+
+

धौलागिरिमा पहिलोपटक दुई नेपाली महिलाले गरे सफल आरोहण

रासस रासस
२०७८ असोज १५ गते १६:१२

१५ असोज, काठमाडौं। विश्वको सातौँ अग्लो धौलागिरि हिमालमा पहिलोपटक दुई नेपाली महिलाले सफल आरोहण गरेका छन्।

म्याग्दीको धौलागिरि गाउँपालिका-४ मा पर्ने आठ हजार १६७ उचाइको हिमाल पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामु शेर्पाले आज बिहान ५ बजे आरोहण गरेको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए । उक्त कम्पनीबाट आजै अन्य २० जनाले धौलागिरिआरोहण गरेका थिए। यसअघि नेपाली महिलाले धवलागिरिको आरोहण गरेको रेकर्ड छैन।

आरोही श्रेष्ठ फोटो पत्रकार र शेर्पा आरोहणमा आबद्ध व्यक्ति हुन्। ‘श्रेष्ठ शिखर पुगेर फर्केपछि तेस्रो क्याम्पबाट बिहान मसँग कुराकानी भएको थियो । आज साँझसम्म आधार शिविर आइपुग्ने योजना छ,’ उनकी साथी पत्रकार सृष्टि काफ्लेले भनिन् ।

शरद् ऋतुको आरोहणका लागि उक्त कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धौलागिरिआरोहणमा गएकी थिइन् । गोरखा आरुघाट निवासी उनको टोलीले यसअघि गत वैशाख ३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित आठहजार ०८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर कीर्तिमान बनाएको थियो ।

कारोबार आर्थिक दैनिकमा कार्यरत श्रेष्ठले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा अमादब्लम हिमाल पनि आरोहण गरेकी थिइन्।
पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा हिमाल आरोहणका लागि २५ आरोही समूहका २३० आरोहीले आरोहण अनुमति लिएकामा धौलागिरिआरोहणका लागि चार आरोही समूहका १२ महिला र २८ पुरुष गरी कूल ४० आरोहीले आरोहण अनुमति लिएका थिए ।

यस याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि १७ आरोही समूहका १७१ आरोही छन् । मनास्लु आरोहणमा ३८ महिला र १३३ पुरुषले अनुमति लिएका थिए ।

धौलागिरिगाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सिमाना तथा छिमेकी जिल्ला मुस्ताङबाट समेत धौलागिरिहिमालमा जान सकिने भए पनि नियमित आरोहणका लागि पश्चिम मोहडा नै आरोहीहरुको रोजाइमा पर्ने गरेको छ ।

सन् १९६० मे महिनाको १३ तारिखमा अस्ट्रेलियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धौलागिरि आरोहण गरेको रेकर्ड छ तर विभिन्न अभिलेखमा सन् १९४९ मा भारतमा रहेको ब्रिटिसको टोलीले सर्वेक्षण गरेको भए पनि १९४९ को स्विस हवाई सर्वेक्षण अज्ञात थियो। केही समयअगाडि विश्व कीर्तिमानी बनाउने क्रममा म्याग्दीका निर्मल पुर्जाले अक्सिजनबिना नै आरोहण गरेपछि धौलागिरिहिमालको चर्चा भएको थियो।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?