+
+
स्वास्थ्यमा बजेट होलिडेको असर :

खोप खरीद र प्रयोगमा समस्या नपर्ने

नयाँ खोप र औषधिले भने आपतकालीन प्रयोगको अनुमति नपाउने

सागर बुढाथोकी सागर बुढाथोकी
२०७८ भदौ ३१ गते १९:३६

३१ भदौ, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोपको आपतकालीन प्रयोगको बाटो खोलेको औषधि (तेस्रो संशोधन) अध्यादेश निष्क्रिय भएसंगै खोप प्रयोग र खरीदमाथि कानुनी प्रश्न उठेको छ ।

२०७७ मंसिर ४ गते राष्ट्रपतिबाट जारी अध्यादेशले विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका खोप आपतकालीन प्रयोगका लागि बाटो खोलेको थियो । उक्त अध्यादेश सरकारले साउन ३ गतेको संसद बैठकमा पेश गरेको थियो । तर ६० दिनसम्म संसदबाट पारित नभएका कारण भदौ ३० गतेदेखि निष्क्रिय भएको हो ।

अध्यादेश निष्क्रिय भए पनि यसअघि आपतकालीन प्रयोगको अनुमति पाइसकेका खोपको खरीद र प्रयोगलाई असर पर्ने छैन भने नयाँ खोप र औषधिलाई आपतकालीन प्रयोगको अनुमति दिन मिल्ने छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेतका अनुसार अध्यादेश निष्क्रिय भए पनि यसअघि आपतकालीन प्रयोगको अनुमति पाइसकेका खोप तथा औषधि प्रयोग र खरीद गर्न कानुनी बाधा छैन । तर,  अध्यादेश निष्क्रिय भएका कारण नेपालमा यसअघि दर्ता नभएका खोप र औषधीले भने आपतकालीन प्रयोगको अनुमति पाउने छैनन् ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपालमा आपतकालीन प्रयोगको अनुमति लिने प्रकियामा रहेका खोप र औषधि दर्ता रोकिएको बताए । ‘पहिला अनुमति लिइसकेकालाई कुनै समस्या भएन तर नयाँ खोप खरीद तथा आयात गर्न चाहनेहरुको लागि समस्या भयो’ उनले भने ।

अध्यादेश जारी भएपछि कोभिसिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन, अक्सफोर्ड एस्ट्रेजेनेका, सिनोभ्याक लाइफ साइन्सको खोप तथा १२ बर्षमाथिका बालबालिकालाई लगाउन फाइजर खोपले आपतकालीन प्रयोगको अनुमति पाइसकेका छन् ।

त्यसैगरी अमेरिकी कम्पनी मोडर्नाको खोप, रुसी कम्पनीको स्पुतनिक भी र भारत बायोटेकको कोभ्याक्सिनले पनि आपतकालीन प्रयोगको अनुमति पाइसकेका छन् । रेमडिसिभिर तथा प्लाज्मा थेरापीले पनि नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । यी औषधि तथा खोप खरीद र प्रयोगमा समस्या नहुने औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसी बताउँछन् ।

स्वास्थ्य सेवा विभाग खोप महाशाखा प्रमुख डा. सागर दाहाल नेपालले अहिले खरीद गर्न लागेको खोपले यसअघि नै आपतकालीन प्रयोगको अनुमति पाइसकेकाले अध्यादेश निष्क्रिय भए पनि खोप प्रयोगमा समस्या नहुने बताए । ‘तत्कालको लागि यो अध्यादेशले खोप प्रयोगमा कुनै असर गर्दैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?