+
+

माओवादीले मन्त्रीबारे छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते ८:४९

१७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा आज छलफल गर्दैछ । मन्त्रीहरुबारे छलफल गर्न आज स्थायी कमिटी बैठक बस्ने तयारी छ ।

तर पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक बस्ने कुरा भए पनि समय तय नभएको बताए । ‘काम नसकिएकाले आज बैठक बस्ने कुरा त हो, तर समय तय भइसकेको छैन,’ ढकालले भने । पार्टी अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर बैठकको समय निश्चित गर्ने उनले बताए ।

शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै प्रवक्ता कृष्णबहादुर महराले आइतबारको बैठकमा मन्त्रीहरुबारे छलफल गर्ने बताएका थिए ।

सत्ता गठबन्धनका दलहरुको असोज ६ गते बसेको बैठकमा एक साताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो । तर, मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन ।

गत असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । तर अहिलेसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेपछि गठबन्धनभित्रैबाट देउवाको आलोचना भइरहेको छ ।

सरकारमा हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । यसैगरी कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री, बालकृष्ण खाँण गृहमन्त्री, डा. नारायण खड्का परराष्ट्रमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।

गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक जनालाई पनि सरकारमा पठाएका छैनन् ।

यसैगरी सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?