको बीचमा जस्ता नमिल्दा नै देखिन्छन् । यद्यपि अब विस्तारै परम्परागत थाराहरू हराउँदै जानेछन् । कर्णालीका मानिसको लागि झुरुप्प परेका घर र ती घरहरूमाथि थारा एउटा महत्वपूर्ण अभ्यास हो । यसको पर्यावरणीय अर्थ पनि छन् । एकादुई घरहरू काठले छाएको पनि देखिन्छ । तर यस्ता घरहरू हेर्दा खर्क वा गोठका लागि बनेका जस्ता देखिन्छन् ।

मुगु सदरमुकाम गमगढीबाट देखिएको चङ्खेली हिमाल ।

बाटोमा कमै मात्र गाडी भेटिन्छन् । दुई ट्याक्टर र केही मोटरबाइक भन्दा अरू देखिएन भन्दा पनि हुन्छ । मानिसहरू सडक बनाउँदै छन् । अचेल यस्तो दृश्य कमै भेटिन्छ । शहरमा त्रास छ रोबर्ट आउला र मानिसको काम छिन्ला । गाउँमा त यो उहिल्यै शुरू भएको छ । एउटा स्काभेटरले कैयौं मानिसको रोजीरोटी खान सक्छ ।

यसैगरी एउटा डोजरको काम मानिसलाई दिने हो भने सिङ्गो गाउँ नै कामकाजी बन्न पुग्छ तर गरीब मानिसले नेतृत्वलाई के दिन सक्छन् र बरु स्काभेटर नै अहिले नेतृत्वको लागि दोहोरो दुहुनो गाई भएका छन् । पछिल्लो समय डोजर र नेतृत्वको चलखेलबारे छापामा बाक्लै पढ्न पाइन्छ ।

जे होस् यो सडकमा मानिस काम गर्दैछन् । यहाँ महिला पनि पुरुष जति नै सडक निर्माणमा लागेका छन् । तिनीहरूले गरिरहेको काम भने फरक-फरक छ । जस्तो पुरुषहरू गारो लगाउने काम गर्दैछन् भने महिलाहरू ढुङ्गामा नाम्लो लगाएर पिठ्यूँमा बोकेर गारो लगाउने ठाउँसम्म लैजाँदै गरेको देखिन्छ । पुरुषहरू सडकको डिलमा बसेर खैनी चुरोट खाँदै गरेका देखिन्छन् ।

महिलाहरू सडकको भित्तातिर बसेर छोराछोरीलाई खुशी बनाउँदै छन् । युवाहरू फोनमा गीत सुन्दैछन् । प्रौढहरू समूहमा कुरा गर्दैछन् । जीपबाट बाहिर हेर्दा वरिपरि सल्लाका रूखहरू देखिन्छन् । यसले गर्दा अनुमान हुन्छ यो धेरै अग्लो ठाउँ भने हैन ।

हामीलाई दर्खेलवाडामा छाडेर गाडी फर्किने भयो । अघि पूरै गाडी रिजर्भ गरेको पाँच हजार भनेका चालकले अहिले सबैसँग एक-एक हजार भाडा लिए । करीब डेढ घण्टा गाडीको यात्रापछि अबको हाम्रो यात्रा सिमकोटसम्म नै पैदल हुनेछ । फेदीबाट माथि पुग्ने बाटो उकालो भएको हुँदा हामीलाई अलि समय लाग्छ नै । पेटले खाजा माग्दैछ तर यहाँ कुनै होटल, पसल हुने सम्भावना नै छैन ।

