Comments Add Comment
सन्दर्भः परिवार नियोजन दिवस :

दूरदराजमा बेहाल छ महिलाको अवस्था

म बाल्यकालदेखिको चाहना अनुसार स्वास्थ्य सेवाको जागिर गरेर एक दुर्गम जिल्ला प्युठानको गौमुखी गाउँपालिका पुगें । त्यहाँको खुङ्ग स्वास्थ्य चौकीमा स्वास्थ्य चौकी प्रमुखको भूमिकामा रहेर सेवा गर्ने २०७४ जेठ महिनादेखि मौका पाएँ ।

बाल्यकालदेखिको जनताको घरदैलोमा गएर सेवा गर्ने स्वास्थ्य सेवामा सहयात्री बन्ने अवसर प्राप्त भयो । गाउँमा जनताको आशा भरोसा पूरा गर्न पाउनेमा खुसियाली छायो । तर अफसोच सेवा गर्ने क्रममा सेवा लिन आउने दिदीबहिनीको कुरा सुन्दा मन खिन्न हुन थाल्यो ।

बालविवाह अनि जन्मान्तर कम । बच्चाले आमाको दूध खान नपाउँदा कुपोषण व्याप्त थियो । अभावले डसेका बालबालिकाको दृश्यहरूले सताउन थाल्यो । ओपीडीमा आउने कुपोषणको शिकार भएका बालबालिका एकातिर थिए भने अर्कोतिर पोषणका निम्ति सञ्चालित कार्यक्रम ओझेल परेको दृश्य !

मेरो मनमा परिवार नियोजनको सेवा बढाउन हामी चुकिरहेका छौं भन्ने प्रश्नले चिमोटिरह्यो । कम खर्चमा जनताको मनमा खुसी छाउने उपायहरूबारे सोच्न थालें । परिवार नियोजनको साधन नै कम खर्चिलो र राज्यका निम्ति सर्वसुलभ साधन भएको निष्कर्ष मेरो थियो ।

मेरो कार्यक्षेत्रमा यशोदा (परिवर्तित नाम) को १६ वर्षको उमेरमा बिहे भएको रहेछ । बिहे भएलगत्तै गर्भवती भएकी रहिछन् । १८ वर्ष नपुग्दै बच्चा जन्माउँदा निकै गाह्रो भएर राति अन्दाजी १२ बजे स्वास्थ्यचौकी आइन् । मध्यरात भएतापनि नागरिकको दुःखमा मलम लगाउने सपनाले स्वास्थ्य क्षेत्रमा होमिएकी स्वास्थ्यकर्मीलाई कुनै प्रवाह भएन ।

हामी स्वास्थ्यकर्मी अनमी उषा सुवेदी र म उनको बच्चालाई बचाउने प्रयासमा लाग्यौं । कम उमेरमा गर्भवती भएकी, गर्भास्थामा स्याहार नपाएकी र पेटमा रहेको बच्चाको अवस्था बिग्रिसकेको थियो । अन्ततः उनले बच्चा जन्माउन सकिनन् । हाम्रो अथक मेहनतले पनि काम गरेन । उनी यो धर्तीबाट बिदा भइन् ।

यो घटना मेरो मानसपटलमा घुमिरह्यो । सानै उमेरमा बिहे हुनु र परिवार नियोजन साधनबारे अनभिज्ञ रहँदा यस्तो घटना घटेको थाहा पाएर म थप दुखित भएँ । उक्त घटना घटेको केही दिनमा मासिक प्रतिवेदन बैठक (स्वास्थ्य चौकीहरुको) पूजा स्वास्थ्य चौकीमा रहेको थियो । त्यहीबेला त्यहाँ खोप कार्यक्रम चलिरहेको रहेछ । मेरो आँखा त्यतातिर गयो ।

एकजना अन्दाजी २० वर्षीया महिला ३ वर्षको बच्चा हिंडाउँदै एक जना बच्चा बोकेर खोप केन्द्रमा आएकी थिइन् । उनको पेटमा अर्को बच्चा पनि हुर्किरहेको रहेछ । गरिबीको कारण गाँसको समस्या पनि रहेछ ।

उनको लागि ‘हरेक बार, खाना चार’ एकादेशको कथा थियो । उनका दुवै बच्चा कुपोषणका सिकार थिए । उनलाई झलक्क हेर्दै रक्तअल्पता भएको थाहा हुन्थ्यो । उनका दुःखका कुरा सुन्दा कसको आँखाबाट समुन्द्रको वर्षात् नहोला र ?

