+
+

एनआरएन चुनावमा समन्वय गर्न कांग्रेसद्वारा ८ नेतालाई जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते ८:१८

१७ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न दशौं महाधिवेशनमा लोकतान्त्रिक समूहलाई विजयी बनाउने भूमिका खेल्न भन्दै नेपाली कांग्रेसले आठ नेतालाई जिम्मेवारी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकहरुलाई पठाएको पत्र अनुसार यूरोप क्षेत्रमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, एसिया क्षेत्रमा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुन जोशी, अमेरिका क्षेत्रमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र ओसियाना क्षेत्रमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

अफ्रिका, मध्यपूर्व क्षेत्र र जनसम्पर्क समितिमा भने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई जिम्मेवारी दिइएको छ । भट्टराई कांग्रेसको जनसम्पर्क समिति विभाग प्रमुख पनि हुन् ।

कांग्रेसले यसअघि नै एनआरएनएको निर्वाचनमा कुल आचार्य नेतृत्वको लोकतान्त्रिक समूहलाई समर्थन जनाउने निर्णय गरिसकेको छ । सो समूहलाई जिताउन जिम्मेवारी तोकिएका कांग्रेस नेताहरुले समन्वयकारी भूमिका निर्वाह गर्ने छन् ।

एनआरएनएको दशौं महाधिवेशन यही अक्टोबर २३-२५ मा हुँदै छ । महाधिवेशन अगावै सन् २०२१-२०२३ कार्यकालका लागि निर्वाचन हुने छ ।

पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न केन्द्रीय समितिमा रहेका नेताहरुलाई जिम्मेवारी तोकिएको पनि कांग्रेसले स्पष्ट पारेको छ ।

आचार्यले १० असोजमा काठमाडौंमा विशेष समारोहको आयोजना गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । आचार्यको टिमबाट डा. केशव पौडेल महासचिव पदमा उम्मेदवार रहने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?