उकालो शुरु भएपछि बाटोमा धेरै डालेचुकका रूखहरू देखिन्छन् । डालेचुक हुम्लामा पनि पाइने एउटा महत्वपूर्ण जडीबुटी हो भनेर मलाई साथीले भने । उसो त मुगु, हुम्ला लगायत माथिल्लो कर्णाली नै जडीबुटीमा धनी छ । यहाँको जडीबुटीलाई व्यवस्थापन गर्न सके यसले स्थानीय तथा समग्र देशको अर्थतन्त्रलाई टेवा दिनेमा कुनै शंका छैन ।
बाटाभरि ग्वाला (गोठालो) आएका, घाँसदाउरा वा पिरल (सल्लेपिर- सल्लाको सुकेर झरेको पात) बोकेर आउँदै गरेकाहरू, पानी भर्दै गरेका नानी वा सडक बनाउँदै गरेका मानिस सबैले हाम्रो झोला र हुलिया हेरेर खासखुस गर्छन् । कोही कोही बोल्छन् पनि । गाउँलेसँग निस्वार्थ मुटु हुन्छ । ती हाँस्दा निस्फिक्री हाँस्छन् । त्यसले अरूलाई पनि खुशी नै दिन्छ ।

मान्नुस् न गुराँस फुले जस्तै तिनीहरूको खुशी फुलेको हो । तीस चालीस मिनेट उकालो लागेपछि हामीलाई झोलाहरू भारी हुन थाले । पारि अजङ्गको पहाड देखिन्छ । त्यही पछाडि रारा लुकेको छ भन्ने लाग्दा आँखामा उही अस्ति देखेको सुन्दर रारा आउँछ ।

चङ्खेलीको उकालोमा एक ठाउँमा मात्र फोन सम्पर्क हुँदोरहेछ । एकैछिन झोला बिसाएर घरतिर फोन गरियो । दालमोठ, चिउरा र थर्मसमा बोकेको पानी खाएर फेरि उही

उकालो शुरु भयो । आज कुन बेला कहाँ पुगिन्छ थाहा छैन, तर हिंड्नु त छँदैछ ।

जीवनको कति उकाला सहज ! कति कठिन ? यो भोग्दै जाँदा अनुभव हुने कुरा रहेछ । पूर्वमा जन्मेको मेरा लागि पहाड नौलो त होइन तर अचेल शहरको बसाइले उकालोमा अभ्यस्त हुन छाडियो ।

गमगढी बजारभन्दा तलको सडकमा सामान बोकेका घोडाहरू ।

हुन त अब छिट्टै यो उकालोमा गाडीहरू धूलो उडाउँदै कुद्नेछन् । ट्याक्टर, ट्रकहरू कथित विकास बोकेर आउनेछन् । विपत्ति र अभाव छाडेर जानेछन् । पक्कै पनि मानिसको जिन्दगी सडकमा गाडी कुदे जस्तो सरल हुँदैन । यहाँ चल्ने गाडीको क्रय क्षमता यहाँका मानिसहरूको कसरी बनाउने ? यो अहिलेको नसुल्झिएको प्रश्न हो ।

यो प्रश्न मुगुको मात्र होइन समग्र हाम्रो विकासे अभ्यासको हो । भर्खरै खनेका सडक विकास हो भनेर हेरियो भने मात्र खुशी मिल्छ अन्यथा यी सारै कुरूप देखिन्छन् । अझ आधुनिक यन्त्र लगाएर खनिएका यस्ता सडकले बनाउने प्रकृतिको हालत विक्षिप्त मानिसको जस्तै तहसनहस हुन्छ ।

हामी अहिले अग्लो ठाउँमा पुगेको कुरा यहाँ देखिएका खस्रु र सल्लाका रूखहरूबाट नै थाहा हुन्छ । यी यति अजङ्गका ठूला रूखहरू छन् कि एउटै रूख धोदि्रएर बनेको टोड्कोमा हामी दुवै भाइ अट्ने ठाउँ देखिन्छ । दुवै हातको फेराले नभ्याउने भव्य रूखहरू कुनै दिन शहरको यात्रामा निस्किने पो हुन् कि ? मानिस बासतिर जाँदै गरेका भेटिन्छन् ।

सडक खन्नेहरू अहिले फर्किसकेका छन् । खच्चडहरू अघि भन्दा पातलो भेटिन्छ । परपरबाट खच्चडको घाँटीमा झुन्ड्याएको घन्टी टिङ्ग, टिङ्ग बजिरहेको आवाजले जङ्गलको एकान्त चिर्दैछ । उकालो, चिसो तथा उचाइ बढेपछि स्वाँ स्वाँ पनि थपिएको छ ।