मैले सम्झाउन खोजेँ तर मेरो ओठबाट आवाज फुट्न गारो भयो । यस्ता समस्या समाधान गर्न कसरी सकिएला भन्दै मस्तिष्क मन्थन गर्न थालें । कार्यालय पुगेँ । पत्रिकामा खबर थियो-सुन्तलीको पेटमा बच्चा बसेको थाहा पाएपछि प्रेमीले धोका दिदाँ १६ वर्षको उमेरमा आत्महत्या । घटनाले हाम्रो सभ्य भनिएको समाजलाई नै गिज्याइरहेको थियो ।

कम उमेरमा गर्भवती भएकी, गर्भास्थामा स्याहार नपाएकी र पेटमा रहेको बच्चाको अवस्था बिग्रिसकेको थियो । अन्ततः उनले बच्चा जन्माउन सकिनन् । हाम्रो अथक मेहनतले पनि काम गरेन । उनी यो धर्तीबाट बिदा भइन् ।

मलाई लाग्यो- परिवार नियोजनको साधन स्वास्थ्य चौकीमा निःशुल्क वितरण भएको छ । यो साधन किन प्रयोग गर्न नसकेका होलान् ? किन जानकारी नभएको होला ? किन प्रयोग गर्न डराउँछन होला ? यशोदालाई सम्झेँ अनि सुन्तली र नाम थाहा नभएको बच्चालाई खोप लगाउन आएकी अर्की महिला ।

मनमनै सोचमग्न भएँ । थोरै रकममा खुसी दिने भनेकै परिवार नियोजनको प्रयोगदर बढाउने हो । यसको भरपर्दो प्रयोग गर्दा नागरिक र राज्यको खर्च जोगिन्छ । तर, जसलाई बुझाउनुपर्छ, उनीहरुले यो कुरा बुझ्न सकिरहेका छैनन् । कसरी बुझाउने ?

नेपाल सरकारले १२ हप्तासम्म गर्भपतन सेवा निःशुल्क गरेको छ । गर्भपतन गर्दा आमाको स्वास्थ्यमा समेत खतरा हुन्छ । अर्कोतर्फ राज्यको तर्फबाट जनशक्ति र स्रोत साधन पनि खर्च हुन्छ । यसको सट्टा परिवार नियोजनको साधन प्रयोग गराउने कसरी ? नागरिकले स्वास्थ्य चौकीबाट लिँदा पैसा तिर्नुपर्दैन भने राज्यले साधन सुपथ मूल्यमा प्राप्त गर्दछ । नेपाल सरकारले सूचिकृत संस्थाबाट निःशुल्क प्रसुति सेवा उपलब्ध गराउँदै आएको छ ।

पूर्वप्रसुति सेवा पनि सरकारले निशुल्क उपलब्ध गराउँछ अनि स्वास्थ्य संस्थामा गर्भवती जाँच र सुत्केरी गराउन प्रोत्साहनबापत थप रकम उपलब्ध गराउँछ । पोषण र खोप कार्यक्रममा ठूलो रकम खर्चनु परेको छ भने अनिच्छित गर्भधारण रोक्न सकेमा मात्र परिवार र राज्यको ठूलो धनराशी जोगिन्छ । परिवार नियोजनका साधनको बारेमा जानकारी दिनु नै बुद्धिमत्ता हुन्छ भन्ने अनुभव गरेँ ।

