३ चैत, काठमाडौं । नेपाली कांग्रेसबाट बारा–२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका भैयाराम प्रसाद यादवले जिल्ला राजेश राय यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्काशन गर्न पार्टीसमक्ष माग गरेका छन् ।
२१ फागुनमा सम्पन्न निर्वाचनमा हराउन भूमिका निर्वाह गरेको दाबी गर्दै उम्मेदवार भैयारामले जिल्ला सभापति राजेश रायलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्न माग गरेका हुन् ।
उनले कांग्रेसको केन्द्रीय अनुशासन समितिसमक्ष जिल्ला सभापति राजेश रायसँगै अन्य १० जनामाथि पनि समान कारबाही गर्नुपर्नेभन्दै लिखित उजुरी दिएका छन् ।
भैयारामले सभापति राजेश राय, उनका बुवा पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादव, क्षेत्र नम्बर २ का सभापति रामप्रवेश यादव, जिल्ला सदस्य रविन्द्र यादव, प्रदेश क्षेत्रीय कार्यसमिति (क) का सचिव हरेकृष्ण प्रसाद जैसवालविरूद्ध उजुरी दिएको जानकारी दिए ।
उजुरीमा क्षेत्रीय कार्यसमिति (ख) का सभापति हरिलाल प्रसाद यादव, करैयामाई गाउँपालिका सभापति मुस्ताक अन्सारी, देवताल गाउँपालिका सभापति रामदयाल महती, महागढीमाई नगरपालिका–४ का सभापति राजेश साह तेली, पचरौता नगरपालिका–१ का सभापति श्रीनारायण सिंह र सोही नगरपालिकाको वडा नम्बर ५ का सभापति वीरबहादुर यादवको नाम पनि समावेश छ ।
‘चुनाव हराउन विपक्षीसँग तालमेल गरी मलाई चुनाव हराउन हरेक प्रयास गरेको हुदाँ विभिन्न पद धारण गरेका उल्लेखित व्यक्तिहरूलाई साधारण सदस्य नरहने गरी १० वर्षसम्मका लागि पार्टीबाट निस्काशन गर्न हुन हार्दिक अनुरोध गर्दछु,’ भैयारामले उजुरीमा लेखेका छन् ।
भर्खरै सम्पन्न निर्वाचनमा उनी ११ हजार ८३७ मत ल्याएर तेस्रो भएका थिए । भैयारामको निर्वाचन क्षेत्र बारा–२ मा ३५ हजार ५९० मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चन्दनकुमार सिंह विजयी भएका छन् ।
यसअघि बारा सभापति राजेश रायसहितका १६ जनालाई निर्वाचनमा अन्तर्घात गरेको दाबीसहित बारा-३ को क्षेत्रीय कार्यसमितिले केन्द्रसमक्ष सिफारिस गरिसकेको छ ।
प्रतिक्रिया 4