परपर पहाडका टुप्पामा परेको हिउँले आँखाहरू तानिरहेको छ । बिहान उठेपछि देखेको अग्लो ठाउँमा अझै पुग्न सकिएको छैन । उकालोको बीचमा खाएको चिउराले छाडिसकेको छ । बोकेको पानी सकिएको छ तर तिर्खा बढेको छ ।

एकजनाले भने- ‘आज चार महीनालाई छोरीको बोली सुनें सर । अब चार महीना अगाडि घरमा कुरा हुँदैन ।’ सबै मौन भए । एकछिन रोकिएर उनले पुनः थपे, ‘यिनीहरूको विकास त इइइ मेरो …! एउटा फोन पनि लाग्दैन ।’

यत्तिकैमा एउटा घरमा बाहिरबाट आगो बलिरहेको देखिन्छ । हामी आँगनमा पुगेर कान थाप्दा ढ्याप ढ्याप पारेको आवाज सुनियो । पक्कै रोटी पाक्दैछ जस्तो लागेर मागेर खानुपर्‍यो भनेर दैलाबाट चियाएर हेर्दा होइन रै’छ । केही खानेकुरा बनाइदिन भन्न पनि सकिएन । रात पनि पर्न लागेको छ । के थाहा बीचमा बास पाइएला वा नपाइला ! सातथाप्ले कति टाढा छ भनेर सोध्दा मानिसहरूले चार घण्टामा पुगिन्छ भनेको पनि ६ घण्टा बितिसक्यो । अहिलेसम्म हामी चङ्खेलीको लेक पुग्न सकेका छैनौं ।

हामी लेकमा पुग्दा झमक्क साँझ परिसकेको छ । डाँडामा एउटा माटो र ढुङ्गाले बनेको एकतले घर देखियो । हामीलाई बाटामा भेटिएका मानिसले आज सातथाप्ले पुग्न सकिने बताएका थिए । हामी त्यतै जान लागेको बेलामा गाडीमा साथै आएका र उकालोबाट हामीभन्दा अघि भएका युवामध्ये एकजना बाहिर निस्केर भने- ‘सरहरू यतै बस्दा राम्रो होला । योभन्दा धेरै टाढा मात्र घरहरू पाउन सकिन्छ र यताको राम्रो होटल पनि यही हो ।’

भोक र थकाइले लखतरान भएका हामीले पनि त्यहीं बस्ने मनस्थिति बनायौं । चिसो बढ्दै थियो अञ्जान ठाउँमा कति पर घर छ थाहा छैन, कति हिंड्ने ?

यहाँ तिनै मानिसहरू थिए जसले हामीलाई दिउँसो बाटोमा फोन लाग्ने ठाउँमा फोन गर्न सुझाएका थिए । हामीले झोला बिसायौं र जडीबुटी चिया खान थाल्यौं ।

आज रातको बास चङ्खेलीको लेकमा हुनेभयो । यो स्थान मुगु र हुम्लाको सिमानामा पर्छ । घोडेमर्चाको चिया खाएपछि शरीरमा केही ऊर्जा आयो । यसपछि हामी आगो ताप्न थाल्यौं ।

होटलवालासँग पचास रुपैयाँको आलु लिएर पोलेर खान थालियो । देख्दा साना तर स्वादिला आलु खाँदै गर्दा तिनै डोजर चालकमध्ये एकले बताए- ‘यो यहाँको लोकल आलु हो ।’

फेरि अर्काले थपे- ‘यहाँ हुम्लामा भारत जानेलाई कालापहाड जाने भन्छन् । हामीलाई यही चङ्खेली कालापहाड जस्तो लाग्छ । गरीबहरूलाई के देश, के कालापहाड ?’