मैले स्वास्थ्य संस्थामा आउने महिलालाई यसबारे बुझाउन प्रयास गर्दै आएको छु । उनीहरूलाई परिवार नियोजनका साधनको प्रयोग दरमा वृद्धि गरी सुखी र खुसी जीवनमा जोड दिएँ । स्टाफसँग कुरा गरेर नियमित आमा समूहको बैठक सञ्चालन गर्नेमा जोड दिए । धेरैजसो आमा समूहको बैठकमा आफैं उपस्थित भएर परिवार नियोजनको महत्व र नियमित सेवा लिँदाको फाइदा दर्शाउँदै आएको छु । सासु बुहारी कार्यक्रम सञ्चालन गरेँ ।

त्यहाँस्थित जनसहयोगी आधारभूत विद्यालयमा त्यहाँका प्रधानाध्यापकसँग समन्वय गरी परिवार नियोजन, महिनावारी र किशोरावस्थामा घट्ने घटनाबारे पटकपटक स्वास्थ्य शिक्षा दिएँ । प्रजनन उमेरका महिला र उनका सासु खुलेर कुरा गर्न सक्ने भएँ । सेवा लिन आउनेको सङ्ख्या बढ्न थाल्यो । २० वर्ष नपुगी गर्भवती हुनेको सङ्ख्या कमी हुँदै गयो । अज्ञानताको कारण र अनिच्छित गर्भवती हुनेको सङ्ख्यामा कमी आयो ।

यसले मातृमृत्युदर र नवजात शिशु मृत्युदरमा समेत कमी ल्यायो । परिवार नियोजन साधनमध्ये कण्डम, पिल्स र डीपोको दैनिक सेवा प्रवाह भएता पनि तालिम प्राप्त जनशक्तिको अभावमा इम्पलान्ट सेवा निरन्तर दिन मुस्किल थियो । त्यसैले गौमुखी गाउँपालिका स्वास्थ्य शाखासँग समन्वय गरी सेटेलाइट क्लिनिक सञ्चालन गरेर प्रयोगकर्ताको वृद्धि गर्न प्रयास गर्‍यौं ।

त्यस्तै, किशोर किशोरी कार्यक्रम स्वास्थ्य चौकीमा सञ्चालन गरेर किशोर किशोरीमा आउने परिवर्तन र अपनाउनुपर्ने सावधानीका कुरा बताएर शिक्षित तुल्याएँ । यसरी सुन्तलीको जस्तो व्यथा सुन्नुपरेन । यसरी सुधार हुँदा आफैँलाई गर्वको महसुस हुँदो रहेछ ।

स्वास्थ्यकर्मी भएपछि गर्नुपर्ने भूमिका निर्वाह गर्न पाएकोमा मलाई खुशी लाग्छ र अहिले सुधार भएको भनी गाउँका दिदी बहिनीले भन्दा मन गदगद हुन्छ ।
२०७८ असोज २ गते नेपाल सरकारले ‘कोभिड १९ को महामारीः परिवार योजना सेवामा पहुँच बराबरी’ को नारासहित आठौँ परिवार नियोजन दिवस मनाइरहँदा म आफूले गरेका कामहरू स्मरण गरिरहेकी छु ।

परिवार योजनाका कार्यक्रम सञ्चालन गर्दा दृश्यहरु क्यामेराका रिलजस्तै मानसपटकलमा प्रस्तुत भइरहेका छन् । राजधानी र शिक्षित परिवारमा बालविवाह हटिसके पनि र परिवार योजनाबारे जानकारी भएपनि दुर्गम बस्तीमा अझै प्रचारप्रसारको अभाव छ । जनचेतनाको कमी छ । यी कुरा सम्झँदा मेरो मन पिरोल्छ ।

शहरका तारे होटेलमा सेमिनार हुँदा, योजना बन्दा दुर्गम दूरदराजमा सुधारको अभियानमा रहेका स्वास्थ्यकर्मीहरूले पनि हातमा हात, साथमा साथ पाउने कार्यभैदिए कस्तो राम्रो हुन्थ्यो होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment