+
+

भरत, विक्की र सन्तोषमा ‘कमेडी च्याम्पियन २’को विजेता को ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १५:४९

गतबर्षको भन्दा यसबर्षको ‘कमेडी च्याम्पियन’ले कम चर्चा पायो । तर, उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा सहभागी विक्की अग्रवालले प्रस्तुत गरेको ‘पेन्टोमाइम’ र अर्का प्रतिस्पर्धी भरतमणी पौडेलले प्रस्तुत गरेको पूर्व यूवराज पारस शाहको अभिनयले भने शोको चर्चालाई बढाइदियो ।

विक्कीको प्रस्तुतिमा निर्णायक सन्तोष पन्तले दिएको प्रतिक्रियाले आलोचना पनि बटुल्यो । विभिन्न चरणहरु र आरोह–अवरोह पार गर्र्दै नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन फाइनलको नजिक आइपुगेको छ । शनिबार हुने फाइनलमा एक जना प्रतिस्पर्धीले दोश्रो सिजनको उपाधि जित्छन् । साथमा, उनले कार र थुप्रै गिफ्ट ह्याम्पर पनि जित्नेछन् ।

ताप्लेजुङका भरतमणी पौडेल विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गरेर चर्चामा छन् । उनले पूर्व संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटा, राष्ट्रिय सभाका सांसद रामनारायण विडारी, पूर्व युवराज पारस शाह, सांसद योगेश भट्टराई, नेता राजेन्द्र महत्तो लगायतको क्यारिकेचर गरेर दर्शकको मन जिते । समसामयिक बिषयमा भरतमणीले गर्ने अभिनयले दर्शकलाई आकर्षित गरेको छ । यसैले, अडिसनमा खासै चर्चामा नआएका भरतमणी उत्कृष्ट २४ बाट भने निरन्तर चर्चामा छन् ।

सिक्किमका विक्की अग्रवालको कमेडी नयाँ शैलीको छ । उनी, कसैको पनि क्यारिकेचर गर्दैनन् । तर, समसामयिक बिषयदेखि विभिन्न प्रसंगलाई फरक ढंगले प्रस्तुत गर्दै दर्शकको मन जित्न उनी सफल छन् । विक्कीको कमेडीले नयाँ खुराक पस्किरहेको छ ।

विक्कीले कमेडीलाई नयाँ परिभाषा दिने कोशिश गरेको वुझाई धेरैको छ । गोरखाका सन्तोष थापा उत्कृष्ट ३ का अर्का प्रतिस्पर्धी हुन् । भलै, भरतमणी र विक्कीको जस्तो चर्चा सन्तोषको छैन । तर, निर्णायक मध्येका एक मनोज गजुरेल विक्की र भरतमणीको फ्यूजनको रुपमा सन्तोषलाई लिन्छन् ।

भोली बेलुकी ९ बजेपछि दर्शकले ‘कमेडी च्याम्पियन २’को फाइनल कान्तिपुर टीभी र ओएसआर डिजिटलमा हेर्न पाउनेछन् । फाइनलका लागि विभिन्न प्रस्तुतिको छायांकन बुधबार नै भैसकेको छ । अब, भोली यो शोको निर्माण टिमले विजेताको घोषणा भने लाइभ नै गर्नेछ । निर्देशक विशाल भण्डारीका अनुसार, विजेताको घोषणाको लाइभ प्रशारण बेलुकी साढे १० बजेबाट सुरु हुनेछ । बेलुकी साढे ११ बजेसम्म दर्शकले यो बर्षको ‘कमेडी च्याम्पियन २’को विजेता पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?