मानवशास्त्री मेरी डेशेनले लेखेको, खगेन्द्र संग्रौलाले अनुवाद गरेको सत्य र सत्ताको भूमिकामा २० वर्षपछि घान्द्रुक गएर आलु खाँदा त्यो आलु पहिलेको स्थानीय जस्तो स्वादिलो नभएको भन्दै पढेको थिएँ । उनले अगाडि लेखेेकी छन्- ‘मानिसहरूले रूपको कथित आधुनिकीकरण र मात्रा वृद्धिको निम्ति सारको बलिदान गरिरहेका छन् ।’
के थाहा हामी अर्कोपटक आउँदा यहाँ आलु पाइएला नपाइएला ? पाए पनि कुन स्वादको पाइएला ?

चङ्खेली लेक अग्लो स्थानमा रहेको हुँदा यो ठाउँ अहिले नै चिसो छ । चङ्खेली गाउँपालिका हुँदै गमगढी जाने यही बाटो भएको हुँदा यहाँ होटलका लागि बनेका केही घर छन् । चङ्खेली गाउँपालिकाका मानिसलाई बजारको लागि सिमकोट भन्दा यतै आउन सजिलो हुन्छ ।

उनीहरूलाई प्रशासनको कामले गर्दा मात्र सिमकोट जानुपर्छ । तर व्यापारिक र व्यावहारिक कामको लागि गमगढी नै जान नजिक पर्ने होटलवालाले बताए । हुन त अब छिट्टै नै यो बाटोमा फरकपन आउनेछ । मानिसहरू यो बाटो फेर्नेछन् । खच्चड छाड्नेछन् । यहाँ बास बस्न छाड्नेछन् । होटलवाला भन्छन्- ‘अहिले पहिले जस्तो होटल चल्दैन । मानिसहरूले खच्चड प्रयोग गर्न छाडिसके ।’

होटलमा हामी बाहेक अरू पाँचजना स्काभेटर चालक पनि छन् । नेपालगञ्ज, धनगढी जस्ता टाढा घरभएका उनीहरू एक वर्षमा एकचोटि घर जाने गर्दा रहेछन् । आगो वरिपरि बसेर केहीले लोकल रक्सी पिउन थाले ।

आलु सकिएर मासुको पोल्ने पालो आएको छ । उता पल्लो होटलमा गएर साथीले ६०० तिरेर एउटा खसीको सिङ्गै साप्रो बोकेर आएका छन् । साहुजी मासु काटेर दिंदै कुरा सुन्दैछन् । बास बस्नेहरू आगोमा मासु पोलेर खाँदै गफिंदै छन् । खानेहरूलाई लोकलले छुन थाल्यो ।

एक जनाले भने- ‘आज चार महीनालाई छोरीको बोली सुनें सर । अब चार महीना अगाडि घरमा कुरा हुँदैन ।’

सबै मौन भए । एकछिन रोकिएर उनले पुनः थपे, ‘यिनीहरूको विकास त इइइ मेरो …, एउटा फोन लाग्दैन ।’

अर्कोले थप्यो- ‘पुरानो जमाना जस्तो चिठीको नि दिन गए फोन पनि हुँदैन । घरमा केही तल-माथि हुँदा पनि थाहा हुँदैन ।’

फेरि अर्काले थपे- ‘यहाँ हुम्लामा भारत पस्नेलाई कालापहाड जाने भन्छन् । हामीलाई यही चङ्खेली कालापहाड जस्तो लाग्छ । गरीबहरूलाई के देश, के कालापहाड ?’
माहोल अलि निराश हुँदैथियो । यत्तिकै एकजनाले गीत गाउन शुरु गरे । अनि सबैले थपे –

काफल खान्या कुईया मर्‍योला जुनकिरी सिसाकी गोलीले
लाग्दै माया बढ्दै गयोला जुनकिरी त्यो मीठो बोलीले …
नेपालगञ्ज शहर …

होटेल साहुनी आफ्ना लालाबालाको साथमा ।

एकै छिनको रमाइलोपछि खाना तयार भएको खबर आएपछि सबै घरभित्र पसियो । होटलवाला रमाइला रै’छन् । खाना खाँदै गफ गरियो ।

होटलवाला साहुजी दल सिंह २६ वर्षका, साहुनी हिक्मती २८ वर्षकी । ‘उमेरले मायाकन काँ छेक्छ र होई सर ?’ साहुजीले कुरा थाले ।

‘मलाई मन परेकी होइन, यसैले जिद्दी गरेर विवाह गरेको’ उनले आफ्नो वाक्य पूरा नगर्दै साहुनीले डाडु ताकिन् । उनले हाँस्दै आँखा मारे, कुरा टारे ।

साहुनीले लजाउँदै भनिन्, ‘खासमा यसको र मेरो त्यो बेलाको घर एउटै गाउँमा हो । सधैं ग्वाला जाने, एउटा गाउँको मान्छे, मन पो परेछ । अनि माया पो परेको हो सर ।’
यतिबेला उनीहरूको छोरो आमा छेउ आएर झगडा गर्न थाल्यो ।

‘अनि के भयो ?’ हामी मध्यबाट एकजनाले सोधेपछि साहुजीले भने- ‘अनि हुनु के थियो र ? विवाह गरिदिंदैनथ्यो, अनि चलन पनि त्यस्तै । त्यही भएर भागेर विवाह गरेको ।’
यो होटल उनीहरूका बाबुले १३ वर्षअघि थालेका हुन् । तल छोइपाटामा उनीहरूको घर छ । वस्तुभाउ छन् । खेतीपाती, स्याउ बारी पनि छ । परिवार ठूलो छ र बारीको कमाइले ६ महीना पनि खान पुग्दैन । यो होटलकै कारण खान पुगेको रहेछ ।

अहिले बाबु बिरामी भएकोले उनीहरूले होटल सम्हालेको दुई वर्ष भएको छ । दुवैको जीवनमा ठूलो आशा, अपेक्षा र सपना केही छैन । अनुहारमा छरिएको कपाल कानमा सिउरिंदै साहुजी थप्छन्- ‘बस यही छोरालाई नेपालगञ्जतिर लगेर अङ्ग्रेजी पढाउन सकियोस् ।’

साहुजी आफैं मुश्किलले नाम लेख्न सक्छन् । उनी आफैं एकपटक नेपालगञ्ज पुगेका छन् । साहुनी केहीपटक गमगढी पुगेकी छन् । राजनीतिको ‘र’ पनि नजानेका उनीहरूले अहिलेसम्म भोट पनि हालेका छैनन् ।

हिजो दिनभरको थकाइ र चिसोले रातभरि निद्रा लाग्यो । बिहान उठेर ट्वाइलेट जाने बेला थाहा भयो चिसोले पाइपमा जमेर पानी बन्द छ । अब के गर्ने ? हाम्रो मनोभावना बुझेर एकजनाले ढुङ्गातिर देखाए ।

दुई भाइ नै हातमा एक-एक ढुङ्गा लिएर पालै पालो काम खलास गरी फर्केर आउँदा साहुनीले मुख धुने तातोपानी दिइन् । पींध धुन नपाए पछि मुख पनि धोइएन । त्यही पानीले हात धोएर खाजा खान योग्य बनियो ।

अघिल्लो बेलुका नै बिहानको खाजाका लागि रोटी बनाइदिनु भनेका थियौं । ‘रोटा पनि क्या खाँदा हौ त ? बरु चाउचाउ खाउ, बिस्कुट खाउ, मकन बनाइदिउला’, साहुनीले भनिन् ।

उनलाई लागेछ- हामीले अरु खाना नभएर रोटी भनेका हौं । हामीले चाउचाउ, बिस्कुट नखाने रोटा नै खाने भनेको हुँदा बिहानै साहुनीले रोटा बनाइन् । अनि अँगेना माथि झुन्ड्याएको खसीको साप्रोबाट थोरै काटेर तरकारी बनाएर दिइन् ।

घोडामर्चेको चिया, खसीको मासु र रोटा खाएर हामी करीब ७ बजेतिर बाटो लाग्यौं ।

(९ मंसीर २०७७ मंगलबार, चङ्खेली लेक)

सबै तस्वीरहरू : सरोज खतिवडा

तुइनबाट नदी तर्दै एक महिला ।
रुगा भ्यालीका घरहरू ।
छापोका लागि कुसुम बोकेका महिलाहरू ।

टाढाबाट देखिएको चङ्खेली हिमाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment